आज १२:१५ अपराह्न नेपाली समय अनुसार, इजरायल र हमास बीच गाजामा युद्धविराम लागू हुनेछ, जसले १५ महिनाको युद्धलाई अन्त्य गर्ने सम्भावना प्रस्तुत गरेको छ । युद्धविराम सम्झौताअनुसार, बन्धकहरूको रिहाइ एकदमै महत्वपूर्ण कदम हो, जसले युद्धको विरामलाई सम्भव बनाउनेछ । पहिलो चरणमा, ३३ इजरायली बन्धकहरू र अन्य विदेशी बन्धकहरू रिहा गरिनेछ, जसको बदलामा इजरायलले ७३७ प्यालेस्तिनी कैदीहरूलाई रिहा गर्नेछ । प्रारम्भिक चरणमा तीन महिला बन्धकहरूलाई आइतबार अपराह्न रिहा गरिनेछ, जसका लागि ३० कैदीहरूलाई रिहा गरिनेछ ।
सम्झौतामा तीन चरणको योजना रहेको छ । पहिलो चरणको अवधि ६ हप्तासम्म हुनेछ, जसमा ३३ बन्धकहरूको रिहाइ र २,००० भन्दा बढी प्यालेस्तिनी कैदीहरूको रिहाइ हुनेछ। दोस्रो चरणमा थप महिला बन्धकहरूको रिहाइ हुनेछ, र तेस्रो चरणमा गाजा क्षेत्रको पुनर्निर्माण कार्य अघि बढाइनेछ । यस सम्झौतामा, इजरायली सेना गाजाका केही स्थानहरूबाट फिर्ती जनेछ्न र उत्तर गाजाबाट विस्थापित भएका प्यालेस्तिनीहरूलाई फर्कन अनुमति दिइनेछ।
यो सम्झौता इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाद्वारा गरिएको लामो समयसम्मको वार्ता पछि भएको हो । यस सम्झौताले केवल युद्ध अन्त्यको सम्भावना मात्र होइन, यसले गाजामा दीर्घकालीन शान्तिको लागि आवश्यक सहमति र सहयोगको दिशामा महत्त्वपूर्ण कदम चाल्ने अपेक्षासमेत उत्पन्न गरेको छ ।