Advertisement GIF
कल्पवृक्ष
श्रावण २७ मंगलबार, ११:०० पूर्वाह्न
पाँचथरमा लडेर २५ र अरिंगालले टोकेर २ जनाले ज्यान गुमाए

सुदूर पूर्वको पाँचथर जिल्लामा एक वर्षमै २५ जनाको लडेर मृत्यु भएको छ। आर्थिक वर्ष २०८१र८२ मा लडेर २५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्यांकले देखाएको हो।

लडेर मृत्यु हुनेमा धेरैजसो रातको समयमा गाउँमा पैदलयात्रा गर्नेहरू छन्। मेलापात, गाउँघर, छरछिमेकबाट घर फर्कँदा रातको समयमा धेरै मानिस लड्ने र ज्यान जाने गरेको देखिएको प्रहरीको भनाइ छ।

गाउँघरमा मादक पदार्थ सेवन गरी पैदलयात्रा गर्ने क्रमले पनि धेरैको अनाहकमा ज्यान जाने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले बताए। घाँसदाउरा गर्न, पशु चराउन गएकाहरूको पनि लडेर ज्यान जाने गरेको छ। ग्रामीण क्षेत्रमा दुर्घटनामा परेकाहरूको उद्धारसमेत समयमा हुन नसक्दा मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ।

गत आवमा पाँचथरमा मृत्यु भएकामध्ये १४ जनाको मृत्युको कारण खुल्न सकेको छैन। अचानक बिरामी भएर र खोलाले बगाएर ६–६ जना, आगोले जलेर, अरिङ्गालले टोकेर र करेन्ट लागेर २–२ जनाको ज्यान गएको प्रनाउ बुढाथोकीले जानकारी दिए। यसैगरी चट्याङ लागेर, रुखले किचेर, सवारीसाधनबाट र पहिरोमा परेर १–१ जनाको ज्यान गएको छ।