काठमाडौं – सुवेदी कल्याण प्रतिष्ठान नेपाल (सुकल्प) ले आफ्नो केन्द्रीय भवन (कुल मन्दिर) को शिलान्यास तथा केन्द्रीय समितिको पूर्ण बैठक आगामी असार २८ गते आइतबार गर्ने निर्णय गरेको छ। अनामनगर, काठमाडौंमा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठानको केन्द्रीय समिति र बागमती प्रदेश समितिको संयुक्त बैठकले संस्थाको संस्थागत विकास र शालग्राम तीर्थस्थल निर्माणका सन्दर्भमा विभिन्न महत्वपूर्ण र ऐतिहासिक निर्णयहरू गरेको हो।
सुकल्पका महासचिव खगेन्द्र सुवेदीका अनुसार आगामी असार २८ गते सुकल्प केन्द्रीय समितिको पूर्ण बैठक बस्नेछ भने सोही दिन सुकल्प केन्द्रीय भवन (कुल मन्दिर) को शिलान्यास समेत गरिनेछ।
प्रतिष्ठानले भवन निर्माण र आर्थिक व्यवस्थापनलाई व्यवस्थित रूपमा अगाडि बढाउन केन्द्रीय समितिलाई नै मूल निर्माण समिति र आर्थिक समितिको जिम्मेवारी सुम्पेको छ। यसका साथै दैनिक कार्य सम्पादन र विशेष जिम्मेवारीका लागि छुट्टाछुट्टै उपसमितिहरू समेत गठन गरिएको छ, जसअन्तर्गत निर्माण उपसमितिको संयोजकमा उप–महासचिव दिनेश सुवेदी र आर्थिक उपसमितिको संयोजकमा अनिता पौडेल सुवेदीलाई चयन गरिएको छ।
यसपटक प्रतिष्ठानले शालग्राम तीर्थस्थल निर्माणका लागि एउटा विशिष्ट र पवित्र कार्ययोजना अघि सारेको छ। मुक्तिनाथ क्षेत्रको दामोदर कुण्डबाट पवित्र शालग्राम संकलन गरी धामसम्म ढुवानी गरेर ल्याउन प्रति शालग्राम ११ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
यस ऐतिहासिक पुण्य कार्यमा आर्थिक सहभागिता जनाउनका लागि प्रतिष्ठानले प्रत्येक समिति पदाधिकारी, सदस्यहरू तथा समग्र सुवेदी बन्धुहरूलाई आफू, आफ्नो परिवार र अन्य इच्छुक व्यक्तिहरूबाट समेत शालग्राम संकलन तथा ढुवानी खर्च जुटाएर सुकल्पको बैंक खाता वा क्यूआर कोडमार्फत जम्मा गर्न विशेष आह्वान गरेको छ। यसरी संकलन भएको रकमबाट शालग्रामधाम निर्माणमा ऐतिहासिक योगदान पुग्ने विश्वास लिइएको छ।
आगामी असार २८ गते आयोजना हुने केन्द्रीय समितिको पूर्ण बैठक तथा कुल मन्दिर शिलान्यास समारोह ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर २ मा अवस्थित सुकल्पको आफ्नै निजी जमिनमा सम्पन्न हुनेछ। उक्त स्थान बालकुमारी पुलबाट रिङरोड बाहिर करिब ३ सय मिटरको दूरीमा मनहरा खोला किनारमा रहेको समुद्रन स्कुलसँगै अवस्थित छ।
प्रतिष्ठानले केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, पालिका तथा वडा समितिका सम्पूर्ण पदाधिकारीहरू र समस्त सुवेदी परिवारलाई यस गौरवमय तथा ऐतिहासिक समारोहमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा समेत गरेको छ।
प्रतिक्रिया दिनुहोस्