Advertisement GIF
टेलिकमको सर्भर ह्याक गर्ने कर्मचारी ई–बिडिङ प्रकरणमा पुनः पक्राउ

नेपाल टेलिकमको सर्भर ह्याक गरी राजस्वमा क्षति पुर्‍याएको आरोपमा पाँच वर्षअघि पक्राउ परेका सरकारी कर्मचारी दिवाकर देउजा पुनः ई–बिडिङ ह्याक प्रकरणमा जोडिएका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन बोलपत्र प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काको विवरण हेरफेर गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई भोटाहिटीबाट पक्राउ गरेको हो।

धनकुटाको शहरी विकास तथा भवन कार्यालयमा कम्प्युटर अपरेटर पदमा कार्यरत रहँदा २०७७ मा पहिलोपटक पक्राउ परेका देउजाले यसपटक ठेक्काको अन्तिम समय सकिएपछि प्रणालीमा छिरेर बोलपत्रका डकुमेन्ट र आर्थिक प्रस्ताव संशोधन गर्ने गरेको खुलेको छ। उनले विभिन्न निर्माण व्यवसायीहरूसँग मिलेर रकम बार्गेनिङ गर्दै सबैभन्दा कम मूल्य कायम गरी ठेक्का हत्याउन सहयोग गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

यस संगठित अपराधमा अहिलेसम्म देउजासहित पूर्वमन्त्री एवं कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डेसहित १३ जना पक्राउ परिसकेका छन्। सीआईबीका अनुसार यो समूहले विगत केही वर्षदेखि ठूला ठेक्काहरूमा सेटिङ र ह्याकिङमार्फत अनधिकृत लाभ लिँदै आएको थियो।