राजधानीको ललितपुरमा संयुक्त राष्ट्रसंघले अप्रिल २१ लाई ‘अन्तर्राष्ट्रिय महिला उद्योग दिवस’ घोषणा गरेको अवसरमा महिला उद्यमी महासङ्घ, नेपालकि अध्यक्ष दर्शना श्रेष्ठले दिनु भएको मन्तव्य ।
हामी यहाँ पहिलो ‘अन्तर्राष्ट्रिय महिला उद्योग दिवस’ को अवसरमा महिला उद्यमशीलता, नवप्रवर्तन र नेतृत्वको सम्मान गर्दै यो विशेष कार्यक्रम आयोजना गरिरहेका छौँ। संयुक्त राष्ट्रसंघले अप्रिल २१ लाई ‘अन्तर्राष्ट्रिय महिला उद्योग दिवस’ घोषणा गरेपछि यस वर्ष पहिलो पटक यो दिवस मनाइँदैछ। यस ऐतिहासिक अवसरमा महिला उद्यमीहरूको योगदानलाई उजागर गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागी हुन पाउनु हाम्रो लागि गौरवको विषय हो।
महिला उद्यमी महासङ्घ, नेपालको तर्फबाट यस महत्वपूर्ण कार्यक्रमको सहकार्यका लागि संयुक्त राष्ट्र औद्योगिक विकास संगठन (युनिडो) को ‘ग्लोबल मार्केट एक्सेस कार्यक्रम’ नेपाल तथा ‘औद्योगिक कीट विकास केन्द्र’ प्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। हामीले आज केवल एउटा कार्यक्रम आयोजनामात्र गरिरहेका छैनौँ, बरु महिला उद्यमीहरूको पहिचान, संवाद, सहकार्य र नयाँ अवसरका लागि एउटा सशक्त मञ्च निर्माण गरिरहेका छौँ।
महिला उद्यमी महासङ्घ देशभरका महिला उद्यमीहरूको एकमात्र तथा अग्रणी महासङ्घ हो। महासङ्घले नेपालका ७७ वटै जिल्लामा आफ्नो सञ्जाल विस्तार गरेको छ र सातै प्रदेशमा आफ्नो समिति गठन गरिसकेको छ। यही विशाल सञ्जालमार्फत महासङ्घले महिलाको आर्थिक सशक्तीकरणका विषयमा पैरवी तथा नीतिगत वकालत गर्ने, क्षमता अभिवृद्धि गर्ने, व्यवसाय विस्तारमा सहयोग पुर्याउने तथा सहकार्य र साझेदारीमार्फत महिला उद्यमशीलताको विकासका लागि सञ्जाल विस्तार गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ। आजको कार्यक्रम पनि यही अभियानअन्तर्गतको एक महत्वपूर्ण प्रयास हो।
महिला उद्यमी महासङ्घ नेपाल सधैँ महिला उद्यमीहरूको सशक्तीकरण, उद्यम विकास, सञ्जाल विस्तार तथा समावेशी आर्थिक वृद्धिको पक्षमा प्रतिबद्ध रहँदै आएको छ। हाम्रा सदस्यहरू कृषि, हस्तकला, सूचना प्रविधि, पर्यटन, व्यापार लगायत विविध क्षेत्रमा सक्रिय छन्। तीमध्ये मह उद्योग अत्यन्त सम्भावनायुक्त क्षेत्रको रूपमा स्थापित हुँदै गएको छ, जसले दिगो आर्थिक विकास, ग्रामीण रोजगारी तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ।
आज महिलाहरू व्यवसायमा केवल सहभागी मात्र होइनन्, नेतृत्वकर्ता, नवप्रवर्तक तथा परिवर्तनका संवाहकका रूपमा स्थापित भएका छन्। आज हामी यस्ता आदरणीय महिला उद्यमीहरूलाई सम्मान गर्न एकत्रित भएका छौँ। मह उत्पादनको सम्पूर्ण मूल्य शृंखलामा—मौरीपालन, उत्पादन, प्रशोधन तथा बजारीकरणमा—महिलाहरूको उल्लेखनीय भूमिका रहेको छ। उनीहरूको योगदान केवल आम्दानीमा सीमित छैन, यसले समुदायलाई सशक्त बनाउने, जैविक विविधताको संरक्षण गर्ने तथा स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने कार्यसमेत गरिरहेको छ।
तर अझै पनि धेरै महिला उद्यमीहरूले वित्तीय पहुँचको कमी, महजस्तो अत्यन्त मूल्यवान खाद्य पदार्थको गुणस्तर प्रमाणीकरण तथा मापदण्ड निर्धारणको अभाव, बजार पहुँचको सीमितता, पर्याप्त अवसरको कमी तथा उद्योगसँग जोडिने सञ्जालको अभावजस्ता चुनौतीहरू सामना गरिरहेका छन्। यही कारणले आजजस्ता कार्यक्रमहरू अझ बढी आवश्यक र सान्दर्भिक बनेका छन्।
यो हाम्रो महासङ्घ दृढतापूर्वक विश्वास गर्छ कि सहकार्य नै प्रगतिको आधार हो। कुनै एक संस्था वा सङ्गठनले मात्र दिगो परिवर्तन सम्भव बनाउन सक्दैन। सरकार, विकास साझेदार संस्था, निजी क्षेत्र तथा महिला उद्यमी सञ्जालबीचको साझेदारीबाट मात्र दीर्घकालीन प्रभाव सिर्जना गर्न सकिन्छ। आजको कार्यक्रम त्यसै सोचको प्रतिबिम्ब हो भन्ने मलाई विश्वास लागेको छ।
आजको संवाद, प्रदर्शनी तथा व्यवसाय–व्यवसाय सहकार्य कार्यक्रममार्फत हामी महिला उद्यमीहरूको उद्यमशील सम्भावनालाई अझ सशक्त बनाउँदै, उनीहरूका चुनौतीहरू बुझ्दै तथा त्यसका व्यवहारिक समाधान खोज्दै अगाडि बढ्नेछौँ भन्ने आशा गरेका छौँ। साथै, यसले बजार विस्तार तथा नयाँ अवसर सिर्जना गर्न महत्वपूर्ण सहयोग पुर्याउने विश्वास पनि लिएका छौँ।
यस अवसरमा महिला उद्यमी महासङ्घकी तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठज्यूप्रति विशेष सम्मान व्यक्त गर्न चाहन्छु। उहाँले आफ्नो जीवन नै मह व्यवसायको विकासमा समर्पित गर्नुभएको छ र आज प्रमुख वक्ताका रूपमा आफ्नो अनुभव तथा ज्ञान हामीसँग साझा गर्दै हुनुहुन्छ, जुन हामी सबैका लागि प्रेरणादायी हुनेछ।
आज यहाँ उपस्थित सम्पूर्ण महिला उद्यमी दिदीबहिनीहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईंहरूको मेहनत, साहस र समर्पण साँच्चिकै प्रेरणादायी छ। तपाईंहरू केवल व्यवसाय निर्माण मात्र गरिरहनुभएको छैन, आगामी पुस्ताका महिलाहरूका लागि मार्गदर्शन र उदाहरण पनि बनिरहनुभएको छ।
आगामी दिनहरूमा पनि महिला उद्यमी महासङ्घ नेपाल मह उद्योगजस्ता दीगो तथा समावेशी सम्भावना भएका अन्य क्षेत्रहरूको विकासमा निरन्तर प्रतिबद्ध रहनेछ। हामी महिला उद्यमीहरूका लागि थप अवसर सिर्जना गर्न, सञ्जाल विस्तार गर्न तथा महिला मैत्री नीतिका लागि निरन्तर पैरवी गर्न सदैव तत्पर रहनेछौँ।
यो अवसर आजको कार्यक्रममा मात्र सीमित नरही अझ बलियो सहकार्य, समावेशिता तथा महिला नेतृत्व प्रवर्द्धन गर्ने हाम्रो साझा प्रतिबद्धताको रूपमा अगाडि बढोस् भन्ने कामना गर्न चाहन्छु। धन्यवाद।