सुरेन्द्र सुवेदी/काठमाडौं
गद्दी आरोहण वा राजकीय ठाँटभन्दा बाहिर निस्केर जनताको सुखदुःखमा सारथि बन्न सकिन्छ भन्ने एउटा उत्कृष्ट उदाहरण हो— हिमानी ट्रष्ट अर्थात हिमानी कोष।
पूर्व अधिराजकुमारी हिमानी राज्यलक्ष्मी देवी शाहको अध्यक्षता र पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहको संरक्षकत्वमा २०६७ मा स्थापित यो गैरनाफामूलक, गैरराजनीतिक र गैरसरकारी संस्थाले नेपाली समाजको तल्लो तहसम्म पुगेर परोपकारी कार्य गर्दै आएको छ। जागरुक समाज, समुन्नत भविष्यको मूल नारा बोकेको यस संस्थाले मेचीदेखि महाकालीसम्मका ५३ भन्दा बढी जिल्लामा १ हजार ३ सयभन्दा बढी स्वयंसेवकहरूको बलियो सञ्जालमार्फत सेवा प्रवाह गरिरहेको छ।

संस्थाले स्वास्थ्य, शिक्षा, वातावरण, सामाजिक विकास र जीविकोपार्जन सुधार जस्ता मुख्य पाँचवटा क्षेत्रलाई आफ्नो प्राथमिकतामा राखेर कार्य गर्दै आएको छ। स्थापना कालदेखि हालसम्म ट्रष्टले गरेका प्रमुख कार्यहरू र यसको ऐतिहासिक माइलस्टोनलाई यसरी नियाल्न सकिन्छ ।
स्थापनाको सुरुवाती वर्षमै ट्रष्टले दोलखामा तामाकोशी पुलको घेराबारा, बृहत् स्वास्थ्य शिविर र काठमाडौँ तथा भक्तपुरका अनाथालयहरूमा साइकल वितरण गरेर आफ्नो उपस्थिति जनाएको थियो।
सन् २०१२ मा दोलखाको नाम्दुमा खानेपानी आयोजना सम्पन्न गर्नुका साथै पश्चिम नेपालका बाढीपीडितहरूलाई द्रुत राहत सामग्री वितरण गरिएको थियो। सन् २०१३ मा दोलखामा विद्यालय भवन निर्माण, खानेपानी ट्याङ्की तथा पाइप जडान र जोरपाटीका अपाङ्गता भएका व्यक्तिहरूलाई मेडिकल बेड र खाद्यान्न वितरण जस्ता महत्त्वपूर्ण कामहरू सम्पन्न भए।
सन् २०१४ मा एम्बुलेन्स तथा ह्विलचेयर वितरण गरेको ट्रष्टले सन् २०१५ को विनाशकारी भूकम्पका बेला देशका अति प्रभावित जिल्लाहरू— भक्तपुर, ललितपुर, काठमाडौँ, धादिङ, सोलुखुम्बु, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट, गोरखा, ओखलढुङ्गा र सिन्धुपाल्चोकमा पुगेर व्यापक राहत कार्यक्रम सञ्चालन गर्यो।
यसै क्रममा गोरखाको पालुङटारस्थित श्री भवानी उच्च माध्यमिक विद्यालयको भवन पुनर्निर्माण गरियो। सन् २०१७ मा दार्चुला, धनगढी, टिकापुर, बारा, पर्सा र महेन्द्रनगरका बाढीपीडितका लागि ८ करोड रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा वितरण गरियो। सन् २०१८ मा राष्ट्रिय अस्पताल तथा क्यान्सर अनुसन्धान केन्द्रसँगको सहकार्यमा स्तन क्यान्सर सचेतना कार्यक्रम चलाइयो भने सन् २०२० को कोभिड–१९ महामारीको समयमा अनाथालयहरूमा रासन, झापा तथा मुगुमा न्यानो कपडा र काठमाडौँमा आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गरिए।

सन् २०२१ मा नेपालगन्जमा सिलाई मेसिन वितरण, जनकपुरमा पानी फिल्टर र काठमाडौँका सांस्कृतिक सम्पदाहरूको सरसफाइ गरियो। सन् २०२२ मा स्याङ्जामा वाटर फिल्टर र धरानका विद्यार्थीलाई सेल्फ(फिल्ट्रेशन बोतल बाँडियो। सन् २०२३ मा जुम्लाका बालबालिकाहरूका लागि ५० लाख रुपैयाँ बराबरको ओछ्यान, स्टेसनरी, विद्यालय पोसाक, खाद्यान्न र संगीतका सामग्रीहरू प्रदान गरियो।
यस्तै, चितवनका विद्यार्थीलाई न्यानो कपडा र दलचोकीमा वृक्षारोपण गरियो। ट्रष्टले आफ्नो सेवालाई नेपालमा मात्र सीमित नराखी सन् २०२० मा अष्ट्रेलिया र सन् २०२१ मा अमेरिकामा आफ्ना अन्तर्राष्ट्रिय च्याप्टरहरू समेत स्थापना गरिसकेको छ।
मानवताको सेवामा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै सन् २०२३ मा क्राउन प्रिन्सेस हिमानी शाहलाई अन्तर्राष्ट्रिय प्रतिष्ठित गुसी पिस प्राइज’ बाट सम्मानित गरियो, जसले ट्रष्टको गरिमालाई विश्वस्तरमा झनै उच्च बनाएको छ।
भविष्यका लागि ट्रष्टले प्राकृतिक विपत्तिको समयमा नागरिकलाई सुरक्षित राख्न ‘बाढी उद्धार आश्रयस्थल’ निर्माण गर्ने, ‘स्मार्ट भिलेज’ को अवधारणा विकास गर्ने, जुम्लामा एउटा उदाहरणीय बर्थिङ सेन्टर स्थापना गरी देशका अन्य दुर्गम क्षेत्रमा विस्तार गर्ने र थप विद्यालयहरूको भौतिक पूर्वाधार सुधार गर्ने जस्ता महत्त्वाकांक्षी दूरदृष्टि अघि सारेको छ।
बालअधिकारको रक्षा, ज्येष्ठ नागरिकको स्याहार, गरिबी निवारण र स्वच्छ वातावरण निर्माणका लागि हिमानी ट्रष्टले चालेका यी कदमहरू नेपाली समाजका लागि प्रेरणाको स्रोत बनेका छन्।
प्रतिक्रिया दिनुहोस्