लोकप्रिय सुनुवार सुनुवार भाषाविद् हुनुहुन्छ । २००८ फागुन १२ मा ओखलढुंगाको सिजी चण्डेश्वरमा जन्मनु भएका उहाँले बिए र बिएलसम्मको अध्ययन गर्नु भएको छ । ३० वर्ष कृषि विकास वैंकमा सेवा गर्नु भएका उहाँका सुनुवार भाषा र साहित्यसम्वन्धी छ वटा पुस्तक प्रकाशित छन् । उहाँसित सुनुवार भाषा, संस्कृति संरक्षणका विषयमा केन्द्रीत भएर पबउिबदचष्पकजब।अयm (कल्पवृक्ष) ले गरेको कुराकानीका संपादित अंश ।
तपाईँले सुनुवार भाषा कहाँ सिक्नु भयो ?
त्यो बेला घरमै बोलचालबाट सिकेको हो । म जन्मेदेखि नै सुनुवार भाषा बोल्न थाले । १२ वर्ष भएपछिमात्र नेपाली भाषा बोल्न जानेको हो । १४ वर्ष पुगेपछि विद्यालय जान थालें । हाम्रो मातृभाषा कहीँपनि पढिन । स्व–अध्ययनबाटै सिकेको हो । अहिलेसम्म सुनुवार भाषामा विज्ञता भएका व्यक्ति भेटेको छैन ।
सुनुवार भाषा कतिलाई सिकाउनु भयो ?
सिक्न चाहनेहरु आइरहन्छन्, सिकाइरहन्छु । त्रिभूवन विश्वविद्यालयमा विद्यावारिधि गर्ने केहीलाई ‘गाइड’ गरेको छु । कति फोन, मेलबाट नजानेका कुरा सोध्छन्, उनीहरुका सबै जिज्ञासा मेट्दै आएको छु । सिकाउने भनेर कक्षा नै चलाएर भने सिकाएको छैन ।
देशमा सुनुवार जातिको संख्या कति छ, भाषा कतिले बोल्छन् ?
राष्ट्रिय जनगणना २०७८ अनुसार देशमा ७८ हजार ९ सय १० जना सुनुवार जाति रहेका छन् । यीमध्ये ३२ हजार जनाले सुनुवार भाषा बोल्छन् । सबै विज्ञ होइन, सामान्यसम्म भाषा जानेका छन् । यो संख्या दिनदिनै घट्दो छ । जनगणना २०६८ मा सुनुवार भाषा बोल्नेको संख्या ३८ हजार थियो । १० वर्षमा ६ हजार घट्यो । अब गणना हुँदा ३० हजार भन्दा कमले मात्र सुनुवार भाषा बोल्ने गरेको पाइने अवस्था आउने देखिन्छ ।
सुनुवार भाषामा कति पुस्तक लेख्नु भयो ?
छ वटा लेखेको छु । कोइँच लोः लोः ‘सीमा’, कोइँच नेपाली अङ्ग्रेजी शव्दकोश ‘साँ अवास दूर्दापँ’, किराँत सुनुवार शव्दकोश ‘किराँत कोइँच दूकर्दापूँ’, किराँत कोइँच सुनुवार मुल्केम मुक्दुम’ वासशरेः लु र कोइँच ः शेँसै सुनुवार भाषा सिकौं लेखेको छु । अब तीन वटा पुस्तक प्रकाशनको तयारीमा छन् । सुनुवार भाषा व्याकरण, सोलोपथ (पत्रकारिता) र नेपाली सुनुवार शव्दकोष प्रकाशन तयारीमा रहेका छन् ।
सुनुवार भाषामा अहिलेसम्म कति पुस्तक लेखिएका छन् ?
केही लेखिएका छन् । डा लाल रापाचारले झण्डै दर्जनजति लेख्नु भएको छ यस्तै उत्तमकुमार सुनुवार, अतित मुखिया, समीर मुखिया, सूर्यप्रकाश सुनुवार र शंखु बुजिचले पुस्तकहरु लेख्नु भएको छ ।
सुनुवार भाषा संरक्षण गर्न कसले के गर्नु पर्छ ?
पहिलो दायित्व सरकारको हो । विद्यालयहरुमा पाठ्यक्रम बनाएर पठनपाठन गराउने, रेडियो, टिभी, पत्रपत्रिका, अनलाइनहरुमा भाषाबाट प्रशारण तथा प्रकाशन गर्ने, सुनुवार भाषा जान्नेलाई जागिरको अवसर दिनुपर्छ । जसले भाषा संरक्षणमा सबैको ध्यान पुग्छ । सुनुवार सेवा समाज छ । यो समाजले तालिम, गोष्ठी गर्दै गीत तथा संगीतको माध्यमबाट भाषा संरक्षणमा लाग्नु पर्छ ।
सुनुवार भाषा प्रयोगमा कमी आउनु कारण के हो ?
सामाजिक संरचनाले भाषालाई असर गर्र्दाेरहेछ । जस्तो विवाह गर्दा एक जनाले भाषा जान्ने अर्काेले नजान्दा त्यो क्रमसः बोल्न छोडेपछि लोप हुने नै भयो । त्यस्तै अन्तरजातीय विवाहले पनि यस्तो समस्या आउने देखिन्छ । हामी सबै मिलेर सबै जातका भाषा, संस्कृति जोगाउनतर्फ लाग्नु पर्छ । जसका कारण देशमा बोलिने सबै भाषाको संरक्षण गर्न सकियोस् ।
अब तपाईँका योजना के छन् ?
मेरो जीवन, उमेर र स्वास्थ्यले साथ दिएसम्म म सुनुवार भाषा संरक्षणमा लागिरहन्छु । अहिले गोरखापत्र दैनिकमा सुनुवार भाषाको पेज सम्पादन गर्दै आएको छु । १२ वर्षदेखि यो निरन्तर चलिरहेको छ । अब पनि यही भाषाको संरक्षणमा सकेसम्म योगदान दिने नै छु ।