शुक्रबार (आज) सिद्धबाबा सुरुङको ब्रेक थ्रु हुने भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल– दोभान सडकको सबैभन्दा अप्ठ्यारो मानिएको सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङको प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रेक थ्रु गर्दैछन् । सिद्धबाबा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख कृष्णराज अधिकारीले सुरुङको ब्रेक थ्रुका लागि सबै तयारी पूरा भएको र ब्रेक थ्रुका लागि साढे एक मिटर भागमात्र बाँकी राखिएको जानकारी दिए।
‘ब्रेक थ्रुको लागि आयोजनाको तर्फबाट सबै तयारी पूरा भएको छ, ब्रेक थ्रुलाई सेलिब्रेसनको रुपमा मनाउन प्रधानमन्त्री समेत आउने भएपछि सडक विभागको टिम पनि बुटवल आइसकेको छ,’ अधिकारीले भने।
सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको झण्डै ४ किलोमिटर सडक वर्षा होस् या हिउँद सधै पहिरोको उच्च जोखिममा पर्छ। सडकदेखि तल तिनाउ नदितर्फ अप्ठ्यारो भीरसहितको छांगो र माथितर्फ अग्लो चट्टानसहितको पहाड भएकाले वर्षामा मात्र होइन, हिउँदमा समेत सुख्खा पहिरो झर्ने गर्छ।