Advertisement GIF
खाद्य स्वच्छताका लागि सहकार्य : गुणस्तर कायम गर्न संयुक्त टोली

खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने क्रियाकलाप सञ्चालन गर्न काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच आज (सोमबार) सहमति पत्रमा हस्ताक्षर भएको छ ।

महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने र विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले विभागको सभा कक्षमा आयोजित कार्यक्रममा हस्ताक्षर गरेका हुन् । खाद्य व्यवसाय अनुगमन तथा खाद्य नमूना परीक्षणको माध्यमबाट खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न सहकार्य थालिएको हो ।

संयुक्त अनुगमन तथा निरीक्षण गर्न घुम्ती खाद्य प्रयोगशालाको सञ्चालनका लागि आवश्यक साधन स्रोतको व्यवस्था महानगरपालिकाले गर्नेछ । अन्य व्यवस्थापन संयुक्त रुपमा हुनेछन् । अनुगमन निरीक्षणमा घुम्ती खाद्य प्रयोगशाला, खाद्य प्राविधिक, माइक्रोबायोलोजिष्ट तथा विज्ञसहितकोे संयुक्त टोली हुनेछ ।

अनुगमन निरीक्षणसम्बन्धी कार्ययोजना दुवै पक्षको सहभागितामा निर्धारण हुनेछ । महानगरपालिकाको सेवामा रहेका फुड टेक्नोलोजिष्ट र माइक्रोवायोलोजिष्ट तथा अन्य कर्मचारीलाई विभागले क्षमता विकास गराइने कार्यक्रम रहेको छ ।

सहमति पत्रमा हस्ताक्षर गरेपछि महानिर्देशक कर्णले, सहमतिअनुसारका कामबाट काठमाडौँमा थोरै लगानी भएको ठाउँमा खाइने खाना होस् कि ठूलो लगानीमा सञ्चालित खाद्य सेवाका ठाउँ हुन्, जहाँबाट पनि उपभोक्ताले स्वच्छ खाना प्राप्त गर्ने वातावरण सिर्जना हुने विश्वाश व्यक्त गरे । ‘स्थानीय तह आफैँसँग खाद्य प्रयोगशाला हुन सकोस् ।

आफैँ अनुगमन, परीक्षण र नियमन गर्न सकुन्, भन्ने उदेश्यले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले स्थानीय तहलाई आफैँ प्रयोगशाला स्थापना गर्न तथा सञ्चालन गर्न सक्ने अधिकार दिएको छ । महानगरपालिकाले यो क्षमतामा काम गर्न सक्छ । विभागले प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।’ उनले भने, ‘महानगरपालिकासँगको सहकार्य थालनी हो । विभागले सबै स्थानीय तहसँग यसरी नै सहकार्य गर्नेछ ।’

आपसमा भएका क्षमता बाँडेर काम गर्दा स्वच्छ खाद्य सेवामा दीगो नतिजा आउँछ । विभागका उपमहानिर्देशक सोमकान्त रिजालले, अनुगमनमा यसअघि देखिएको दोहोरोपनाको समस्या हटेर एकीकृत अनुगमन प्रणाली स्थापना हुने बताउँदै यसले व्यावसायिक वातावरणमा सकारात्मक प्रभाव पर्ने आशा व्यक्त गरे ।

समाजका तल्लो तहमा रहेका नागरिकलाई राज्यले प्रदान गर्ने सुविधा नजिकैको सरकारबाट प्रदान गर्नका लागि संविधानले कल्पना गरेको सहकार्य संस्थागत हुँदै गएको छ । सहकार्यका विषयमा धारणा राख्दै महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने, ‘नीतिबाट, कार्यक्रमबाट र बजेटबाट छुट्टाछुट्टै वा एकीकृत रुपमा सहकार्य हुन सक्छ । यसका लागि नेतृत्वबाट भएको निर्देशनअनुसार सहकार्य गरिएको हो ।’ त्यस क्रममा उनले महानगरपालिकाले खाद्य स्वच्छता परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न लागेको जानकारी दिएका छन् ।