यी जनजाति आदिवासीका क्षेत्रमा भएका नियम र कानुनविपरीत केवुलकार निर्माण गर्ने र त्यसलाई समर्थन गर्ने पक्षले काम गरेको देखिन्छ । नेपाल यी नियम र कानुनको पक्ष राष्ट्र हो । तर, राज्य र राज्यबाट सञ्चालित पक्षले यी कानुन, नियम पालना नगर्दा जनजातिहरु आन्दोलित भएको मेरो बुझाइ छ ।

संखुवासभाको सभापोखरीमा आमा चन्द्रकुमारी र बुबा जंगप्रसादका तेस्रो सन्तानको रुपमा जन्मनु भएका युवराज याम्फु राईले त्रिवेणी माध्यमिक विद्यालयबाट एसएलसी उतीर्ण गर्नु भयो । त्यसपछि उहाँ पञ्चायत उच्च मावि, मोरङको पथरीबाट पूरा गर्नु भयो । उहाँ कक्षा ७ मा पढ्दै गर्दा प्रजातान्त्रिक युवा संघ, हालको राष्ट्रिय युवा संघ, नेपालमा आवद्ध हुनु भयो ।

पथरीको बसाई २ वर्ष पूरा भएपछि उहाँ पुनः जिल्ला फर्कनु भयो । उहाँले खाँदबारीको बरुण बहुमुखी क्याम्पसमा स्नातक तहको अध्ययन गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठनमा आवद्ध हुनु भयो । र, त्यही समयमा उहाँ युवा संघको जिल्ला सचिव पनि बन्नु भयो ।

हाल उहाँ नेकपा एमाले संखुवासभाको सचिवालय सदस्य, नेपाल आदिवासी जनजाति महासंघको संखुवासभा सचिव र नेकपा एमाले कानुन विभागको सहसंयोजक रहनु भएको छ । उहाँसित पूर्वको प्रशिद्ध धार्मिक स्थल पाथिभरामा केवलकार बनाउने र बनाउन नदिनेबीच भइरहेको आन्दोलनका विषयमा कल्पवृद्धले गरेको कुराकानीको संपादिन अंश ।

पाथिभरा क्षेत्रमा केवुलकार बनाउने विषयमा भइरहेको आन्दोलनको गुह्य कुरा के हो  ?

पाथिभरा भनेको जनजातिको मात्र होइन । यो हिन्दुहरुको पनि प्रशिद्ध धार्मिक स्थल हो । यस्तो सनातनकालदेखि चल्दै आएका चर्चित स्थलहरुमा विकासका नाममा ल्याउँदै आइएका योजनाहरुमाथि सार्वजनिक सुनुवाई गर्नुपर्छ । स्थानीयसित यी विषयमा छलफल, सम्वाद गरिनु पर्छ ।
नेपाल अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ– १६९) को सदस्य राष्ट्र पनि हो । संयुक्त राष्ट्र संघको घोषणापत्र २००७ अनुसार आदिवासीहरुको बसोबास भएको क्षेत्रमा ठूला योजनाहरु निर्माण गर्दा ती योजनाहरुका विषयमा स्वतन्त्रपूर्वक पूर्व सूचना पाउने अधिकार सुनिश्चित गरिएको छ । साथै, ती स्थानमा रहने आदिवासीहरुको पूर्ण समर्थन पनि लिनु पर्छ ।

यसमा कसको के दोष छ ?
यी जनजाति आदिवासीका क्षेत्रमा भएका नियम र कानुनविपरीत केवुलकार निर्माण गर्ने र त्यसलाई समर्थन गर्ने पक्षले काम गरेको देखिन्छ । नेपाल यी नियम र कानुनको पक्ष राष्ट्र हो । तर, राज्य र राज्यबाट सञ्चालित पक्षले यी कानुन, नियम पालना नगर्दा जनजातिहरु आन्दोलित भएको मेरो बुझाइ छ ।

अब यो विषयमा जनजाति र आन्दोलनरत पक्षले के के गर्न सक्छन्  ?
हामी नेपालीबीच भएको सहिष्णुलाई बिथोल्ने काम भएको जस्तो देखिन्छ । यो आन्दोलन जनजातिको मात्र नभएर समग्र नेपालीको हुनुपर्छ । यहाँ हिन्दुको पनि उत्तिकै माया र मोह छ । जनजातिको मात्र पाथिभरा भन्ने पछिल्लो भाष्य निर्माण गर्न खोजिनु गलत हुन्छ । पाथिभरा हामी सबैको साझा धार्मिक आस्थाको केन्द्र हो । यो हामी (किराँत– खस, आर्य) सबैको साझा हो । यसलाई अहिले कुनै पक्षको भनेर पक्षपोषण गर्नु भन्दा कुन पक्षबाट के कमी तथा कमजोरी भयो भनेर खोजीगर्दै समाधानतर्फ लाग्नु पर्छ ।

यो आन्दोलनको दूरगामी प्रभाव कस्तो होला  ?
यसले हामी सबै नेपालीबीचमात्र नभएर भारत, भूटान, चीनसम्मका सबै धर्मका अनुयायी धार्मिक पर्यटकबीच दरार उत्पन्न गर्ने सम्भावना बढेको छ । यसलाई तत्काल रोक्न सकिएन भने यसले हामीबीच ठूलो बैरभाव निम्त्याउन सक्छ । त्यसैले समयमै सरकार, आन्दोलनरत पक्ष र सरोकारवालाले गम्भीर रुपमा सोचेर उचित निर्णय लिनुपर्छ । जसका कारण हामीबीच फाटो उत्पन्न नहोस् ।

हामीबीच भएको सद्भावलाई जोकोहीका नाम वा कारणमा बिथोलिनु भएन । यस्ता धार्मिक र सहिष्णु मानिएका क्षेत्रहरुलाई विकास र निर्माणका नाममा हामीबीच दरार पैदा गर्नु हुँदैन । यस विषयमा पनि हामी सचेत रहनुपर्छ ।

अब पहिचान पक्षधर वा आन्दोलनकारीले के गर्न सक्छन्  ?
अगि नै कुरा भइसक्यो । अन्तराष्ट्रिय कानुन र महासंन्धीमा अधिकार सुरक्षित रहेकोले आन्दोलनकारी अन्तराष्ट्रिय अदालतसम्म पुग्न सक्छन् । यो भनेको देशको नै बदनामी हुनसक्छ, त्यसतर्फ पनि हामी सचेत रहनु पर्छ ।