ताप्लेजुङको हिमाली हावापानी र ग्रामीण परिवेशमा हुर्किएकी मात्रिकादेवि प्रसाईँको बाल्यकाल अन्य सामान्य नेपाली युवतीहरूको जस्तै थियो। २०३६ साल भदौ ३० गते मैवाखोला गाउँपालिका– ५, फाकुम्बामा जन्मनुभएकी मात्रिकाको जीवनले त्यतिबेला एउटा फरक मोड लियो, जब कक्षा १२ को परीक्षाको नतिजा उहाँको पक्षमा आएन। परीक्षामा अनुत्तीर्ण हुनु धेरैका लागि निराशाको कारण बन्न सक्छ, तर मात्रिकाका लागि भने यो जीवनको एउटा नयाँ ढोका खोल्ने माध्यम बन्यो। उहाँले बुझ्नुभयो कि विद्यालयको सर्टिफिकेटले मात्र जीवन चल्दैन, जीवन जिउनका लागि त हातमा एउटा बलियो सीपको आवश्यकता पर्छ।
यही दृढ सङ्कल्पका साथ २०५७ सालमा उहाँले आफ्नै गाउँघरबाट हस्तकलाको प्रारम्भिक यात्रा सुरु गर्नुभयो। सुरुमा गाउँघरकै दिदीबहिनीहरूसँग सामान्य सीप सिकेकी मात्रिकाले पछि घरेलु तथा साना उद्योग कार्यालयबाट व्यावसायिक तालिम लिने अवसर पाउनुभयो। यो तालिम उहाँको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो। गाउँको एउटा सानो कोठाबाट सुरु भएको उहाँको हस्तकलाको यात्रा बिस्तारै सदरमुकाम फुङलिङ बजारसम्म आइपुग्यो। फुङलिङको ट्याक्सी लाइनमा उहाँले ‘मात्रिका हस्तकला उद्योग तथा प्रशिक्षण केन्द्र’ स्थापना गर्नुभयो, जसको मुख्य सञ्चालक उहाँ आफैं हुनुहुन्छ।

मात्रिकाको यो उद्योग केवल पैसा कमाउने माध्यम मात्र बनेन, बरु ताप्लेजुङका विपन्न, आर्थिक रूपमा कमजोर र बेरोजगार महिलाहरूका लागि एउटा भरोसाको केन्द्र बन्यो। गाउँघरमा यत्तिकै खेर गइरहेका मकैका खोसेला (खोस्टा) हरू सङ्कलन गरेर उहाँले महिलाहरूलाई आकर्षक र आधुनिक ‘बुकी ब्याग’ बनाउने तालिम दिन थाल्नुभयो। मकैको खोसेला, जसलाई मानिसहरू गाईबस्तुलाई घाँस र दाउराका रूपमा मात्र प्रयोग गर्थे, त्यसलाई उहाँले कला र कमाइसँग जोडिदिनुभयो। यसका साथै उहाँले अचार बनाउने र पोते उन्ने जस्ता स्वरोजगारमूलक तालिमहरू पनि दिनुभयो। हेर्दाहेर्दै उहाँको हातबाट सीप सिकेर आज १ हजार ५ सय भन्दा बढी महिला दिदीबहिनीहरू तालिम प्राप्त गरी आफ्नै खुट्टामा उभिन सफल भइसकेका छन्। गाउँकी एउटी सामान्य महिलाले यति ठूलो सङ्ख्यामा महिलाहरूलाई उद्यमी बनाएर समाज रूपान्तरण गरेको यो एउटा उदाहरणीय कार्य हो।
यही अतुलनीय योगदानका कारण आज प्रसाईँको नेतृत्व क्षमताको कदर राष्ट्रिय स्तरमा समेत हुन थालेको छ। उहाँ हाल ताप्लेजुङ हस्तकला संघको अध्यक्ष, नेपाल हस्तकला महासंघको सदस्य तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रीय सदस्यका रूपमा नीतिगत तहमा समेत हस्तकला क्षेत्रको प्रतिनिधित्व गरिरहनुभएको छ। गाउँका दिदीबहिनीहरूले आफ्नै परिश्रमबाट कमाएको पैसाले घरखर्च चलाएको र छोराछोरीलाई राम्रो विद्यालयमा पढाउनु सक्नु भएकोछ ।
तर, यो सफलताको चमक पछाडि सङ्घर्षका काला बादलहरू पनि छन्। हस्तकलाका सामग्रीहरू पूर्ण रूपमा हातले बनाइने हुनाले एउटा सामान तयार गर्न धेरै दिनको कडा परिश्रम र समय लाग्छ। मेसिनको तुलनामा हातले बनाएका वस्तुहरूको उत्पादन लागत बढी हुनु स्वाभाविकै हो। तर, बजारमा ग्राहकहरूले यसको वास्तविक मिहिनेत र ऐतिहासिक महत्त्वलाई बुझ्न नसक्दा सामान महँगो भयो भन्दै किन्न हिचकिचाउने गरेका छन्। उचित बजारीकरणको अभाव र स्थानीय बजारमा विदेशी प्लास्टिकका सामग्रीको दबदबाका कारण नेपाली हस्तकलाले सोचेजस्तो बजार पाउन सकेको छैन। यो अवस्थाले मात्रिकालाई कहिलेकाहीँ निराश पनि बनाउँछ।
यस समस्याको दीगो समाधानका लागि मात्रिकासित एउटा प्रष्ट योजना र दृष्टिकोण छ। उहाँ भन्नुहुन्छ, ‘स्थानीय सरकारले एउटा विशेष कार्यविधि बनाएर आफ्नो क्षेत्रमा हुने हरेक सरकारी कार्यक्रम, सभा समारोह र अतिथि सत्कारमा स्थानीय हस्तकलाकै सामग्रीहरू (जस्तै खोसेलाको ब्याग, हस्तकलाका उपहार) अनिवार्य रूपमा प्रयोग गर्ने नीति ल्याउने हो भने यो क्षेत्रले ठूलो फड्को मार्नेछ। स्थानीय कच्चा पदार्थ र श्रमको कदर हुने र कुनै पनि नेपाली महिलाले रोजगारीका लागि विदेशिनु पर्दैन ।’

मात्रिका उद्यमी व्यक्तित्व हस्तकलामा मात्रै सिमित छैन, उहाँ एक बहुआयामिक व्यवसायी हुनुहुन्छ। उहाँ र उहाँका श्रीमान् मिलेर ताप्लेजुङमा विष्ण सप्लायर्स एन्ड ट्रेडर्सु नामक ठूलो किराना होलसेल पसल सञ्चालन गरिरहनुभएको छ, जहाँ ताप्लेजुङको मुख्य नगदेबाली अलैंचीको व्यावसायिक खरिद बिक्रीसमेत हुने गर्दछ। व्यापारसँगै उहाँहरूले यातायात क्षेत्रमा पनि हात हाल्नुभएको छ। पूर्वी नेपालकै प्रसिद्ध शक्तिपीठ पाथीभरा देवीको दर्शनका लागि आउने हजारौं भक्तजन र पर्यटकहरूलाई लक्षित गर्दै उहाँहरूले गाडी व्यवसाय समेत सञ्चालन गरिरहनुभएको छ।
–सुरेन्द्र सुवेदी/काठमाडौं
प्रतिक्रिया दिनुहोस्