-धनप्रसाद लामिछाने
नेपालको पश्मिना उद्योग केवल एउटा व्यापारिक क्षेत्र होइन, यो नेपालको पहिचान, इतिहास, रोजगारी, सीप र अन्तर्राष्ट्रिय प्रतिष्ठासँग गाँसिएको राष्ट्रिय सम्पत्ति हो। वार्षिक करिब ५ अर्ब रुपैयाँ बराबरको पश्मिना प्रत्यक्ष रूपमा निर्यात हुने गरेको छ भने पर्यटकमार्फत बाहिरिने उत्पादन जोड्दा यसको समग्र आर्थिक योगदान साढे ६ अर्ब रुपैयाँभन्दा माथि पुगेको अनुमान छ। तर, यति महत्वपूर्ण उद्योग अहिले गम्भीर संकटको मोडमा उभिएको छ। यसको मुख्य कारण हो—कच्चा पदार्थमा पूर्ण परनिर्भरता।
विगतदेखि नेपाली पश्मिना उद्योग चीनबाट आयात हुने कच्चा धागो र भुवामा निर्भर रहँदै आएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव, आपूर्ति शृङ्खलाको अवरोध र भूराजनीतिक अस्थिरताले गर्दा उद्योगको भविष्य अनिश्चित बन्दै गएको छ। विदेशी कच्चा पदार्थ आयात गरेर त्यही मुलुकका उत्पादकसँग विश्व बजारमा प्रतिस्पर्धा गर्नु दीर्घकालीन रूपमा जोखिमपूर्ण र आत्मघाती बन्न सक्ने चेतना उद्योगीहरूमा विकसित भएको छ।

यही संकटलाई अवसरमा बदल्ने उद्देश्यसहित नेपाल पश्मिना उद्योग संघले सन् २०३० सम्म नेपाललाई पश्मिनाको कच्चा पदार्थमा आत्मनिर्भर बनाउने लक्ष्य अघि सारेको छ। त्यसका लागि २०७७ फागुन ११ गते ‘नेपाल फाइबर प्रोसेसिङ प्रालि’ स्थापना गरिएको हो। मनाङ, मुस्ताङ र डोल्पा जस्ता हिमाली जिल्लाको प्राकृतिक सम्भावना र च्याङ्ग्रा पालनको परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग जोड्दै ‘भुवा देखि पहिरनसम्म’ को एकीकृत अवधारणामा आधारित अभियान सुरु गरिएको छ।
यो अभियान केवल उद्योग विस्तारको योजना होइन, एउटा वैचारिक र राष्ट्रिय आन्दोलनको स्वरूपमा अगाडि बढाइएको छ। ४१ जना उद्यमीहरूको साझा लगानी र सङ्कल्पबाट हरिसिद्धिमा साझा सुविधा केन्द्र निर्माण भइरहेको छ, जहाँ भुवा प्रशोधनदेखि धागो कताइ, रंगाई, बुनाइ र तयारी वस्त्र उत्पादनसम्मका सम्पूर्ण प्रक्रिया एउटै छानामुनि हुनेछन्।
कोभिड–१९ महामारीले यस उद्योगलाई सबैभन्दा ठूलो अन्तरदृष्टि दिएको थियो। अन्तर्राष्ट्रिय व्यापार बन्द हुँदा पश्मिनाको माग र कच्चा पदार्थ दुवै ठप्प बने। त्यसपछि उद्योगीहरूले महसुस गरे—कच्चा पदार्थमा आत्मनिर्भर नभएसम्म उद्योग सुरक्षित रहन सक्दैन। यही चेतनाले ‘हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने’ भन्ने अभियान जन्मायो।
पश्मिना वास्तवमा हिमाली क्षेत्रमा पाइने विशेष प्रजातिको च्याङ्ग्राको पेट र छातीमुनि पलाउने अत्यन्त मसिनो भुवा हो, जसको मोटाइ १२ देखि १६ माइक्रोनसम्म मात्र हुन्छ। यही दुर्लभ भुवालाई स्थानीय भाषामा ‘खुलु’ भनिन्छ। यसबाट तयार हुने पछ्यौरा, गलबन्दी, स्विटर लगायतका वस्त्रहरू विश्व बजारमा विलासी उत्पादनका रूपमा चिनिन्छन्।

हिमाली भेगका स्थानीय समुदायसँगको छलफलमा ‘च्याङ्ग्रा’ शब्दको ऐतिहासिक पृष्ठभूमि पनि रोचक भेटिएको छ। स्थानीय भाषाअनुसार ‘च्याङ्ग’ अर्थात् चीन र ‘रा’ अर्थात् बाख्रा मिलेर ‘च्याङ्ग्रा’ शब्द बनेको मानिन्छ। समयसँगै यो शब्द नेपाली जनजीवनमा स्थापित भइसकेको छ र आज ‘च्याङ्ग्रा पश्मिना’ नेपाली पहिचानकै प्रतीक बनेको छ।
नेपाली पश्मिनाको व्यावसायिक इतिहास झन्डै पाँच दशक पुरानो छ। एक समय हिमाली क्षेत्रमा लाखौँ च्याङ्ग्रा र भेडा पालिन्थे र देशलाई आवश्यकभन्दा बढी भुवा स्वदेशमै उत्पादन हुन्थ्यो। तर, विश्व बजारमा नेपाली पश्मिनाको माग अचानक बढेपछि तत्कालीन व्यवसायीहरूले चीनबाट तयारी धागो आयात गर्न थाले। त्यसपछि स्वदेशी उत्पादन प्रणाली बिस्तारै कमजोर बन्दै गयो।
यस क्षेत्रलाई व्यवस्थित गर्न २०५६ सालमा नेपाल पश्मिना उद्योग संघ स्थापना भयो। संघले ‘च्याङ्ग्रा पश्मिना’ नामक सामूहिक व्यापार चिह्न दर्ता गर्यो, जुन अहिले विश्वका ४७ देशमा सुरक्षित छ। तर, आज विश्व बजारमा कृत्रिम कपडालाई समेत ‘पश्मिना’ भन्दै बिक्री गर्न थालेपछि नेपाली पश्मिनाको मौलिक पहिचान संकटमा परेको छ। धेरै नेपाली निर्यातकर्ताहरू अहिले ‘पश्मिना’ को सट्टा ‘क्यासमेयर’ लेख्न बाध्य भइरहेका छन्।
अब चुनौती अझ गम्भीर बन्दै गएको छ। सन् २०२६ पछि नेपाल अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछ। त्यसपछि नेपाली उत्पादनले पाउँदै आएको भन्सार छुट र विशेष सुविधा समाप्त हुनेछ। यस्तो अवस्थामा आयातित कच्चा पदार्थको भरमा विश्व बजारमा टिक्न सम्भव नहुने निष्कर्ष उद्योगीहरूको छ।
यही अवस्थालाई मध्यनजर गर्दै नेपाल पश्मिना उद्योग संघ र नेपाल फाइबर प्रोसेसिङले दीर्घकालीन नौबुँदे रणनीति लागू गरिरहेका छन्। मुस्ताङमा स्थायी भुवा संकलन केन्द्र स्थापना गरिएको छ भने मनाङ, मुस्ताङ र डोल्पाका कृषकहरूलाई वैज्ञानिक तरिकाले भुवा निकाल्ने तालिम दिइएको छ। आधुनिक काइँयो र सामग्री निःशुल्क वितरण गरिएको छ। बेलायती विशेषज्ञहरूको प्राविधिक अध्ययनपछि अत्याधुनिक मेसिनरी भित्र्याइएको छ। मुस्ताङका ८०० भन्दा बढी भुवाका नमुनाहरू अन्तर्राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ।
सैबीच हरिसिद्धिमा नेपालको पहिलो ‘डि–हेयरिङ प्लान्ट’ सञ्चालनमा ल्याइएको छ, जहाँ च्याङ्ग्राको भुवाबाट मोटो रौँ छुट्याउने कार्य गरिन्छ। यही केन्द्रमा प्रशोधन, कताइ, रंगाई, डिजाइन, प्रशिक्षण तथा उत्पादनसम्बन्धी आधुनिक संरचनाहरू स्थापना गर्ने योजना रहेको छ।
नेपालको इतिहासमै पहिलो पटक यस्तो प्रकारको अत्याधुनिक मेसिन तथा उपकरण जडान गरिएको हुँदा यसले नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय समुदायको समेत विशेष ध्यान आकर्षित गरेको छ। यहाँ विशुद्ध नेपाली च्याङ्ग्राको भुवा प्रशोधन तथा धागो उत्पादन गर्ने कार्य भइरहेको छ। तर उद्योगलाई आवश्यक पर्ने पर्याप्त कच्चा पदार्थ (Raw Materials) को अभावका कारण उक्त मेसिन वर्षभरि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन।
दीर्घकालीन लक्ष्य अनुसार सन् २०३० सम्म नेपालमा च्याङ्ग्राको संख्या १४ लाख पुर्याउने योजना छ। यसबाट पश्मिना, कार्पेट र फेल्ट उद्योगलाई आवश्यक सम्पूर्ण कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने लक्ष्य राखिएको छ। साथै अल्लो, सिस्नु, गाँजा, केतुकी र केराबाट प्राकृतिक रेशा उत्पादन गरी नयाँ वस्त्र उद्योग विकास गर्ने अवधारणा पनि अघि बढाइएको छ।
यो अभियान उद्योगीहरूको नाफामुखी योजना मात्र होइन, हिमाली क्षेत्रका किसानहरूको जीवनस्तर उकास्ने राष्ट्रिय अभियान हो। हिमाली भेगका विशाल खर्क र पाटनलाई उत्पादनसँग जोडेर पशुपालनलाई आधुनिक बनाउने हो भने त्यहाँका नागरिकहरूको आय, खाद्य सुरक्षा र जीवनस्तरमा उल्लेख्य सुधार आउने विश्वास गरिएको छ।
तर, यसका लागि राज्यको स्पष्ट नीति र सहकार्य अपरिहार्य छ। वन तथा निकुञ्ज सम्बन्धी पुराना नीतिमा सुधार, चरन क्षेत्रको व्यवस्थापन, नश्ल सुधार, पशु बिमा र मन्त्रालयहरूबीच समन्वित नीति निर्माण गर्न सके निजी क्षेत्रले एक्लै पनि यस क्षेत्रको रूपान्तरण सम्भव बनाउने दाबी उद्योगीहरूको छ।
यदि यो अभियान सफल भयो भने नेपाल मासु, ऊन, पश्मिना, दूध, घिउ र चिजमा आत्मनिर्भर बन्नेछ। अर्बौँ रुपैयाँ बराबरको आयात प्रतिस्थापन हुनेछ, विदेशी मुद्रा बचत हुनेछ, नयाँ उद्योग खुल्नेछन् र लाखौँ युवालाई स्वदेशमै रोजगारी सिर्जना हुनेछ। यसले वैदेशिक पलायन कम गर्नुका साथै नेपालको प्राकृतिक रेशा उद्योगलाई पुनर्जीवन दिनेछ।
‘भुवा देखि पहिरनसम्म’ को यो अभियान वास्तवमा आत्मनिर्भर नेपालको आर्थिक मार्गचित्र हो। राज्य, निजी क्षेत्र र हिमाली किसानबीचको सहकार्यले नेपाली पश्मिनालाई फेरि विश्व बजारमा प्रतिष्ठित बनाउने सम्भावना प्रबल देखिएको छ।
(लेखक नेपाल पश्मिना उद्योग संघका अध्यक्ष हुनुहुन्छ ।)