गुल्मीको हुंगामा जन्मिएर पहाडका कन्दरा र नेपाली माटोको सुगन्ध पछ्याउँदै काठमाडौँ छिरेका एक अथक यात्री हुन्, राजन न्यौपाने। २०७० सालमा सपनाहरूको सहर काठमाडौँ प्रवेश गर्दा उनीसँग एउटै लक्ष्य थियो, नेपाली मौलिक संगीतको धरातललाई नयाँ उचाइमा पुर्याउने। र, त्यसका लागि सांगीतिक क्षेत्रमै योगदान दिइरहने ।
राजनको कलाकारितामा मौलिकताको संरक्षण र शैली अरु कलाकारको भन्दा अलिक फरक छ । उनको कलाकारिता केवल अभिनय वा गायनमा मात्र सीमित छैन । उनी नेपाली मौलिक संगीतको प्रवर्द्धन र संरक्षणका एक बलिया खम्बा हुन्। काम गर्ने शैलीमा सधैँ नयाँपन खोज्ने राजनले ‘जे देखिन्छ, त्यही बिक्छ’ भन्ने आधुनिक होडबाजी भन्दा पनि ‘जे महसुस हुन्छ, त्यही नै कला हो’ भन्ने मान्यता राख्छन्।

उनको कलाकारिताको सबैभन्दा बलियो पक्ष भनेकै दर्शकको मनसँग खेल्न सक्नु र उनीहरूलाई कथाको एउटा हिस्सा महसुस गराउनु हो।
उनले र उनी पनि टिममा बसेर गाएका चर्चाका शिखरमा पुगेका केही गीतहरुमा कालो केशमा रिलीमैदेखि पातलीसम्म रहेका छन् । न्यौपाने भन्ने बित्तिकै धेरैको मानसपटलमा कालो केशमा रिलीमैको धुन र उनको अभिनय झल्किन्छ। यो गीत उनको करियरको एउटा यस्तो कोशेढुङ्गा बन्यो, जसले उनलाई नेपाली घरघरमा मात्र नभएर नेपाली भाषी रहेका विश्वका कुनाकुनासम्म चिनायो। उनका सफल सिर्जनाहरूको सूची निकै लोभलाग्दो छ, केशै लर्कियो डोरीले, शिरफुली ठुली, पातली आउँदा जाँदा बानी परेछजस्ता गीत म्युजिक नेपालको युट्युब च्यानलमा उपलब्ध छन् । यही यात्राको निरन्तरता स्वरूप आगामी अप्रिल ३० मा उनको नयाँ प्रस्तुति ‘फुलको जोबन’ रिलिज हुँदैछ, जसलाई लिएर फ्यानहरू निकै उत्साहित छन्।
यो गीतले मानिसको निरन्तर संघर्षको चरणमा आइपर्ने भोगाईहरुको यथार्थ ब्याख्या गरिएको छ । जीवनमा कस्ताकस्ता चरणमा दुःखहरुको सामना गर्नुपर्छ र नेपाली समाजले गर्दैछ, भन्ने वास्तविकता गीतबाट देखाउन खोजिएको छ । यो गीतलाई लेखनदेखि गायनसम्म करिव २ वर्षको अध्ययनपछिमात्र बाहिर ल्याउन लागिएको राजनको भनाइछ छ ।

राजनको संघर्ष, भोगाइ र सिकाई सहज छैन । उनी स्विकार्छन्, हात धोएर यस क्षेत्रमा मात्रै समय दिन नसकिए पनि गीत–संगीत र अभिनय मेरो आत्माको मोह हो।’ असफलतालाई सफलताको प्रेरणा मान्ने उनको स्वभावले उनलाई कहिल्यै पछि हट्न दिएन। अनि, आत्मसन्तुष्टि र नेपाली सांगीतिक क्षेत्रमा केही योगदानका लागि उनी निरन्तर सघर्षरत छन् ।
उनी आफूलाई अझै पनि एउटा सिक्दै गरेको विद्यार्थी ठान्छन्। उनका अनुसार, उनले जे व्यक्त गरे, ती सबै अन्तरआत्माले महसुस गरेका कुराहरू हुन्। सामान्य ढंगले गरिएको इमानदार प्रयासकै नतिजा आज उनीसामु छ।
अबको भविष्य र दृष्टिकोणका विषमा पनि राजन प्रष्ट छन् । अबको डिजिटल युगमा सोसल मिडियाका प्लेटफर्महरूलाई सही ढंगले प्रयोग गर्नु र त्यसमा आफ्नो मौलिक क्रिएसन पस्कनु नै अहिलेको आवश्यकता रहेको उनी बताउँछन्। नराम्रो कुराले पनि चर्चा पाउने समयमा, असल र मौलिक कलाले दर्शकलाई महसुस गराउन सक्नु नै वास्तविक कलाकारिता हो, उनको बुझाइ छ ।
राजन न्यौपाने केवल एक कलाकार मात्र नभई नेपाली संगीतको मौलिकता जोगाउने एउटा अभियन्ता अर्थात अभियान पनि हुन्। उनको सरल स्वभाव र कलाप्रतिको निष्ठाले आगामी दिनमा नेपाली कला क्षेत्रलाई अझै समृद्ध बनाउने विश्वास गर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस्