Advertisement GIF
कल्पवृक्ष
भाद्र १४ शनिबार, ८:५४ पूर्वाह्न
‘रहाइड लेदर अनलाइन’ व्यापारले दङ्ग छिन् आभा

फेसबुक र इन्स्टामा रहाइड लेदरको उपस्थिति भेटिन थालेपछि आभा बस्नेतका लागि यी सामाजिक सञ्जालमात्र भएनन् । उनका लागि फेसबुक, इन्स्टा र टिकटक सञ्जाल पसल भएका छन् । इन्स्टामा केही समयअघिबाट नै सक्रिय भएपनि आभाले सञ्चालन गर्ने रहाइड लेदर अनलाइन व्यापारको संसारमा प्रवेश गरेको फेसबुकमा आएपछि मात्र हो। शैशवावस्थामा नै रहाइड स्टार्टअपको दुनियाँमा परिपक्व सुनिन्छ, पाइला लामा देखिन्छन्। टाढासम्म विस्तारित भइसकेको छ।

फेसबुक र इन्स्टाग्राममा पोस्ट हुने विज्ञापनमूलक सामग्रीकै आधारमा रहाइड नेपालभित्रका प्रायजसो सबै सहरसम्म पुगिसकेको छ। अर्डर आएपछि नेपालभरका ग्राहकसम्म पुर्‍याइदिने कामको व्यवस्थापन मात्र होइन, सामग्री उत्पादन, बजारीकरण, विविध पक्षहरूको लेखाजोखा पनि आभाले नै गर्छिन् । टाढाका ग्राहकसम्म रहाइडका सामग्री पुर्‍याउन आभालाई कुरियर कम्पनीहरूले सहयोग गरिरहेका छन्। ‘कुरिअर सेवा भएका नेपालका प्रायजसो सबै सहरमा मैले सामग्री पठाइसकेकी छु,’ आभा थप्छिन्, ‘कुरियरले धेरै सजिलो बनाएको छ।’

विदेशका ग्राहकसम्म सामाजिक सञ्जालबाट रहाइड जोडिन पाएको छ । ‘विदेश बसेर हाम्रा सामग्री किन्नेको संख्या पनि बढ्दो छ । स्वदेशमा आफ्नै आइडियाले बनाएका सामग्री विदेशबाट पनि माग आउँदा दंग आभा थप्छिन्, ‘मिडियाको सपोर्टका कारण म छोटो समयमा नै देशविदेशसम्म चिनिएँ। रहाइड चिनियो। आफ्नै सिर्जनाको प्रगति देखेर सबै खुसी नै हुन्छन् ।’

‘दुवई, अस्ट्रेलियासमेतका देशबाट यो ब्राण्डको नामबाट ब्यापार गर्न अनुमति माग्नेको संख्या पनि छ । तर, मैले त्यो विषयमा नसोचेकोले अहिलेसम्म दिएकी छुइँन ।’– आभा भन्छिन् ।

समाजिक सञ्जालका सामग्रीमा ग्राहकका मात्रै आँखा पर्छन् भन्ने पनि हुँदैन। यी पोस्टका तस्बिर र सामग्रीमा आँखा पुर्‍याएकाहरूले सबैले सामग्री किन्छन् नै भन्ने कुनै पनि व्यापारमा हुँदैन। तर आभाका लागि सोचेको भन्दा पनि बढी भयो। पोस्टमा आएका प्रतिक्रिया, पोस्टका सामग्री र मिडियामा आएका सामग्रीका कारण अहिले उनीसँग ग्राहक मात्र ठोक्किँदैनन्, व्यावसायिक साझेदारीका प्रस्ताव पनि आउँछन्। त्यो पनि देशभित्रबाट मात्र पनि होइन, विदेशदेखि पनि आइरहेका छन्।

विर्तामोडमा आउटलेट खोलेर व्यावसायिक साझेदारी गर्न चाहने एक जना उद्यमीले उनलाई औपचारिक रूपमा नै प्रस्ताव पठाएका छन्। चितवन र पोखराबाट पनि उनलाई प्रोफिट सेयरिङमा काम गरौँ भन्ने प्रस्ताव आइरहेका छन्। ‘झापाको विर्तामोडमा एक जनाले जुनसुकै लेभलमा हुन्छ साझेदारी गरौँ भनिरहनुभएको छ।

चितवन र पोखराबाट पनि प्रस्ताव आइरहेका छन्,’ रहाइडको दुईमहिने यात्रालाई बीचमा घुसाउँदै आभाले घुमाउरो शैलीमा जवाफ दिइन्, ‘अहिले मैले उत्पादनमा नै फोकस गरिरहेकी छु। अब जाडोको सिजनमा छालामा सामग्रीको बढी व्यापार हुन्छ भन्ने कुरा सुनेकी छु। धेरै भेराइटीका सामग्रीको उत्पादन पर्याप्त भएपछि त्यसको बजारीकरण र आउटलेटका विषयमा पक्कै पनि सोच्छु नै। तर मैले तत्कालै उपत्यकाबाहिर आउटलेट खोलेँ भने वर्षभर समान प्रकृतिमा सामग्रीको माग नहोला कि भन्ने भय पनि छ।’ देशका अरु सहरमा पनि आउटलेटका विषयमा विभिन्न प्रकृतिका जिज्ञासा र प्रस्ताव उनीसँग आइरहन्छन्।

नेपालका सहर मात्र होइन, क्यानडा, अमेरिका, युरोपेली देशहरू र अस्ट्रेलियामा पनि रहाइडका सामग्री माग प्रशस्तै छ। ‘मैले अहिलेसम्म विदेशमा कुरियर गर्ने काम चाहिँ गरेको छैन,’ आभा थप्छिन्, ‘विदेशमा सिपमेन्टको विषयमा व्यावसायिक तरिकाले सोच्न पाएको छैन।’ उनलाई यी देशहरुबाट सामग्रीको माग मात्र भएको छैन, व्यावसायिक प्रस्ताव पनि आएकै छन्। ‘अस्ट्रेलियामा छालाका सामग्री महँगो पर्ने रहेछ। त्यसैले त्यहाँबाट बढी रूपमा सामग्रीसँगै व्यासायिक प्रस्ताव पनि आइरहेका छन्।’

आभालाई सानैदेखि कापीमा केही न केही चित्र कोर्न मन पर्थ्यो। आफ्नै हातले बनाएका सामग्रीले उनलाई तानिरहन्थे। पेन्टिङ गर्ने गुडिया बनाउने उनको शोख थियो। उनका ती काम अभ्यास र शोख मात्रका लागि हुन्थे। सामग्रीहरू जोडजाड पारेर पुतलीहरू बनाउँथिन्। यही क्रममा उनी छालाका सामग्री बनाउने कर्ममा जोडिएकी हुन्।

आफ्नो शोख पूरा गर्न उनले विभिन्न स्थानबाट कच्चा सामग्री मगाउँथिन्। चार वर्षअघि अलि सहज तरिकाले सामग्री बनाउनका लागि छालाका सामान बनाउन प्रयोग गर्ने मेसिन किनिन्। राम्रो कच्चा पदार्थ खोज्दै काठमाडौँका थुप्रै ठाउँ पुगिन्। आत्मसन्तुष्टिकै लागि आफ्नै लगानी गरिरहिन्। उनलाई आम्दानीसँग सरोकार थिएन, शोख पूरा गर्न गरेको लगानी थियो। समय मिल्दासम्म केही न केही काम गरिरहन्थिन्।

आफ्नै घरमा मेसिन सेटअप गरेर ससाना तर महत्वपूर्ण मानिने सामग्री बनाउन थालिन्। व्यापार गर्ने सोचले यी काम गरिरहेकी थिइनन्। उनलाई प्रतिक्रिया पाउने भोक थियो। त्यही भोकका लागि उनले भरसक आफ्नै हातले बनाएर कसैलाई उपहार दिन्थिन्। प्रतिक्रियाले उनलाई कैयौँपटक पुलकित बनाएको छ।

साथीभाइ र आफन्तले दिएका प्रतिक्रिया उनका लागि ऊर्जा बने। थोरबहुत आम्दानीका स्रोत पनि बने। तिनै साथीभाइ र आफन्तका सुझाव पछ्याउँदै आभाले व्यवसायकै रूपमा आफ्नो शोखलाई अगाडि बढाउने निधो गरिन्। र नाम जुरेको थियो ‘रहाइड’।

रहाइडका लागि भनेर उनले गरेको लगानी ४ हजार मात्र हो। रहरका लागि सानो लगानी थियो त्यो। तर व्यावसायिक रूपमा सञ्चालन गर्ने भएपछि उनलाई थप लगानी चाहियो। व्यावसायिक रूपमा नै छालाका सामग्री तयार गरेर बिक्री गर्ने कुरामा परिवारले पनि प्रोत्साहन गर्‍यो। ‘सानो छँदादेखि नै बुवाआमाले सेयरमा लगानी गरिदिनु भएको थियो। त्यही सेयर बेचेर आएको ७ लाख रहाइडमा लगानी गरेँ,’ आभा थप्छिन्, ‘भारतबाट बल्कमा ‘र’ छाला मगाएँ।अहिले त्यो लगानी निकै बढिसकेको छ।’

आभाले आफ्नै घरमा वर्कसप बनाएकी छन्। अहिलेका लागि उनको फ्याक्ट्री पनि घरमै छ। कार्यालय पनि घरमै। रहाइडका सामग्री लिएर मेला र प्रदर्शनीमा जाने भएपनि उनले हालसम्म पनि बिक्री तथा प्रदर्शनीका लागि भौतिक रूपको आउटलेट भने खोलेकी छैनन्। रहाइडका सामग्री बिक्रीका लागि अनलाइन मुख्य माध्यम हो। मेलाबजारमा भौतिक रूपमा उनी सामग्री लिएर पुग्छिन्। सामग्रीका विषयमा सञ्चार गर्ने उनको क्षमताले सम्भावित ग्राहक ग्राहकमा परिणत हुने दर बढेको पनि छ।

‘छालाको सामग्री किन्ने ग्राहकहरू सामग्री छोएर, विचार गरेर र दाँजेर किन्न चाहनुहुन्छ। त्यसका लागि पनि मैले फिजिकल आउटलेट खोल्नै पर्नेछ,’ आभा भन्छिन्, ‘अहिलेसम्म चाहिँ म उत्पादनतर्फ केन्द्रित भएकाले फिजिकल आउटलेट खोल्न सकेकी छैन। तर अब छिट्टै भौतिक रूपमा बिक्री कक्ष पनि आउँछ।’

 

आफ्ना सामग्रीहरूको अनलाइन प्रदर्शनी उनले फेसबुक र इन्स्टाग्रामका रहाइडको प्रोफाइलबाट गर्छिन्। रहाइडका सबै काम आफैँ गर्ने उनी त्यहाँ राखिने व्यापार प्रवर्द्धनात्मक सामग्रीमा पनि आफैँ मोडलिङ गर्छिन्। कतिपय सामग्रीमा आफ्ना दाजुभाइ र साथीलाई पनि कभर गराएकी छन्। विज्ञापनमा आफू र आफन्तहरू नै कभर हुँदा त्यसको इंगेजमेन्ट पनि बढी भएको उनको अनुभव छ।

देशभरको व्यवसायमा आर्थिक मन्दीको असर परिरहेको उनले दिनहुँ जस्तो सुन्छिन्। आफू नजिकैका थुप्रै व्यक्तिहरूको व्यवसायमा संकटको असर परिरहेको छ। तर आभाले त्यस्तो महसुस गर्न परेको छैन। रहाइड लेदरले सन् २०२१ जनवरी ८ मा इन्टाग्राममा पहिलोपटक पर्सको तस्बिर पोस्ट गरेको छ। तीन कलर अप्सनमा पोस्ट भएको उक्त पर्स र सोही अकाउन्टमा २०२४ मे २६ मा पोस्ट भएको पछिल्लो निकै आकर्षक देखिन्छ। फेसबुकमा रहाइड आएको सन् २०२४ मार्च १४ मा मात्र हो।

कम्पनीले कार्डहोल्डर, ब्यागप्याक, ट्राभल ब्याग र जिम ब्यागजस्ता उपकरण बनाएर बिक्री पनि गरिसकेको छ। आगामी जाडोको तयारीमा केन्द्रित रहेकी आभाले यतिबेला भने ज्याकेट उत्पादनको काममा आफूलाई केन्द्रित गरेकी छन्। ‘हामीले जेन्युन छाला प्रयोग गर्छौं। जेन्युन छाला भन्नेबित्तिकै जति नै प्रयोग गरेपनि ५ वर्ष त मजाले टिक्छ,’आभा थप्छिन्, ‘हामीले धागो, जिपर, बटनलगायतका सामग्री पनि उतिकै गुणस्तरीय राख्ने गरेका छौँ। यसले टिकाउदरमा कुनै समस्या आउनेछैन।’

आफ्ना सामग्रीको आयु लामो हुने कुराले उनले व्यावहारिक र मनोवैज्ञानिक कुरासँग पनि जोड्छिन्। उनका अनुसार रहाइडका अधिकांश ग्राहक पुरुषहरू हुन्। उनले पुरुषहरूलाई नै केन्द्रित गरेर सामग्री बनाएकी हुन्।

‘केटीहरूको बानी छिटोछिटो नयाँनयाँ सामग्री किन्ने हुँदो रहेछ। एउटै सामग्री लामो समयसम्म प्रयोग गर्न धेरै केटीहरूलाई मन नपर्ने पनि रहेछ। फेसनेबल देखिनका लागि पनि महिलाहरूले सस्तोसस्तो भएपनि नयाँ सामग्री किनिरहनुहुन्छ,’ उनी थप्छिन्, ‘केटाहरूको ‘नेचर’ चाहिँ ठिक विपरीत हुने रहेछ। उनीहरू बरु महँगो किन्ने तर टिकाउ सामग्री मन पराउने रहेछन्। यो कुरालाई दृष्टिगत गरेरै हामीले टिकाउ सामग्री बनाउन जोड दिन्छौँ। रहाइडका सामग्री किन्ने र प्रयोग गर्ने ९० प्रतिशतभन्दा बढी पुरुषहरू हुन्।

–सुरेन्द्र सुवेदी /काठमाडौं