चीनको केरुङ र लेन्दे नदीमा हिमनदी फुटेर नेपालको भोटेकोशीहुँदै आएको बाढीका कारण रसुवा– नुवाकोट खण्डको बैकल्पिक सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । बेत्रावती– मैलुङ– हाकुबेसी– रसुवागढीको झण्डै ६० किलोमिटर सडक खण्डमध्ये ५ सय मिटर बढी खण्ड पहिरोले पुरेको र केही स्थानमा बगेका कारण सडक अवरुद्ध भएको हो ।
नुवाकोटको त्रिशुलीमा खटिएको नेपाली सेनाको शेर गण, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली २४ घण्टा नै उद्धार तथा खोजमा तैनाथ रहेको छ । ‘हामी सजगताका साथ २४ घण्टा नै उद्धार र खोजका लागि तैनाथ छौं, सडक अवरुद्ध भएकोले हिडेर जान समस्या भइरहेको छ, निरन्तरको वर्षाका कारण हिडेर घटनास्थलहरुमा पुग्न भने समस्या भइरहेको हो ।’– सेनाका एक अधिकारीले भने ।
भोटेकोशीहुँदै त्रिशुली नदीमा आएको बाढीमा नुवाकोट जिल्लामा तैनाथ नेपाली सेनाको शेर गणले विपद् उद्दारको कार्यको कमाण्ड गरिरहेको छ । ‘रसुवा जिल्ला तर्फबाट त्रिशुली नदीमा आएको बाढीको सूचना पाएपछि नुवाकोट र रसुवाका हाकुवेशी र मैलुङ्ग ईलाकाको तटिय क्षेत्रमा बस्ने स्थानीयलाई सुरक्षित स्थानमा सारेका कारण थप मानवीय क्षति हुन नपाएको सुरक्षाकर्मीहरुले जानकारी दिए ।

नुवाकोटको विदुर नगरपालिका– ९, ईन्द्रायणीघाटमा त्रिशुली नदीबिचमा रुखमा रुखमा चढेर ज्यान जोगाएका एक दम्पतिको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेर काठमाडौं ल्याएको छ । उनीहरुको अवस्था सामान्य छ । त्रिशुलीमा पानीको बहाव बढेर किस्पाङ्ग– ५, पहिरेबेसीमा रहेको नेपाल विद्युत प्राधिकरणको त्रिशुली ३ बी सव स्टेशन आयोजनामा क्षति पुगिसकेकोछ । थप क्षतिबाट जोगाउन सुरक्षाकर्मीहरु नदीको बहाबलाई दिशा परिवर्तन गर्न दुई दिनदेखि सक्रिय छन् । पछिल्लो समय भोटेकोशी र त्रिशुली नदीले बगाएर बेपत्ता भएकाहरुको खोजी, बाढीले पुर्याएको क्षति विवरण संकलनका काम पनि भइरहेको सैनिक अधिकारीहरुको भनाइ छ ।

सुरक्षाकर्मीहरुले विपद्का घटना हुनसक्ने संवेदनशील र प्रभावित स्थानको पहिचान तथा बर्गिकरण गर्दै सरोकारवाला निकायहसग समन्वय गरिरहेको जनाएका छन् । उद्धार र खोजसँगै राहतका सामान पनि सुरक्षाकर्मीका युनिटमा तयारी अवस्थामा राखिएको छ ।
यो बाढीमा परेर २० जना बेपत्ता भएका छन् भने ९ जनाको शव फेला परेको छ । ५७ जनाको उद्धार गरिएको छ भने रसुवागढी भन्सार परिसरमा रहेका ६७ वटा गाडी बगाएको छ । क्षतिको पूर्ण विवरण संकलन भइसकेको छैन ।
नेपालका २१ र चीनका २५ हिमताल उच्च जोखिममा रहेको अध्ययनहरुले देखाएको छ । यही असार २४ गतेको जस्तै चीनमा उच्च जोखिममा रहेका हिमताल फुट्दा नेपाल भएर नै बग्ने भएका कारण जुनसुकै समयमा सावधानी अपनाउनु पर्ने जानकारहरु बताउँछन् । ‘वर्षाको समयमा मात्र नभएर १२ महिना र ३६५ दिन नै बाढी तथा पहिरोको जोखिम रहन्छ, त्यस कारण पनि सरोकारवाला, स्थानीय बासिन्दा, स्थानीय निकाय, सुरक्षा निकायसमेत सचेत अवस्थामा रहनु पर्छ ।’– विपद् व्यवस्थापनमा जानकारी राख्ने नेपाली सेनाका उपरथी (अवकास प्राप्त) आशबहादुर तामाङले भन्नु भयो ।
-सुरेन्द्र सुवेदी/काठमाडौं
प्रतिक्रिया दिनुहोस्