पूर्वराष्ट्रपति विद्या भण्डारी केपी ओलीलाई निरन्तर एमालेको बागडोर नदिने निश्कर्षमा पुगेको थप प्रमाण फेला पर्न थालेका छन् । हालै उनले एमाले इञ्जिनियरिङ विभाग प्रमुख बैजनाथ चौधरीसँगको भेटमा अब जित्ने गरी प्रतिस्पर्धा गर्ने बताएको समाचार स्रोतले जानकारी दिएको छ ।
पटक पटक सांसद, जिविस सभापति र लुम्बिनीको प्रादेशिक मन्त्री रहिसकेका पश्चिम नवलपरासीका चौधरीसँग एक साताअघि भएको भेटमा उनले भनेकी थिइन्– ‘आवश्यक पर्यो भने अब अध्यक्ष पदमा चुनाव लड्न पनि तयार बन्नुपर्छ तर कुनै हालतमा हार्नुचाहिँ हुँदैन । तपाईंहरु जित्ने कुराको सुनिश्चितता गर्नुस् ।’
स्वयं पूर्व उपाध्यक्ष विद्या भण्डारीबाटै यस्तो चुनौती आएपछि केपी ओली भने अर्ली महाधिवेशनमार्फत फेरि एकपटकका लागि अध्यक्षमा निर्वाचित हुने सोचमा छन् । स्रोत भन्छ– विधान संशोधन गरी जसरी पनि महाधिवेशनको माहोल आफ्नो पक्षमा पार्ने योजनामा केपी ओली छन् । यता, विद्या भण्डारी आफ्नो तरिकाले अगाडि बढेपछि ‘तपाईंँ आफ्नो ठाउँमा बस्नुस् । जे गर्नुपर्छ, सल्लाहमा गरौँला ।’ भन्दै ओलीले घुमाएर धम्की दिएको एमाले पदाधिकारी सर्कलमा चर्चा छ । अघिल्लो हप्ताको भेटलाई पुष्टि गर्दै चौधरीले जनआस्थासँग भने– भेट भएको हो । पार्टी सामूहिक नेतृत्वमा चलेन भन्ने मेरो पनि गुनासो छ ।
(जनआस्थाबाट)