Advertisement GIF
कल्पवृक्ष
वैशाख २२ मंगलबार, ८:४५ पूर्वाह्न
सुदूरपश्चिममा सशस्त्रको विपद् उद्धार बेश

सशस्त्र प्रहरीले सुदूरपश्चिममा विपद् व्यवस्थापनका लागि बेश स्थापना गरेको छ । सशस्त्रको ७ नम्बर बैद्यनाथ बाहिनी मुख्यालयले सुदुरपश्चिमका जिल्लाहरुमा विपद् उद्धार बेश स्थापना गरेको निमित्त बाहिनीपति सशस्त्र एसएसपी दिगविजय सुवेदीले बताउनु भयो ।

यो वर्ष मनसुन सुरु हुन लागेको छ । प्रि–मनसुन सुरु भइसकेको र आसन्न मनसुनलाई मध्यनजर गर्दै सम्भावित विपदबाट हुन सक्ने क्षती न्यूनिकरणका लागि थप विपद् सुरक्षा बेश एवं मनसुन प्रतिकार्य टोलीहरु परिचालन गरिएको एसएसपी सुवेदीको भनाइ छ ।

सशस्त्र प्रहरीको नियमित परिचालनका साथसाथै विपद् उद्धारमा केन्द्रित भएर कार्य गर्न यस्ता बेशहरु स्थापना गरिएको हो । कैलालीको धनगढी उपमहानगर पालिका र चुरे गाँउपालिका–५, खानीडाँडामा समेत २ स्थान, कंचनपुरको बेलौरी, डोटीको जोरायल गाँउपालिका– २, बुडर, अछामको साफेबगर नगरपालिका– १३ बुढाबगर, टासी, बाजुराको बुढीनन्दा नगरपालिका– २, कोल्टी, दार्चुलाको शैल्यशिखर नगरपालिका– १ बलाच र बैतडीको सदरमुकाममा समेत ८ स्थानमा विपद् व्यवस्थापन बेशहरु स्थापना गरेको बाहिनी मुख्यालयले जनाएको छ ।
सशस्त्रमा सुदूर पश्चिम प्रदेशमा ११ जना गोताखोर र २ सय ७५ जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तीहलाई विपद् उद्धारको कार्यमा प्रभावकारी परिचालनका लागि समानुपातिक रुपमा सबै जिल्लामा तैनाथ गरिएको छ ।

हालैमात्र भएका पानीजन्य विपद् उद्धारका लागि बैद्यनाथ बाहिनी मुख्यालयले दार्चुला, बझाङ्, अछाम, डोटी र कंचनपुर जिल्लामा गोताखोर परिचालन गर्दै मृत शवहरुको फेला पारेको थियो । सशस्त्र र स्थानीय सरकारसँगको समन्वयमा समुदाय विपद् स्यवंसेवक तालिम संचालन गर्दै आइरहेको छ । प्रत्येक वडा तहसम्म बलले विपद् सूचना प्राप्तिमा सहजताका लागि सूचक समूहसमेत स्थापना गरेको निमित्त बाहिनीपति एसएसपी सुवेदीले जानकारी दिनु भयो ।

सशस्त्र प्रहरी बल नेपालले विपदसम्बन्धी उद्धारका लागि अनुरोध गर्नका सर्वसाधारणका लागि १११४ टोल फ्री नम्बर प्रयोगमा पनि ल्याएको छ ।