कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा तीन दिनसम्म सञ्चालन भएको ४६औँ राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले आफ्नो परम्परागत विरासतलाई जोगाउँदै ऐतिहासिक जित हासिल गरेको छ।
नेपाल एथलेटिक्स संघको आयोजना तथा कर्णाली प्रदेश खेलकुद परिषद्को विशेष सहयोगमा सम्पन्न प्रतियोगितामा आर्मीले उत्कृष्ट र कीर्तिमानी प्रदर्शन गर्दै समग्र विधातर्फ च्याम्पियन बन्ने गौरव प्राप्त गर्यो। राष्ट्रिय खेलकुदको मञ्चमा सधैँ अब्बल देखिँदै आएको आर्मीले यसपटक कुल १७ वटा स्वर्ण, १२ वटा रजत र ७ वटा कास्य पदक जित्दै कुल ३६ वटा पदकका साथ च्याम्पियनसिपको उपाधि आफ्नो पोल्टामा पारेको हो।
प्रतियोगिताको पदक तालिकामा अर्को विभागीय टोली नेपाल पुलिस क्लब ८ वटा स्वर्ण, ७ वटा रजत र ३ वटा कास्यसहित कुल १८ वटा पदक जितेर दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो भने प्रादेशिक टोलीहरूमध्ये उत्कृष्ट प्रदर्शन गरेको बागमती प्रदेशले २ वटा स्वर्ण, १ वटा रजत र १ वटा कास्य पदक प्राप्त गर्दै तेस्रो स्थान सुरक्षित गर्न सफल भयो।
प्रतियोगितामा कुल २८ वटा विधा समावेश गरिएका थिए, जसमा सातवटा प्रदेश र तीनवटा विभागीय टोलीसहित १० वटा टोलीका २ सय ४० खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबका १ सय २० महिला र १ सय २० पुरुष खेलाडीहरूले आफ्नो खेल कौशल प्रदर्शन गरेका थिए।
तीन दिनसम्म चलेको यो प्रतिष्पर्धात्मक खेलकुद महोत्सवमा प्रत्येक विधामा प्रथम स्थान हासिल गर्ने विजेता खेलाडीहरूलाई १५ हजार रुपैयाँ, दोस्रो हुने उपविजेतालाई १० हजार रुपैयाँ र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई ५ हजार रुपैयाँ नगद पुरस्कारका साथै भव्य ट्रफी, पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो।
यसपटकको च्याम्पियनसिप राष्ट्रिय कीर्तिमानहरू भङ्ग गर्ने मामिलामा निकै ऐतिहासिक र रोमाञ्चक रहन गयो, जहाँ खेलाडीहरूले वर्षौँ पुराना रेकर्डहरू ध्वस्त पारे। प्रतियोगितामा विशेष गरी महिला ४ सय मिटर दौड र ट्रिपल जम्प विधामा नेपाल पुलिस क्लबकी प्रख्यात खेलाडी जयरानी थारुको प्रदर्शन सनसनीपूर्ण रह्यो।
उनले ४ सय मिटरको दुरी मात्र ५७ दशमलग १९ सेकेन्डमा पूरा गर्दै यसअघि नवौँ राष्ट्रिय खेलकुदमा एपीएफकी रमिता थारुले कायम गरेको ५८ दशवलव १० सेकेन्डको कीर्तिमानलाई इतिहासको पानामा सीमित गरिदिइन्। जयरानीले यत्तिमै चित्त नबुझाई ट्रिपल जम्पतर्फ समेत १२ मिटर ४९ सेन्टिमिटरको दुरी पार गर्दै एथलेटिक्स इतिहासमा लामो समयदेखि केसरी चौधरीको नाममा सुरक्षित रहेको १२ मिटर २० सेन्टिमिटरको पुरानो कीर्तिमानलाई सहजै भंग गरिन्।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले पनि व्यक्तिगत विधामा मात्र नभई समूहगत विधामा समेत आफ्नो कीर्तिमानी यात्रालाई निरन्तरता दियो, जस अन्तर्गत महिला १६ सय मिटर रिले दौडमा आर्मीको टोलीले अभूतपूर्व दौड प्रदर्शन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखायो। त्यस्तै, पुरुष लङ जम्प विधामा आर्मीकै अर्का प्रभावशाली खेलाडी सलिम देवानले विष्फोटक प्रदर्शन गर्दै ७ मिटर ५८ सेन्टिमिटरको लामो जम्प गरे र यसअघि आठौँ राष्ट्रिय खेलकुदमा बनेको ७ मिटर ३२ सेन्टिमिटरको पुरानो रेकर्डलाई निकै ठूलो अन्तरले तोड्न सफल भए।
प्रतिक्रिया दिनुहोस्