–वासुदेवकृष्ण शास्त्री ‘अथर्व’
नेपालका चार कैलाश भन्नाले यहाँका चारवटा अत्यन्तै पवित्र हिमाली हिमशृङ्खलाहरूलाई बुझाउँछ, जसलाई सनातन परम्परामा देवअधिराज भगवान् शिवको पावन निवासस्थान माउन्ट कैलाश (कैलाश पर्वत) को फरक-फरक आध्यात्मिक अभिव्यक्ति र प्रतीकात्मक रूप मानिन्छ। हिमाली सभ्यता, शैवशाक्त परम्परा, योग साधना, ध्यान, तपस्या र स्थानीय जनविश्वासमा यी पर्वत शृङ्खलाहरूको विशिष्ट धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक महत्त्व रहँदै आएको छ।
प्राचीन कालदेखि नै हिमालय क्षेत्रलाई देवभूमि, ऋषिमुनि, योगी र सत्यका साधकहरूको तपोभूमिको रूपमा श्रद्धा गरिँदै आएको छ। नेपालको हिमाली क्षेत्र प्राकृतिक सौन्दर्यको भण्डार मात्र नभएर आध्यात्मिक चेतना, ध्यान, योग र तान्त्रिक परम्पराको जीवित केन्द्र पनि हो। यही पावन हिमाली दृष्टिकोणभित्र नेपालका चार प्रमुख हिमशिखरहरूलाई चार कैलाशको रूपमा अत्यन्तै आदरपूर्वक स्मरण गरिन्छ।
चार कैलाशको आध्यात्मिक महिमा
यी चार कैलाश केवल हिउँका थुप्राहरू वा भौगोलिक चुचुरा मात्र होइनन् । यिनीहरू हिमाली सभ्यता, अध्यात्म, ध्यान, योग, प्रकृति पूजा र दैवी चेतनाका जीवन्त प्रतीक हुन्। यी पर्वतहरूले मानव र प्रकृतिबीचको गहिरो आध्यात्मिक सम्बन्धलाई प्रतिविम्बित गर्छन्।
हजारौँ वर्षदेखि हिमालयलाई सिद्ध पुरुष, योगी, तपस्वी र आत्मज्ञानीहरूको आश्रयस्थल मानिन्छ। नेपालको हिमाली संस्कृतिमा आत्मसाक्षात्कार र आध्यात्मिक अनुशासनको यो अविच्छिन्न परम्परा आज पनि उत्तिकै जीवन्त छ। महाकवि कालिदासले कुमार संभवम्मा लेखेका छन् ।
अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराजः
यो प्राचीन श्लोकले स्पष्ट पार्छ कि हिमालय केवल भूगोल मात्र होइन, बरु दैवी ऊर्जा, उच्च चेतना र ईश्वरको प्रत्यक्ष उपस्थितिको केन्द्र हो।

१ धवल कैलाश- धौलागिरी हिमाल
धवल कैलाशको रूपमा धौलागिरी हिमाललाई चिनिन्छ। धवल शब्दको अर्थ सेतो, स्वच्छ, शुद्ध वा देदीप्यमान भन्ने हुन्छ। अनन्तकालदेखि सेतो हिउँको च्यादर ओढेर ठिंग उभिएको धौलागिरीलाई पवित्रता, मौनता र शिव चेतनाको प्रतीक मानिन्छ। हिमाली शैव परम्परामा यसलाई ध्यान र गहिरो मानसिक शान्तिको साधना गर्ने सर्वोत्तम स्थलको रूपमा पुजिन्छ। विश्वकै सर्वोच्च शिखरहरूमध्येको एक धौलागिरीको यो अद्वितीय सेतो रूपले दैवी ऊर्जा प्रस्फुटित गर्ने जनविश्वास छ। स्थानीय हिमाली समुदायले यस हिमाललाई आत्मिक शक्ति र ईश्वरको पवित्र निवासस्थानका रूपमा परापूर्वकालदेखि सम्मान गर्दै आएका छन्।

२ श्वेत कैलाश- सगरमाथा
श्वेत कैलाशको सम्बन्ध विश्वको सर्वोच्च शिखर सगरमाथासँग जोडिएको छ। श्वेतको अर्थ पनि सेतो र पावन हुन्छ, जसले आत्मिक प्रकाश, शुद्धता र सांसारिक बन्धनभन्दा माथिको अवस्थालाई सङ्केत गर्छ। सगरमाथा केवल भौतिक उचाइको प्रतीक मात्र होइन, यो त मानवीय चेतनाको उच्चतम अवस्था र दैवी उचाइको विम्ब पनि हो। हिमाली संस्कृति र दर्शनमा सगरमाथालाई पृथ्वी र स्वर्गलाई जोड्ने एउटा दिव्य स्तम्भको रूपमा हेरिन्छ। बौद्ध तथा शैव दुवै परम्परामा यो उत्तिकै पूजनीय छ र स्थानीय समुदायले यसलाई ब्रह्माण्डीय ऊर्जाको केन्द्र मान्दछन्।

३ स्वर्ण कैलाश- कञ्चनजङ्घा हिमाल
स्वर्ण कैलाश भन्नाले पूर्वी नेपालमा अवस्थित कञ्चनजङ्घा हिमाललाई बुझाउँछ। स्वर्ण वा कञ्चनको अर्थ सुनौलो भन्ने हुन्छ। सूर्योदय र सूर्यास्तको समयमा सूर्यका कलिला किरणहरू यसको हिमचुचुरामा पर्दा यो हिमाल सुन जस्तै दन्किन्छ। यो अलौकिक दृश्यलाई प्रकृतिमा ईश्वरको प्रत्यक्ष प्रकाश र पवित्र ऊर्जाको अभिव्यक्तिका रूपमा लिइन्छ। कञ्चनजङ्घाले सौन्दर्य, समृद्धि, आध्यात्मिक चमक र प्राकृतिक सद्भावको प्रतिनिधित्व गर्दछ। पूर्वी नेपालको हिमाली संस्कृतिमा यस हिमाललाई दैवी शक्ति र प्रकृतिको शुद्धतम रूप मानेर परम्परागत रूपमा पूजाआजा गर्ने चलन छ।

४ महा कैलाश- गौरीशङ्कर हिमाल
महा कैलाशको रूपमा गौरीशङ्कर हिमाललाई श्रद्धा गरिन्छ। यसको नाममै दुई दिव्य शक्ति निहित छन्- गौरी अर्थात् जगन्माता भगवती पार्वती र शङ्कर अर्थात् कल्याणकारी भगवान् शिव। यसरी गौरीशङ्कर हिमालले शिव र शक्तिको परम मिलन तथा ब्रह्माण्डको पुरुष र प्रकृति (सकारात्मक र नकारात्मक ऊर्जा) को सन्तुलनलाई दर्शाउँछ। हिन्दु र बौद्ध दुवै परम्परामा यो हिमाल अत्यन्तै पवित्र मानिन्छ। हिमाली अध्यात्ममा गौरीशङ्करलाई सद्भाव, सन्तुलन, ध्यान, निश्छल प्रेम र आध्यात्मिक शक्तिको स्रोत मानिन्छ। यसको भव्य स्वरूपले साधक र तीर्थयात्रीहरूमा गहिरो भक्तिभाव र ध्यानको चेतना जागृत गराउँछ।

मूल कैलाश र नेपालका चार कैलाशको सम्बन्ध
सामान्यतया ‘कैलाश’ भन्नाले तिब्बतमा अवस्थित कैलाश मानसरोवर र भगवान् शिवको परम धामलाई बुझाउँछ। हिन्दु, बौद्ध, जैन र बोन परम्परामा यसलाई विश्वकै सबैभन्दा पवित्र आध्यात्मिक केन्द्र मानिन्छ। वैदिक र पौराणिक शास्त्रहरूले कैलाशलाई सृष्टिको केन्द्र र ब्रह्माण्डीय ऊर्जाको मुख्य स्रोतको रूपमा व्याख्या गरेका छन्।
यद्यपि मुख्य कैलाश पर्वत तिब्बतमा रहे पनि नेपालभित्रका यी चार हिमाली क्षेत्रहरूलाई तिनकै दिव्य रूप र विस्तार मानिन्छ। नेपाली लोकविश्वास, रैथाने संस्कृति र धार्मिक परम्पराले यी हिमालहरूलाई जीवन्त ईश्वरको रूपमा आत्मसात् गरेका छन्। प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व, सांस्कृतिक सम्पदा र जैविक विविधताका हिसाबले पनि यी चार कैलाश क्षेत्रहरू संसारकै अनमोल धरोहर हुन्।
शास्त्रोक्त प्रमाण र श्लोकहरू
नेपालका यी चार कैलाश र तिब्बतको एक कैलाश गरी कुल पाँच कैलाशको महिमा पुराणहरूमा यसरी वर्णन गरिएको छ ।
हिमवच्छानुनि श्रेष्ठे मानो नाम सरोवरः ।
पूर्वं – हिमवत्खण्ड, अध्याय १५, श्लोक २२
अर्थात्, हिमालयको पावन काखमा मानसरोवर नामको श्रेष्ठ सरोवर अवस्थित छ, जसलाई सृष्टिकर्ता ब्रह्माले प्राचीन कालमा समस्त लोकको कल्याणका लागि सिर्जना गरेका थिए।
चत्वारश्चात्र कैलाशा नेपाले सन्ति विश्रुताः ।
एकस्त्रिविष्टपे रम्ये राजते मानसे शुभे ॥
आहत्य पञ्चकैलाशाः शम्भुना परष्कभविताः ।
येषाम् दर्शनमात्रेण जनो मुच्येत पातकात् ॥
कैलाशस्मरणं पुण्यं दर्शनं पापनाशबलबm ।
ध्यानं च दोषहरणं जपः सर्वार्थसिद्धिदः ॥
प्रातः सायं पठन् मर्त्यः सर्वबाधां तरिष्यति ।
महेश्वरप्रसादेन भुक्तिं मुक्तिं च विन्दति ॥
-आर्षपुराण, दिव्यखण्ड १।२१–२४
श्लोकको भावार्थ
नेपाल भूमिमा चारवटा सुप्रसिद्ध कैलाशहरू रहेका छन् भने एक पवित्र कैलाश तिब्बतको रमणीय मानसरोवर क्षेत्रमा सुशोभित छ। यी पाँचै वटा कैलाशहरू स्वयम् भगवान् शिवद्वारा सेवीत र अधिष्ठित छन्। यी पञ्चकैलाशको दर्शन मात्रै गर्नाले पनि मानिस सबै प्रकारका पाप र बन्धनबाट मुक्त हुन्छ। कैलाशको स्मरण मात्र गर्दा पनि पुण्य मिल्छ, दर्शनले पापको नाश गर्छ, ध्यान गर्दा दोषहरू हटेर जान्छन् र यसको नाम जप गर्दा सर्वार्थ (सबै इच्छा) सिद्धि हुन्छ। जसले बिहान र बेलुका यसको पाठ वा स्मरण गर्छ, उसले जीवनका सम्पूर्ण बाधाहरूलाई सहजै पार गर्दछ र परमेश्वर महादेवको अनुग्रहले यस लोकमा सुख–समृद्धि (भुक्ति) र परलोकमा मोक्ष (मुक्ति) प्राप्त गर्दछ।
पञ्चकैलाशको दर्शन र आध्यात्मिक रूपान्तरण
सनातन हिन्दु परम्परामा पञ्चकैलाशको यो अवधारणा केवल भूगोल घुम्ने वा हिमाल हेर्ने विषय मात्र होइन। यो त आन्तरिक शुद्धीकरण, ध्यान, आत्मसंयम र परमात्माप्रतिको पूर्ण समर्पणको मार्ग हो। पौराणिक मान्यता अनुसार यी पाँचै स्थान शिव-शक्ति ऊर्जा, तपस्या र प्रकृतिको परम चेतनाका केन्द्र हुन्।
शास्त्रले ‘पञ्चकैलाशको दर्शनले पापबाट मुक्ति दिन्छ’ भन्नुको गहिरो अर्थ मानिसलाई सत्य, न्याय, सदाचार र आत्मसमीक्षाको बाटोमा डोर्याउनु हो। यहाँ ‘पाप’ भन्नाले केवल धार्मिक नियम उल्लंघन मात्र होइन, मानव मनभित्र रहने लोभ, मोह, क्रोध, अहङ्कार, हिंसा र नकारात्मक प्रवृत्तिहरू हुन्। जब कुनै व्यक्ति भक्तिभाव, सेवा र ध्यानका साथ यी पवित्र ऊर्जायुक्त क्षेत्रहरूको सामीप्यमा पुग्छ, तब उसको चञ्चल मन शान्त, शुद्ध र सकारात्मक बन्दछ।
त्यसैगरी, कैलाश नामको उच्चारण र स्मरण मात्र पनि आफैँमा एउटा शक्तिशाली साधना हो। सनातन पद्धतिमा मन्त्र वा नाम जपलाई मन एकाग्र गर्ने, मानसिक अशान्ति हटाउने र आन्तरिक ऊर्जा जगाउने अचुक उपाय मानिन्छ। मूल मन्त्र ‘ॐ नमः शिवाय’ को निरन्तर जप र यी पवित्र कैलाशहरूको नियमित स्मरणले मानिसलाई भय, शोक र बाधाहरूबाट मुक्त राख्छ।
यस पावन प्रसङ्गमा भुक्ति र मुक्ति दुवैको चर्चा गरिएको छ। भुक्ति भनेको यस धर्तीको जीवनमा चाहिने सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि हो भने मुक्ति भनेको जन्म र मरणको चक्रबाट छुटेर शाश्वत शान्ति अर्थात् मोक्ष प्राप्त गर्नु हो। औढरदानी, करुणामयी भगवान् भोलैनाथ संसारी सुख र परम मोक्ष दुवैका दाता हुनुहुन्छ। तसर्थ, प्रकृतिको काखमा रहेका यी चार कैलाश र मूल कैलाशप्रति राखिने अगाध श्रद्धा, ध्यान र अनुशासनले नै मानिसलाई जीवनमा सच्चा आनन्द र अन्ततः आध्यात्मिक सर्वोच्चताको शिखरमा पुर्याउँछ।