शान्ति सेनामा कार्यरत अरिदमन गण दशौँ डफ्फालाई बदली गर्दै चण्डीप्रसाद गणको ११ औँ डफ्फाका २ सय १३ जना नेपाली शान्ति सैनिकको पहिलो टोली, प्रमुख सेनानी (लेफ्टिनेण्ट कर्णेल) मनोज कार्कीको नेतृत्वमा मिसन इलाकातर्फ खटिएको छ । सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गर्दै दशौँ डफ्फामा कार्यरत २ सय १२ जना शान्ति सैनिक सेनानी (मेजर) खिमबहादुर अधिकारीको नेतृत्वमा हिजो (बिहीबार) स्वदेश फिर्ता भएका छन् ।
यो मिसनमा नेपाली सेनाबाट सेक्टर कमाण्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र दुई वटा गण तथा एउटा गुल्म गरी कूल १ हजार ७ सय ५४ जना शान्ति सैनिक कार्यरत छन् ।
संयुक्त राष्ट्र सङ्घको आव्हानमा शान्ति स्थापना कार्यको लागि इराकमा तैनाथ डफ्फालाई बदली गर्न दुई दिनअघि प्रमुख सेनानी हिमालय थापाको नेतृत्वमा २१ जना नेपाली शान्ति सैनिक मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक मुख्यालयले जनाएको छ ।