सुरेन्द्र सुवेदी/काठमाडौं
नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन र देशमा मोवाइल प्रविधिको संस्थागत विकास गर्न अग्रणी उद्यमी दीपक मलहोत्राको योगदान महत्त्वपूर्ण रहेको छ। सन् १९७० को दशकको अन्त्यतिर सामान्य व्यापारबाट आफ्नो व्यावसायिक यात्रा सुरु गर्नुभएका मलहोत्रा आज नेपालको प्रतिष्ठित व्यावसायिक घराना आईएमएस ग्रुपको अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्षका रूपमा स्थापित हुनुहुन्छ।
मलहोत्राले सन् १९९३ मा इन्टरनेसनल मार्केटिंग सर्भिस (आईएमएस) को स्थापना गरी नेपाली बजारमा प्रविधि र सेवाको आधुनिक युगको सुरुवात गर्नुभएको थियो। सन् १९९८ मा नेपालमा पहिलो पटक आधिकारिक रूपमा मोवाइल फोन भित्र्याउने श्रेय मलहोत्रा र उहाँकै कम्पनीलाई जान्छ। प्रविधिको पहुँच र सञ्चारको आवश्यकतालाई बुझेर चालेको सोही कदमले नेपालको दूरसञ्चार क्षेत्रमा ठुलो क्रान्ति ल्यायो।
सन् २००१ मा विश्वप्रसिद्ध ब्रान्ड सामसुङसँग मोवाइलको नेपालका लागि आधिकारिक राष्ट्रिय वितरक बनेपछि मलहोत्राको व्यावसायिक उचाइ अझ थपियो। उहाँकै रणनीतिक नेतृत्वका कारण सैमसंग नेपाली मोवाइल बजारमा नम्बर एक ब्रान्डका रूपमा स्थापित हुन सफल भयो। हाल आईएमएस ग्रुप मोवाइल वितरणमा मात्र सीमित नरही अटोमोवाइल्स (साङयोङ मोटर्स), रियल स्टेट, जलविद्युत, ई–कमर्स (स्मार्टडोको), स्वास्थ्य, बैंकिङ, पर्यटन, कृषि तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन सेवा (आईएमएस एयरपोर्ट सर्भिस) जस्ता २० भन्दा बढी विविध क्षेत्रमा विस्तारित भइसकेको छ।
व्यावसायिक सफलतासँगै मलहोत्राले देशको आर्थिक नीति निर्माण र निजी क्षेत्रको मनोबल उच्च बनाउन पनि निरन्तर पैरवी गर्दै आउनुभएको छ। नेपाल चेम्बर अफ कमर्सको नेतृत्वदायी भूमिकामा रहँदै उहाँले सरकारलाई करको दायरा फराकिलो बनाउन, राजस्व प्रशासनलाई झन्झटमुक्त गर्न र अनौपचारिक अर्थतन्त्रलाई औपचारिक दायरामा ल्याउन करका दरहरूमा परिमार्जन गर्नुपर्ने सुझावहरू दिँदै आउनुभएको छ। करको दर व्यावहारिक हुँदा व्यवसाय पारदर्शी हुने र राज्यको कोषमा समेत बढी राजस्व संकलन हुने उहाँको दृढ विश्वास छ।
व्यापार र अर्थतन्त्रमा पुर्याएको योगदानका अतिरिक्त मलहोत्रा सामाजिक उत्तरदायित्वमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ। उहाँले स्थापना गर्नुभएको डीएम फाउन्डेसन मार्फत जेहेन्दार तथा विपन्न बालबालिकाहरूलाई छात्रवृत्ति प्रदान गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने जस्ता परोपकारी कार्यहरू निरन्तर भइरहेका छन्।
सामान्य पृष्ठभूमिबाट उठेर नेपालको अग्रणी बहुराष्ट्रिय व्यावसायिक साम्राज्य खडा गर्न सफल दीपक मलहोत्राको यो यात्रा नवपुस्ताका नेपाली उद्यमीहरूका लागि सदैव प्रेरणाको बलियो स्रोत बनेको छ।
प्रतिक्रिया दिनुहोस्