बागमति नदी सफाइ अभियान १३ वर्ष पूरा गरेर १४ वर्षमा प्रवेश गरेको छ । ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ शुरू भएको बाग्मती सफाइ महाअभियान १३औँ वर्ष पूरा गरी १४औँ वर्षमा प्रवेश गरेको हो ।
२०७० जेठ ५ गते काठमाण्डौको सभ्यताको स्रोत बाग्मतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाइ महाअभियान शुरू भएको थियो । पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो ।
सफाइ महाअभियानको नेतृत्व तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले गर्नुभएको थियो र अहिलेसम्म पनि उहाँको नेतृत्व यथावत छ । प्रत्येक हप्ता शनिवार बिहान गर्मीमा ७ बजेदेखि ९ बजेसम्म र जाडोमा साढे ७ देखि साढे ९ बजेसम्म बाग्मती नदीका विभिन्न ठाउँको किनारमा सफाइ हुने गरेको छ । महाअभियान आउँदो शनिबारदेखि ६ सय ८० औँ हप्तामा प्रवेश गर्दैछ ।

बाग्मतीबाट अहिलेसम्म २२ हजार मेट्रिक टनभन्दा धेरै फोहर व्यवस्थापन भएको अभियानमा सुरुदेखि निरन्तर सक्रिय डा माला खरेलले बताउनु भयो । महाअभियानमा १५ लाख जनाभन्दा धेरैले नदीमै गएर फोहर उठाएका छन् । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सरकारी एवम् सामुदायिक संस्थाले पनि योगदान गरेका छन् ।
बाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर देशभर चलिरहेको सफाइ अभियानले पालिकाकै काममा सहयोग गरिरहेको भए पनि पालिकाको ध्यान नजाँदा हुनुपर्ने जति प्रभावकारी नभएको टिप्पणी हुने गरेको छ । महाअभियानकी अभियानकर्मी डा खरेल फोहर व्यवस्थापनमा पालिकाको साथ अत्यावश्यक पर्ने बताउनुहुन्छ ।
महाअभियानबाट प्रभावित भएर काठमाण्डौ उपत्यकामा बाग्मतीका सहायक नदी, बाग्मतीकै पनि विभिन्न ठाउँमा सफाइ अभियान चलिरहेको छ । काठमाण्डौ उपत्यकाका अहिले गुह्येश्वरीमाथिको बाग्मती, तिलगङ्गा, आलोकनगर, सुन्दरीघाट, मैतीदेवी, रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भाग, चक्रपथका उत्तरी र पश्चिमी भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्तेलगायत सांस्कृतिक सम्पदा गरी २५ भन्दा धेरै ठाउँमा सफाइ भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्