Advertisement GIF
कल्पवृक्ष
माघ ११ शुक्रबार, १२:३४ अपराह्न
सवारी दुर्घटनामा ६ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा छ जनाको मृत्यु भएको छ ।

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका(८ बेतालमाडौंस्थित सडकमा बेतालमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुपप्र ०२–००१ख१०२० नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने कुलबहादुर लुहारका ४ वर्षीय छोरा निसु लुहारको घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ३ स्थित सडकमा ज१त ४१०१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक महोत्तरी भँगाहा नगरपालिका– ९ का २८ वर्षीय जयकिशोर सरदारको घटनास्थलमै मृत्यु भएको छ ।

रोल्पाको गंगादेव गाउँपालिका– १ बिवाङस्थित सडकमा तुल्सीपुरबाट चैतेकाफल मेलटारीतर्फ जाँदै गरेको ग१ज ५७४२ नम्बरको डबल क्याब गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने १४ वर्षीय उमेश घर्तीको घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै सर्लाही जिल्लाको बलरा नगरपालिका– २ हथियौलस्थित सडकमा बिआर ०६पि २६६२ नम्बरको चार चक्के रथको ठक्करबाट सोही ठाउँ बस्ने बिसुन रायकी छोरी ३ वर्षीया सोहानीकुमारी रायको बिहीबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको भारत मेजरगंजको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।

रूपन्देही, रोहिणी गाउँपालिका– ३ धकधईस्थित सडकमा लु८२प २७५५ नम्बरको मोटरसाइकल ना१क १७५३ नम्बरको ट्रकमा ठक्कर खाई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कपिलवस्तु बाणगंगा गाउँपालिका– ३ करवाना बस्ने ३७ वर्षीय कृष्णमुरली खनालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

महोत्तरीको गौशाला नगरपालिका– ९ बिसरपुरस्थित सडकमा गौशालाबाट बिसरपुरतर्फ जाँदै गरेको ज१२प ३५८० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिहीबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४५ वर्षीय जयप्रकास यादवको मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।