सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले सस्तो लोकप्रियता वा मिडियाबाजीमा नलागी आफ्नो जिम्मेवारी र कर्तव्यलाई दृढतापूर्वक पूरा गर्न तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न सबै तहका कमाण्डरहरूलाई सचेत रहन निर्देशन दिनुभएको छ।
उहाँले सशस्त्र प्रहरी बल नेपालभित्र पुरस्कार र दण्डको नीति कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिनुहुँदै राष्ट्र, संगठन र आमजनताको अपेक्षाअनुसार कार्यक्षेत्रमा खटिँदा कुनै पनि कमजोरी नगरी थप व्यावसायिकता र ऊर्जाका साथ जिम्मेवारी निर्वाह गर्न सबै कर्मचारीहरूलाई आग्रह गर्नुभयो। उहाँले आर्थिक पारदर्शिता, लैङ्गिक हिंसा तथा मानवअधिकारसम्बन्धी विषयमा शून्य सहनशीलताको नीति कडाइका साथ लागू गर्न समेत निर्देशित गर्नुभएको छ।
हालै सल्यान र जाजरकोटमा भएको कारबाहीको स्मरण गराउनुहुँदै महानिरीक्षक पौडेलले गल्ती गर्ने कमाण्डरमाथि आवश्यक कारबाही गरिएको बताउनुभयो। साथै, बीओपी नेचुङका कमाण्डरमाथि छानबिन भइरहेको तथा नेपाल एपीएफ स्कूल, कीर्तिपुरसम्बन्धी विषयमा पनि संगठनले सत्यतथ्य बुझ्ने प्रक्रिया अघि बढाएको जानकारी उहाँले दिनुभयो।
उहाँले मातहतका कर्मचारीहरूको मनोबल उच्च राख्दै समयमै समस्या र आवश्यकताको पहिचान गरी तल्लो तहसम्म प्रत्यक्ष सम्पर्कमा रहेर कार्य गर्नुपर्नेमा जोड दिनुभयो। यसका साथै मातहतका कर्मचारीका पीर, मर्का र गुनासाहरूलाई चेन अफ कमाण्डमार्फत समाधान गर्न समेत उहाँले निर्देशन दिनुभएको बलले जनाएको छ।
महानिरीक्षक पौडेलले फिल्डमा खटिने कर्मचारीहरूले नतिजामुखी कार्य गर्न सके राष्ट्र र संगठनको प्रतिष्ठा उच्च रहने मात्र नभई कमाण्डर र तल्लो तहबीचको सम्बन्ध पनि अझ मजबुत हुने उल्लेख गर्नुभयो। उहाँले संगठनका प्रत्येक राम्रा तथा पारदर्शी कार्यहरू जनस्तरमा प्रभावकारी रूपमा पुग्नुपर्नेमा समेत जोड दिनुभयो। यसैगरी, राजस्व चुहावट नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवैध चोरी–तस्करीविरुद्ध कडा रूपमा प्रस्तुत हुन र प्रतिबन्धित वस्तुहरू नेपाल प्रवेशमा रोक लगाउन थप सक्रियता देखाउन उहाँले कडा निर्देशन दिनुभयो।
महानिरीक्षक पौडेलले बाहिनी मुख्यालयहरूले मातहत युनिटहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। सीमा क्षेत्रमा परिचालित कर्मचारीहरूले सरोकारवाला निकाय र समकक्षीसँगको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा जेठ २६ गते आयोजित विशेष कार्यक्रममा महानिरीक्षक पौडेलले विभिन्न युनिटको कमाण्डमा खटिन लाग्नुभएका अधिकृतहरूलाई प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट यस्तो निर्देशन दिनुभएको हो। सोही अवसरमा विभागीय प्रमुखहरूले समेत आवश्यक निर्देशन तथा मार्गदर्शन प्रदान गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस्