‘पैसा देखेपछि महादेवको त्रिनेत्र’ भन्ने उखान बुद्ध एअरका मालिकमाथि ठ्याक्कै चरितार्थ भएको छ । रगतको नाता भनेर के गर्नु, वीरेन्द्र बस्नेत र भाइ शिवेन्द्रको अंश विवाद अदालत, सरकारी अड्डा, राष्ट्र बैंक सर्वत्र छाएको छ ।
झगडिया दाजुभाइका पिता पूर्वमन्त्री तथा कृषि उद्यमी हुन् । विराटनगरका सुरेन्द्रबहादुर बस्नेत प्रेस काउन्सिल नेपालको प्रथम तथा संस्थापक अध्यक्ष थिए । उनैका छोरा वीरेन्द्र र शिवेन्द्रबीचको भ्रातृ सम्बन्ध यतिखेर भारत र पाकिस्तानको जस्तै खतरनाक दुश्मनीमा परिणत भएको छ । अदालत, अर्थ मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंकसम्म पुगेको झगडा जिलेबीझैँ जेलिएको छ ।
सुरेन्द्रले जिउँदै छँदा छोराहरूलाई भाग लगाइदिएको अंश नै अहिले जेठा छोराको निम्ति ‘घाँडो’ बनेको छ भने कान्छोको परिवार दाजुले सम्पत्ति लुकाएकोमा वर्षौैंदेखि पीडित बनेको भन्दै हारगुहारमा व्यस्त छ । सुरेन्द्रले बुद्ध एअरको स्वामित्व ४० प्रतिशत शिवेन्द्र र ६० प्रतिशत वीरेन्द्रलाई लगाइदिएका थिए । तर, त्यसबमोजिमको मुनाफा साढे दुई दशकदेखि पाउन नसकेको शिवेन्द्र र उनका परिवारको गुनासो छ । बुद्ध एअरमा शिवेन्द्रको तर्फबाट उत्तराधिकारीका रूपमा जेठी छोरी शिवानीलाई जिम्मेवारी नदिनुको चुरो कुरो पनि उनीहरूले पछिल्लो समय पत्तो लगाएका छन् । शिवेन्द्रको परिवार भन्छ, ‘भाइकी जेठी छोरीलाई जिम्मेवारी नदिएर वीरेन्द्रले आफ्नी कान्छी छोरी आस्था बस्नेतमार्फत करिब ५ प्रतिशतको अंशियारका हैसियतले कम्पनीमा ‘ख’ समूहको तर्फबाट हाम्री कान्छी छोरी देवयानीलाई एकतर्फी मनोनीत गरेर तजबिजी अधिकार प्रयोगसँगै विभिन्न कारोबार गर्दै आएका छन्् । यो पीडा कहाँ गएर पोख्नु रु’
वीरेन्द्रका कैफियतपूर्ण कारोबारको रूपमा उनीहरूले तीन वटा विमान खरिदको सन्दर्भलाई जोडेका छन्् । लिड बैंक हिमालयन बैंक रहेको विमान खरिदका निम्ति साढे पाँच सय करोड ऋण लिने निर्णय वीरेन्द्रको तजबिजमा गरेको उजुरी अहिले डेपुटी गभर्नर निलम ढुंगानासमक्ष पुगेको बुझिएको छ ।
कम्पनी ऐनको दफा १०५ मा ऋण प्राप्तीका निम्ति सञ्चालक समिति र साधारण सभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित गर्नुपर्ने अनिवार्य प्रावधान छ । यसको पालना नभएपछि केन्द्रीय बैंक गुहारिएको हो । हिमालयन बैंकले सर्वसाधारणको रकमलाई आफूखुशी प्रवाह गरेको भन्दै गभर्नर कार्यालयअन्तर्गत ग्राहक संरक्षण महाशाखामा निवेदन हालिएको छ । जनआस्थालाई प्राप्त वीरेन्द्र बस्नेतद्वारा ०७९ फागुन २३ गते हस्ताक्षरित र २५ गते कम्पनी रजिष्ट्रारद्वारा प्रमाणित विवरणमा दुई दाजुभाइको परिवारका आठ जना सदस्य बुद्ध एअरको अंशियार देखिन्छन् । जसअनुसार वीरेन्द्रका नाममा १९ करोड ८४ लाख ५० हजारको सेयर छ भने उनकी श्रीमती सुनिता बस्नेत ९सिजापती० का नाममा पाँच करोड सात लाख ७५ हजारको सेयर कायम भएको पाइन्छ । त्यस्तै उनीहरूका छोरीहरू आरजू र आस्था बस्नेतका नाममा प्रत्येकको दुई करोड ५३ लाख ८७ हजार पाँच सय सेयर कायम भएको छ ।
शिवेन्द्रकी श्रीमती अर्चनाको नाममा १२ करोड ५० लाख, दुई छोरीहरू क्रमशः शिवानी र देव्यानीका नाममा प्रत्येकलाई दुई करोड ५० लाख र छोरा आदर्शका नाममा पनि दुई करोड ५० लाख गरी कूल ५० करोड रुपैयाँँको पुँजीमा सेयर बाँडफाँड गरिएको छ । यस हिसाबले वीरेन्द्रको नाममा करिब ३० करोड र शिवेन्द्रको परिवारका नाममा २० करोडको शेयर कायम छ । बुद्धले हरेक वर्ष विमानको पार्टपुर्जा कारोबारमा दुई सय करोड खर्चने गरेको छ । विमान र त्यसका पार्टपुर्जा खरिद तथा बिमाबापत आउने कमिसनको अथाह रकम भने कम्पनीको आम्दानीमा अहिलेसम्म नजनाइएको अवस्था छ ।
स्रोत भन्छ, ‘दुर्घटना बिमाअन्तर्गत दुर्घटना नहुँदा पाइने ‘नो क्लेम’ बापत वार्षिक आठदेखि १० प्रतिशत कमिसन पनि सोझै खल्तीमा हालिएको छ । यसबीच भैरहवा, पोखरा, नेपालगञ्जसहितका स्थानमा भव्य निजी महल ठड्याइएको छ । ललितपुरको लामाटारमा मात्रै इन्डोर स्विमिङ पुलसहितका उपत्यकाभित्र आठवटा घर अलग्गै व्यवस्थापन गरेको सन्दर्भलाई पनि पीडित पक्षको अवस्थासँग दाँजेर हेर्नुपर्ने हुन्छ ।’ वीरेन्द्रले बुद्धकै नाफाबाट जेठी छोरीका नाममा सिंगापुर र बेलायतमा मोटो रकम बचत गरिदिएको प्रसंग पनि अहिले खुलेको छ । कम्पनीमा हिसाब नदेखाई उकालो डट कममा पाँच करोड लगानी गरिएको विवादसमेत छरपष्ट भइसकेको छ ।
विगतमा शिवेन्द्रलाई माउण्टेन एयर र शिवानी एअर सञ्चालनमा असफलता हात लाग्यो । त्यसपछि उनी अमेरिका पलायन भए । चक्र बाँस्तोला पर्यटनमन्त्री हुँदा पूर्वतिरका श्रवण गोयलसँग मिलेर पाइलटको हिसाबले बुद्ध एअर खोलेका थिए । त्यतिबेला दाजु एउटा कोरियन परियोजनामा मासिक पाँच हजार रुपैयाँँको जागिर खान्थे । आज उनकै नेतृत्वमा बुद्ध एअरसँग डेढ दर्जन एटिआर ४२ र ७२ सिरिजका जहाज छन् । हवाई र पर्यटन उद्योगमा वीरेन्द्रले गरेको योगदान सबै हिसाबले मननयोग्य छ । तर उनैले पूर्वमन्त्री शरतसिंह भण्डारीसमक्ष केही दिनअघि पिता सुरेन्द्रले गरेको अंशबण्डाबारे लामो गुनासो गरेपछि बस्नेत खलकको अंशबण्डा लफडा थप छताछुल्ल भएको हो । ललितपुर भैंसेपाटीको सन्ध्याकालीन उक्त कुराकानी उद्धृत गर्दै स्रोतले भन्यो, ‘बुबाले मलाई ठूलो अन्याय गर्नुभयो । भाइलाई धेरै दिनुभयो, मलाई थोरै । विराटनगरको ९२ बिघामध्ये ४२ बिघा मलाई र ५० बिघा भाइलाई दिनुभयो ।’ तर उनै वीरेन्द्रले कानुनी रूपमा ४० प्रतिशतकी धनी शिवेन्द्रकी पत्नी अर्चना बस्नेतले विराटनगर जान पटक–पटक टिकट माग्दा नदिइएको सन्दर्भबारे कहींकतै चर्चा भएको पाइन्न ।
भाइ जोडिएको र बुद्ध एअरसँग सम्बन्धित अनेकखाले मुद्दा तत्काल छिनोफानो गर्नुभन्दा अड्काउनु वीरेन्द्रका निम्ति शौख र दैनिकी नै बनेको घटनाक्रमले पुष्टि गरेको छ । मुद्दालाई लामो समयदेखि अड्काइरहँदा अन्तिम हिसाब गर्न नपर्ने, सम्पत्ति भोगचलन र कम्पनी सञ्चालन गर्न पाइने भएपछि हाइसञ्चो मान्नु एउटा व्यवसायीका निम्ति स्वाभाविक हो । अर्कोतर्फ उनका लागि गरिने सबै कानुनी उपचारको अथाह खर्च बुद्ध एअरले नै व्यहोर्दै आएको छ । त्यसैले आफू जोडिएका मुद्दामा जुनसुकै अदालतमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, सुशील पन्त, पूर्णमान शाक्यलाई वीरेन्द्रले एकैचोटि उभ्याउने सामथ्र्य राख्दै आएका छन्् । फ्युचर स्टार स्कूलबाट सात कक्षा पास गरेका ससुराली खलकलाई फ्लाइट डिस्प्याचरमा नियुक्त गराएका उनले तिनैलाई अहिले घरभाडा उठाउने जिम्मा लगाएका छन्् । चौधरी थरका उनले वीरेन्द्रका निम्ति काठमाडौं उपत्यकाका विभिन्न घरबाट भाडा उठाउँछन् । उनको तलब मासिक एक लाख रहेको बुद्धकै कर्मचारीहरुले बताए ।
बस्नेत परिवारको पैतृक सम्पत्तिमध्ये अचलतर्फको अंशबण्डा २०४५ सालमै गरिएको थियो । कम्पनीको हकमा सुरेन्द्र बित्नुभन्दा पाँच वर्षअगाडि कम्पनी रजिष्ट्रारको कार्यालयलाई बुझाइएको कागजातमा बुद्ध एअरको स्वामित्व ४० प्रतिशत शिवेन्द्रलाई र ६० प्रतिशत वीरेन्द्रलाई तोकिएको छ । सेयरधनीले हिसाब किताब माग गरेमा १५ दिनभित्र अनिवार्य दिनुपर्ने प्रावधान छ । तर उक्त व्यवस्थाको पालना हालसम्म नभएकोमा भाइले ठूलो चित्त दुःखाएका हुन् । सुरेन्द्रले बुद्ध एअर प्रवद्र्धनको नाममा पोखरा विमानस्थलछेउ ‘क्रु क्याम्प’ का निम्ति चार रोपनी जग्गा किनेको देखिन आएको छ । त्यसैगरी रामेछापको मन्थली विमानस्थलछेउ पनि १५ रोपनी जग्गा किनिएको छ । तर ती जग्गाको हिसाब र अभिलेख कहीँ–कतै नदेखिएपछि शिवेन्द्रको परिवार खिन्न भएको बताइन्छ । उता शिखर इन्स्योरेन्सका प्रवद्र्धकहरूमध्ये बुद्ध एअर पनि एक हो । त्यहाँबाट बर्सेनी प्राप्त हुने १२ देखि १४ करोड रुपैयाँँ लाभांश बुद्धको खातामा हालसम्म दाखिला नभएको र वीरेन्द्र एक्लैले भोगचलन गर्दै आएको अर्थ मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।
पिता सुरेन्द्र बित्दा कूल २३ अर्बको सम्पत्ति अंशबण्डा गरिएको पारिवारिक स्रोतको दाबी छ । उनले दुई छोरा र शिवेन्द्रतर्फका नाति आदर्शको नाममा समेत त्यो सम्पत्ति भाग लगाइदिएका थिए । त्यतिबेलाका सुरेन्द्रबारे विश्लेषण गर्दै सोही स्रोतले भन्यो, ‘बूढा वंश र विरासतमा विश्वास गर्थे । छोरा भएकामध्ये कान्छालाई जग्गा धेरै दिए । बुद्धमा भने ४० र ६० प्रतिशतको टुंगो लगाइदिए । पढेलेखेका सुरेन्द्रले वंशको निरन्तरताका लागि नाति भएका छोरालाई सम्पत्ति बढी दिएको त्यतिबेलै चर्चा थियो ।’ वीरेन्द्रका दुई छोरी छन् भने शिवेन्द्रका दुई छोरी र एक छोरा । बित्नुअघिसम्म बुद्ध एअरको अध्यक्ष सुरेन्द्र नै थिए । त्यसैले पिताको काज किरियापछि शिवेन्द्रले पारिवारिक कम्पनीमा बुबाको ठाउँ अर्थात् अध्यक्षको जिम्मेवारी निर्वाह गर्न दाजुलाई आग्रह गरेको बुझिन्छ । त्यतिबेलाको उनको भनाई उद्धृत गर्दै बस्नेत खलकका एक जनाले बताए, ‘हजुर ९दाजु० अध्यक्ष बनेर मेरी जेठी छोरी शिवानीलाई एमडी बनाइदिनुहोला । कम्पनीमा ब्यालेन्स पनि हुन्छ ।’ भाइको प्रस्ताव ठाडै अस्वीकार गर्दै दाजुले भनेका थिए, ‘यसलाई ९शिवानी० केही थाहा छैन । आलाकाँचालाई एमडी बनाए कम्पनी डुब्छ ।’ ठूलोबुबाको अप्रत्यासित जवाफ पाएपछि कोलम्बिया युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन गरिरहेकी शिवानी एकाएक पाइलट ट्रेनिङ इन्स्टिच्युट फ्लोरिडामा भर्ना भएर एअरलाइन्स म्यानेजमेन्ट कोर्ष पढ्न थालिन् । उनको अध्ययनको विषय समग्र विमान कम्पनीको व्यवस्थापनसँग सम्बन्धित रहेको बताइन्छ । सम्भवतः त्यो विषय अध्ययन गर्ने उनी पहिलो नेपाली हुन् ।
धन, दौलत र मान सम्मानले भरिपूर्ण सुरेन्द्रको परिवारमा यस्तो कलह कसरी भित्रियो होला रु ‘सबै आफूले मात्रै लुटेपछि भाइको परिवारले आपत्ति जनाउनु स्वाभाविक हो’ भन्दै स्रोत उल्लेख गर्छ, ‘वीरेन्द्रकी कान्छी छोरी आस्थालाई प्रयोग गरेर शिवेन्द्रकी पाँच ५ प्रतिशतवाली छोरी देव्यानीलाई लट्टिपट्टी पारियो । कम्पनीमा बोर्ड डाइरेक्टर थपना गरेकै अवस्थामा दाजुले आफ्नो हात माथि पार्दै गए ।’
वीरेन्द्रले अथक परिश्रमका साथ एअरलाइन्सलाई आजको उचाइमा पु¥याए पनि शिवेन्द्रझैँ सुख्खा आम्दानीमा बाँचेको होइन । उनले अन्य आम्दानीको अलावा मोटो रकममा तलब र बोनस मासिक र वार्षिक रूपमा बुझ्दै आएका छन् । हिसाब नदेखाएर प्रशस्त सम्पत्ति जोगाड गरेको आरोपबारे पनि जवाफ दिन सकेका छैनन् । कतिसम्म भने वीरेन्द्रले श्रीमतीका नाममा विराटनगरमा आरजू राइस मिल खोलेका छन्् । त्यसमा स्थिर र चालु पुँजी गरेर ८० करोड लगानी गरेको देखिन्छ । बस्नेत खलकका १३ दिने दाजुभाइमध्ये एक जनाले एउटा सन्दर्भमा भनेका थिए, ‘पहिलेका साना नौ विमान बेचेर ठूला १८ वटा किन्दा त्यसबाट कति कमिसन आयो होला रु त्यसको उपभोग कसले कसरी गरिरहेको छ भनेर नहेर्ने हो भने शिवेन्द्रको आर्थिक हालत झन् खराब हुने निश्चित छ । स्मरण रहोस्, नागरिक उड्डयन प्राधिकरणका बद्नाम डिजी प्रदीप अधिकारीलाई अख्तियार लाग्न नदिन वीरेन्द्रले भाइ मारेको रकम सदुपयोग गरेको बारे त्रिवि विमानस्थलमा ग्राउण्ड ह्याण्डिलिङतर्फका थुप्रै कर्मचारी जानकार छन् । यदि उनको मनमा हरि हुन्थ्यो भने जावलाखेलस्थित कार्यालयको भुइँतलामा प्रत्येक आगन्तुकको जिउ छाम्न अघिल्लो महिनादेखि १४ जना सुरक्षाकर्मी खटाउनै पर्थेन ।
(जनआस्थाबाट)