नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले कीर्तिमानी सगरमाथा आरोही विजय घिमिरेको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। सोलुखुम्बु जिल्ला, सोलुदुधकुण्ड नगरपालिका ७ स्थायी ठेगाना भएका ३५ वर्षीय घिमिरेको वैशाख २७ गते (आज) बिहान सगरमाथाको खुम्बु आइसफल क्षेत्रमा पर्वतीय पथ प्रदर्शकको जिम्मेवारी निर्वाह गर्ने क्रममा निधन भएको हो।
घिमिरेले मिति २०७४ जेठ ८ गते दलित समुदायको तर्फबाट प्रथम आरोहीको कीर्तिमान कायम गर्नुका साथै हालसम्म तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी सम्पूर्ण दलित समुदाय र राष्ट्रकै गरिमा बढाउन विशेष योगदान पुर्याउनुभएको थियो।
विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै घिमिरेको निधनले नेपालको पर्वतीय पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ। उहाँले राष्ट्रका लागि पुर्याउनुभएको अतुलनीय योगदानको उच्च कदर गर्दै विभागले मृतक घिमिरेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ।
विभागका निर्देशक एवं सूचना अधिकारी हिमाल गौतमद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा शोकाकुल परिवारजन तथा शुभेच्छुकहरूमा गहिरो भावपूर्ण संवेदना प्रकट गरिएको छ। नेपालको पर्यटन इतिहासमा एक कुशल र साहसी आरोहीको रूपमा स्थापित घिमिरेको निधनको खबरले समग्र पर्वतीय पर्यटन क्षेत्र समेत स्तब्ध बनेको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्