अर्घाखाँचीको बागी वार्ड नम्बर ५ मा जन्मिएर हाल नयाँ दिल्लीलाई कर्मथलो बनाउँदै आएकी १५ वर्षीया सृष्टि अधिकारी नेपाली र भारतीय कला क्षेत्रमा एक उदयीमान नक्षत्रका रूपमा स्थापित हुन सफल भएकी छन्। बाल्यकालदेखि नै नृत्य, अभिनय र कलाप्रति गहिरो अभिरुचि राख्ने सृष्टिले मात्र ५ वर्षको उमेरमा सन् २०१५ मा आफ्नो जीवनको पहिलो स्टेज पर्फर्मेन्स गरेकी थिइन्। त्यसपछिका दिनमा लगातार कला क्षेत्रमा सक्रिय रहँदै उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो अब्बल प्रतिभा प्रदर्शन गरी नेपालीहरूको शिर उच्च बनाउँदै आएकी छन्।
सृष्टिको औपचारिक कला यात्राले सन् २०१८ मा एक नयाँ मोड लियो, जब उनी दिल्लीमा आयोजित प्रतिष्ठित ‘दिल्ली आइडल’ प्रतियोगितामा प्रथम रनर–अप घोषित भइन्। सोही वर्ष उनले अर्को चर्चित प्रतियोगिता ‘कला र प्रतिभाको खोज’ मा द्वितीय रनर–अपको उपाधि हासिल गरिन्।

यी सफलताहरूसँगै कला क्षेत्रमा उनको चर्चा चुलिन थाल्यो र दर्शकहरूले उनलाई चिन्न थाले। कोभिड महामारीको समयमा पनि उनले आफ्नो समयलाई रचनात्मक बनाउँदै रुमालबाट मास्क बनाउने तरिका सिकाएको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो, जसलाई विभिन्न सञ्चारमाध्यमहरूले प्रमुखताका साथ समाचार बनाएका थिए। उनले आफ्नो फेसबुक पेजमार्फत निरन्तर साना–साना नृत्यका भिडियोहरू अपलोड गर्दै गइन्, जसलाई दर्शकहरूले अत्यधिक रुचाए र हाल उनको फेसबुक पेजमा ३५ हजारभन्दा बढी फलोअर्स पुगिसकेका छन्।

नृत्य र अभिनयसँगै साहित्यमा पनि रुचि राख्ने सृष्टिले सन् २०२३ मा आयोजित भानुभक्त आचार्य कविता वाचन प्रतियोगितामा द्वितीय रनर–अपको स्थान हासिल गरेकी थिइन्। सन् २०२४ मा आयोजित इन्डो–नेपाल सुजन म्यूजिक अवार्ड्समा उनले प्रथम स्थान हासिल गर्दै आफ्नो प्रतिभाको दायरा झनै फराकिलो बनाइन्। सन् २०१९ मा दुईवटा तीजका गीतहरूमा अभिनय गरेर म्यूजिक भिडियोको यात्रा सुरु गरेकी सृष्टिले भारतमा अन्य दुईवटा म्यूजिक भिडियोहरूमा समेत काम गरिसकेकी छन्। यसैगरी सन् २०२५ मा आयोजित ुद फेस अफ नेपालु प्रतियोगिताको नृत्य विधामा उनी प्रथम रनर–अप बन्न सफल भइन्।
नेपालको लोकप्रिय सांस्कृतिक कार्यक्रम इन्द्रेणीसँग सृष्टिको विशेष सम्बन्ध रहँदै आएको छ। सन् २०२० मा इन्द्रेणी टिम भारत पुग्दा सृष्टिको उत्कृष्ट नृत्यबाट प्रभावित भएर उनलाई पहिलोपटक काठमाडौँ आमन्त्रण गरिएको थियो। इन्द्रेणीकै माध्यमबाट उनले नेपालका विभिन्न जिल्लाहरू जस्तै स्याङ्जा, पोखरा, पर्वत र तनहुँको भ्रमण गरी त्यहाँका स्टेज कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिने अवसर पाइन्। त्यसपछि सन् २०२४ मा दोस्रोपटक र हालै सन् २०२६ मा उनी तेस्रोपटक इन्द्रेणीको मञ्चमा विशेष प्रस्तुतिसहित देखा परिसकेकी छन्।

हालै सन् २०२६ मा नेपालमा सृष्टिको पहिलो आधिकारिक म्यूजिक भिडियो ‘म यसै खुसी छु’ सार्वजनिक भएको छ, जसलाई दर्शक तथा स्रोताहरूले निकै रुचाएका छन् र राम्रो प्रतिक्रिया दिइरहेका छन्। छोटो समयमै कला क्षेत्रमा थुप्रै उतारचढाव र सफलताहरू पार गरिसकेकी सृष्टि यतिबेला आफ्नो नयाँ साङ्गीतिक कोसेलीको तयारीमा व्यस्त छिन्। सानै उमेरमा आफ्नो अद्भूत क्षमताका कारण नेपाली र भारतीय दर्शकमाझ लोकप्रिय बनेकी सृष्टिको आगामी साङ्गीतिक यात्रा झनै सुखद र सफल रहने विश्वास गर्न सकिन्छ।
गणेश अधिकारी र देवि घर्ती मगरको संयुक्त श्वरमा गाएको गीत ‘म यसै खुसी छु’ मा सुरेश कोली र सृष्टि अधिकारीको भिडियोमा अभिनय रहेको छ । यो भिडियो राम्रो चलेको छ । १७ हजार बढीले यसमा टिकटक बनाइसकेका छन् । सृष्टि केही वर्षपछि नेपाल नै आउने र यहीँबाट आफ्नो कला यात्रा चलाउने बताउँछिन् । आफू भारतमा रहेपनि नेपालबाट ठूलो साथ र हौसला पाएको भन्दै सृष्टि सबै नेपालीप्रति भारतबाटै आभार व्यक्त गर्छिन् ।
प्रतिक्रिया दिनुहोस्