Advertisement GIF
एनआईसी एशिया बैंकको आग्रह : खातामा प्यान र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध

काठमाडौं । एनआईसी एशिया बैंक ले आफ्ना ग्राहकहरूलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) तथा इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।

बैंकले बुधबार जारी गरेको विज्ञप्तिमा खाताबाट काटिएको करको विवरण आयकर ऐन २०५८ बमोजिम नेपाल सरकारको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्न आवश्यक भएकाले ग्राहकहरूलाई प्यान अद्यावधिक गर्न आग्रह गरिएको जनाएको छ।

ग्राहकहरूले बैंकको पोर्टलमार्फत वा एनआईसी एशिया मोबैंक एपमा रहेको ‘PAN Update’ विकल्प प्रयोग गरी प्यान अद्यावधिक गर्न सक्नेछन्। साथै, नजिकको शाखा कार्यालयमा निवेदन दिएर पनि प्यान अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

बैंकका अनुसार निक्षेपकर्ताको ब्याज भुक्तानीबाट काटिएको करलाई ई–टीडीएस (E-TDS) रेकर्डमा समावेश गर्न प्यान अनिवार्य छ। प्यान अद्यावधिक भएपछि कर कट्टीसम्बन्धी विवरण स्वतः सम्बन्धित प्यानमा प्रविष्ट हुने र आयकर प्रणालीले अनुसूची १० मा कर कट्टीको विवरण मिलान गर्नेछ।

यसबाट ग्राहकहरूले कर कट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने बैंकको विश्वास छ। यद्यपि, प्यान अद्यावधिक नगरिएका कारण ई–टीडीएसमा ब्याज कर दाखिला नभएको वा त्यसपछि कर समायोजन गर्नुपर्ने अवस्था आएमा बैंक जिम्मेवार नहुने स्पष्ट गरिएको छ।

त्यसैगरी बैंकले ग्राहकहरूलाई आफ्नो खातामा रहेको इमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरेको छ। ग्राहकहरूले बैंकको भिडियो केवाईसी सेवा वा मोबैंक एपको ‘My Profile’ मा रहेको ‘Change Email’ विकल्पमार्फत इमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन्। आवश्यक परे शाखा कार्यालयमार्फत पनि यो सेवा लिन सकिने बैंकले जनाएको छ।

यसअघि प्यान उपलब्ध गराइसके पनि कर कट्टीको विवरण समावेश नभएको वा इमेल ठेगाना अद्यावधिक नभएको अवस्थामा नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ।