-भुपेन्द्र सिङ थेबे
हरेक राजनीतिक परिवर्तनसँगै नयाँ पुस्ता र नयाँ विचारको चर्चा हुन्छ। पछिल्ला वर्षहरूमा “जेन्जि आन्दोलन” जस्ता नयाँ सोच र परिवर्तनको आवाजले समाजमा बहस सिर्जना गरेको छ। यससँगै लामो समयदेखि राजनीतिमा सक्रिय रहेका दल र कार्यकर्तालाई “पुरानो” झोले भनेर आलोचना गर्ने प्रवृत्ति पनि बढेको छ। तर कुनै दल वा व्यक्तिलाई केवल पुरानो भएकै आधारमा मूल्याङ्कन गर्नु भने पर्याप्त छैन र नयाँ भएकै आधारमा ताज पहिर्याउन पनि उचित छैन।
राजनीतिमा अनुभवको पनि महत्त्व हुन्छ। धेरै पुराना दल र कार्यकर्ताले लोकतन्त्र, संविधान निर्माण वा विभिन्न राजनीतिक आन्दोलनमा योगदान दिएका छन्। त्यसैले उनीहरूको योगदानलाई पूर्ण रूपमा अस्वीकार गर्नु न्यायसङ्गत हुँदैन किनकि नेपाली राजनीतिमा त्याग र निष्ठाका थुप्रै पर्यायहरू हुनुहुन्छ, नेतृत्व तहमा नै त्यो पाउन सकिन्छ। नेपालको लामो शासन र विभिन्न कालखण्डको क्रान्तिको नेतृत्व गरेको दल नेपाली काङ्ग्रेसभित्र बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्णशमशेर, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाहरूले लिएनन्, खाली देश र जनताका लागि दिएका मात्र छन् भने नेपाली कम्युनिष्ट नेताहरू पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारी, सहाना प्रधान लगायत नेताहरूले देशका लागि दिएका मात्र छन्।
तर पछिल्लो समयमा नेपाली जनतामा उठेको कुरा भने मुख्य सुशासनको कुरासँगै देश विकास र रोजगार व्यवस्थाका लागि थियो। नेपालमा पछिल्लो समय सरकार खाली भ्रष्टाचार र सेटिङमा अर्थात् सरकार कसरी टिकाउने, पावर एक्सरसाइजमा मात्र देखिरह्यो, त्यसले गर्दा नागरिकमा सरकारप्रतिको भरोसा कमजोर बन्दै गएको कुरा सरकारलाई र सत्ता साझेदार दलहरूलाई पत्तै नहुने स्थितिमा पुगेको देखिन्छ। फलस्वरूप जेन्जि आन्दोलनमार्फत यही कुराहरूको आक्रोश नेपाली जनताले दिएका हुन्। जेन्जि युवाहरूको त धेरै माग थिएन तर आन्दोलन कुनै न कुनै रूपमा नेपालमा हुनै थियो, त्यो माध्यम जेन्जि आन्दोलन बन्न पुग्यो। यसको मुख्य समस्या नेपाली दलहरूमा धेरै नेताहरू त होइनन् तर केही नेताहरू पञ्चायती राजा वा राणाकालीन राणाहरूको शक्ति र सामीप्यताबाट आएको जस्तै शैली देखिनु पनि एउटा कारण बन्न पुग्यो।
त्यसकारण पुरानो दलभित्र निश्चित व्यक्तिहरूको स्वार्थ र लोभपापले गर्दा आज पनि निष्ठाको राजनीति गर्ने हजारौँ कार्यकर्ताहरूमा एक खालको नैराश्यता छाइरहेको छ। जेन्जि आन्दोलनमा नेपाली जनता उठेर नेता-कार्यकर्ताको घर जलाउनु र कुट्नुले पनि कार्यकर्ता पङ्क्तिमा निराशा छाइरह्यो। सबै नेता दोषी त थिएनन् र छैनन् तर राज्य सञ्चालन गर्ने दलहरूको हैसियतमा देखिनुले लामो समय देश र जनताका लागि त्याग गर्ने नेता-कार्यकर्तामा पूर्ण असर पुगेको छ भने नयाँ भन्नेहरूको भाष्यले हजारौँ इमानदार र निष्ठाका कार्यकर्ता र नेताहरूलाई केही असहज बनाएको छ।
जेन्जि आन्दोलनलाई हेर्दा नेपालमा मात्र भएर सत्ता ढलेको होइन, यहाँको जस्तै जस्तै समस्याहरू भोग्ने हाम्रो छिमेकी देशहरू दक्षिण एसियाली श्रीलङ्का, बङ्गलादेशमा र अफ्रिकी देश मेडागास्करमा सत्ता ढल्ने गरी नै भएको हो भने आन्दोलनले सत्ता नढलेका देशहरू पनि छन्, जुन केन्या, सर्बिया, इन्डोनेसिया, मोरक्को, फिलिपिन्स, पेरु हुन्। कुनै देशमा युवाहरूको र त्यहाँका जनताको आवाज बेलैमा सम्बोधन भएर सत्ता टिक्यो तर जनताको आक्रोश र पिर नबुझ्ने देशहरू जेन्जिका नामबाट सत्ताच्युत हुन पुगेका छन् भने नेपालमा जेन्जि आन्दोलनपछि नेपाली राजनीतिमा नयाँ पुस्ताको सहभागिता र परिवर्तनको माग थप बलियो भएको छ। सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म पुराना राजनीतिक दलहरूको कार्यशैलीमाथि प्रश्न उठ्दै गर्दा यसले लामो इतिहास बोकेको राजनीति गर्दै आएका दलहरूलाई आफ्ना नीति, नेतृत्व र जनतासँगको सम्बन्धबारे पुनर्विचार गर्नुपर्ने अवस्था भने सिर्जना गरेको छ।
नयाँ पुस्ताको असन्तुष्टि र वैकल्पिक राजनीतिक शक्तिप्रतिको आकर्षणले पुराना दलहरूमा दबाब बढाएको छ। यही कारण सङ्गठन सुदृढीकरण, नयाँ अनुहार अगाडि ल्याउने र जनविश्वास पुनः प्राप्त गर्ने दबाब भने बढेको छ।
अर्कोतर्फ, नयाँ पुस्ताले उठाएका प्रश्नहरू पनि महत्त्वपूर्ण छन्। सुशासन, पारदर्शिता, जवाफदेहिता, रोजगारी, शिक्षा र स्वास्थ्य जस्ता विषयमा सुधारको माग लोकतान्त्रिक समाजका लागि स्वाभाविक हो। यदि पुराना दलहरूले जनअपेक्षा अनुसार काम गर्न सकेनन् भने नयाँ राजनीतिक शक्ति र नयाँ विचारका लागि ठाउँ बन्नु पनि स्वाभाविक प्रक्रिया हो।
यद्यपि, सबै पुराना दलहरू निराश भएका छन् भन्ने निष्कर्ष निकाल्न चाहिँ मिल्दैन, अझै पनि स्थानीय, प्रदेश र सङ्घीय तहमा प्रभावशाली राजनीतिक शक्ति हुन्। तर नयाँ पुस्ताको अपेक्षा र बदलिएको राजनीतिक वातावरणले नयाँ ढङ्गले काम गर्नुपर्ने चुनौती भने आएको छ।
जेन्जि आन्दोलनले पुराना दलहरूलाई समाप्त गरेको होइन, तर जनअपेक्षा, सुशासन र उत्तरदायित्वका विषयमा थप गम्भीर बन्नुपर्ने सन्देश दिएको छ। लोकतन्त्रमा यस्ता आन्दोलनहरूले राजनीतिक दलहरूलाई आत्मसमीक्षा गर्ने अवसर पनि प्रदान गर्छन्।
लोकतन्त्रमा अन्ततः निर्णय गर्ने अधिकार नागरिकसँग हुन्छ। मतदाताले काम, नीति, इमानदारी र परिणामका आधारमा दल र उम्मेदवारको मूल्याङ्कन गर्नु लोकतान्त्रिक अभ्यासको मूल आधार हो। “पुरानो” वा “नयाँ” भन्ने मात्र आधार पर्याप्त हुँदैन; वास्तविक प्रश्न भनेको कसले राम्रो शासन र जनहितमा काम गर्न सक्छ भन्ने हो।
राजनीतिक बहस तथ्य, नीति र परिणाममा आधारित हुनुपर्छ। पुरानो भन्दै सबैलाई अस्वीकार गर्नु वा नयाँ भन्दै सबैलाई स्वतः उत्कृष्ट मान्नु दुवै अतिवादी दृष्टिकोण हुन सक्छ। लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धा, रचनात्मक आलोचना र नागरिकको सचेत निर्णय नै देशको प्रगतिका लागि सबैभन्दा महत्त्वपूर्ण आधार हो।