सुनुवार भाषा र साहित्यका ‘दिग्गज’ अर्थात लोकप्रिय सुनुवारको अर्को सिर्जना ‘सुनुवार भाषा सिकौं’ अर्थात कोइँचलो : शैँसै पुस्तकको विमोचन भएको छ । लेखक लोकप्रियको ७४ औं जन्मदिवसको अवसरमा राजधानीको आनामनगरमा रहेको युनियन हाउसमा विमोचन भएको हो । लेखक लोकप्रिय, उहाँकी छोरी मनोरमासमेतले पुस्तकको विमोचन गर्नु भयो । लेखकले यसअघि आधा दर्जनबढी पुस्तक लेखिसक्नु भएको छ ।
विमोचित पुस्तकले सुनुवार भाषा सिक्न सघाउने छ भने भाषा, लिपीसमेतको ज्ञान लिन चाहने सुनुवार समुदायलाई यसले ठूलो सहयोग मिल्ने देखिन्छ । २००८ सालमा खिजी चण्डेश्वरी, ओखलढुंगामा जन्मनु भएका लोकप्रिय कुइँच सुनुवार भाषा, संस्कृति र संस्कृतिविद्का रुपमा चर्चित हुनुहुन्छ । तीन दशक नेपालको बैकिङ क्षेत्रमा योगदान दिनु भएका लोकप्रिय सुनुवार समाजमा मात्र नभएर नेपालकै लोपोन्मुख भाषा र संस्कृति संरक्षणमा चिनिनु भइरहेको छ ।
सरकारी स्वामित्वको गोरखापत्र संस्थानले सम्पादन गर्ने सुनुवार भाषा पेजको संयोजक भएर दशकअघिदेखि कृयाशील पनि रहिरहनु भएको छ ।