-सुरेन्द्र सुवेदी/काठमाडौं
नेपालमा प्रत्येक वर्ष मनसुनजन्य विपद्का कारण सयौँ नागरिक प्रभावित हुने गरेका छन्। बाढी, पहिरो, डुबान र सडक अवरोधका घटनाले जनधनको ठूलो क्षति हुने गरेपछि यस वर्षको मनसुनलाई लक्षित गर्दै नेपाली सेनाले व्यापक पूर्वतयारी थालेको छ। उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउने उद्देश्यले सेनाले देशभर आफ्ना संरचना, जनशक्ति र उपकरणलाई तयारी अवस्थामा राखेको सैनिकले जनाएको छ ।
गृह मन्त्रालय र विपद् व्यवस्थापनसँग सम्बन्धित निकायहरूको तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष मनसुनजन्य विपद्का कारण औसतमा चार सयभन्दा बढी नागरिकको ज्यान जाने गरेको छ भने हजारौँ परिवार विस्थापित हुने गरेका छन्। गत वर्ष मात्रै बाढी र पहिरोका घटनाबाट सयौँ सडक अवरुद्ध भएका थिए भने दर्जनौँ पुलमा क्षति पुगेको थियो। यस्ता चुनौतीलाई मध्यनजर गर्दै नेपाली सेनाले यस वर्षको तयारीलाई अझ व्यवस्थित र प्रविधिमैत्री बनाएको हो ।
सेनाले देशभरका विभिन्न जिल्लामा रहेका गण तथा गुल्महरूमा विपद्को समयमा तुरुन्त परिचालन हुन सक्ने फौज तयारी अवस्थामा राखेको छ। सातै प्रदेशस्थित पृतनाहरूमा आवश्यक उपकरणसहित ‘कम्पोजिट सर्च एण्ड रेस्क्यु टिम’ तैनाथ गरिएको छ, जसले बाढी, पहिरो, डुबान तथा दुर्गम क्षेत्रमा हुने उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाउने विश्वास गरिएको छ।
आकस्मिक उद्धारका लागि नेपाली सेनाले काठमाडौँ र सुर्खेतमा एक–एक वटा हेलिकप्टर स्ट्यान्डबाइ (तैनाथी) राखेको छ। आवश्यकता परे थप हवाई साधनसमेत तत्काल परिचालन गर्न सकिने गरी तयारी गरिएको र विशेष उद्धार कार्यका लागि हवाई मार्गबाट सिधै प्रभावित क्षेत्रमा पुग्न सक्ने ‘कम्पोजिट क्विक रियाक्सन टिम’ गौचर ब्यारेकमा तयारी अवस्थामा राखिएको छ।
मनसुनका कारण मुख्य राजमार्ग अवरुद्ध हुने जोखिमलाई ध्यानमा राख्दै धादिङको गजुरी, चितवनको भरतपुर र बाराको जितपुरमा बेलीब्रिजका सेटहरू तयारी अवस्थामा राखिएका छन्। यसका साथै गौचर ब्यारेकमा तीन वटा द्रुत यान्त्रिकीकृत पुल पनि तयारी अवस्थामा छन्, जसलाई आवश्यक परेको खण्डमा सवारीमार्फत तत्काल प्रभावित क्षेत्रमा पु¥याउन सकिनेछ।
विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सैनिक इन्जिनियरिङ विभागले अपरेटरसहितका हेभी इक्विपमेन्ट र सवारी साधन तयारी अवस्थामा राखेको छ। सडक खुलाउने, पहिरो पन्छाउने तथा अवरुद्ध क्षेत्रमा पहुँच विस्तार गर्ने कार्यमा यी उपकरण उपयोग गरिनेछ।
स्वास्थ्य क्षेत्रको तयारीलाई पनि सेनाले प्राथमिकतामा राखेको छ। देशभरका सैनिक अस्पतालहरूबाट ‘इमर्जेन्सी मेडिकल रेस्पोन्स टिम’ परिचालन गर्न सकिने गरी दक्ष जनशक्ति, आवश्यक उपकरण र औषधिको व्यवस्थापन गरिएको छ। विपद्पछि महामारी फैलिन नदिन तथा घाइतेहरूको तत्काल उपचारका लागि यस्तो तयारी गरिएको सेनाले जनाएको छ।
विपद् व्यवस्थापनमा समन्वयलाई प्रभावकारी बनाउन यही वैशाख २१ देखि २३ गतेसम्म जङ्गी अड्डामा ‘अभ्यास हातेमालो–८’ सम्पन्न गरिएको छ। केन्द्रीय तहमा गरिएको यो संयुक्त अभ्यासमा विभिन्न सुरक्षा निकाय तथा सरोकारवाला संस्थाहरूको सहभागिता रहेको थियो। सेनाका अनुसार यस्तो अभ्यास क्रमशः प्रदेश र जिल्ला तहसम्म सञ्चालन गरिनेछ। यो कार्य नेपाली सेनाको नेतृत्वमा सरकारको गृहमन्त्रालयको योजना तथा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणसमेतको समन्वयमा सबै तयारी गरिएको छ । जसका कारण विपद्को समयमा खोज तथा उद्धारसमेतका कार्यमा एकरुपता ल्याउन सकिने सेनाको विश्वास छ ।
स्थानीय समुदायसँगको सहकार्य, पूर्वसूचना प्रणालीको उपयोग र विगतका विपद्बाट सिकिएका अनुभवलाई आधार बनाएर यस वर्षको प्रतिकार्य योजना तयार गरिएको नेपाली सेनाले जनाएको छ। मनसुन सुरु हुनुअघि नै गरिएको यस्तो तयारीले सम्भावित विपद्को क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्