Advertisement GIF
वीरदल गणद्वारा कुम्मायकमा दुई दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर

नेपाली सेना र नागरिकबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ पाँचथरको कुम्मायक गाउँपालिकामा दुई दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर भव्यताका साथ सम्पन्न भएको छ।

पूर्वी पृतना हेडक्वार्टरको मार्गदर्शन र २१ नम्बर वाहिनी अड्डाको पहल तथा वीरदल गण पाँचथरको आयोजनामा सञ्चालन भएको उक्त शिविरमा सैनिक अस्पताल इटहरी र स्थानीय स्वास्थ्य संस्थाहरूको प्राविधिक सहकार्य तथा कुम्मायक गाउँपालिकाको व्यवस्थापकीय सहयोग रहेको सेनाले जनाएको छ ।

कुम्मायक गाउँपालिका १ स्थित यासोक बजारमा रहेको कुम्मायक आधारभूत अस्पतालमा यही जेठ १३ र १४ गते सञ्चालित शिविरमा कुम्मायक, फाल्गुनन्द, तुम्वेवा र मिक्लाजुङ गाउँपालिकाका स्थानीय बासिन्दालाई लक्षित गरी विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको थियो।

दुई दिनसम्म चलेको शिविरमा विभिन्न २० जना विशेषज्ञ चिकित्सकले कुल १ हजार ४ सय ७९ जना सर्वसाधारणको विस्तृत स्वास्थ्य परीक्षण गर्नुभएको थियो। शिविरका क्रममा बिरामीहरूले कुल ३ हजार २ सय ३४ पटक ओपीडी सेवा लिएका थिए भने १ सय ६९ जनाको आवश्यक ल्याब परीक्षण समेत सफलतापूर्वक सम्पन्न गरिएको थियो।

शिविरमा हाडजोर्नी, मेडिसिन, आँखा, स्त्रीरोग, नाक(कान(घाँटी, दन्त, छाला तथा मानसिक स्वास्थ्य लगायतका ११ वटा विशेषज्ञ विभाग खडा गरेर स्वास्थ्य सेवा प्रवाह गरिएको थियो। जाँच गराउन आएका अधिकांश स्थानीय बिरामीमा हाडजोर्नीको समस्या, मधुमेह, दम, आँखासम्बन्धी रोग, स्त्रीरोग, दाँत तथा छालाका समस्याहरू बढी मात्रामा पाइएको चिकित्सकहरूले जनाएका छन्।

स्वास्थ्य परीक्षणका साथै बालरोग, शल्यक्रिया तथा मानसिक स्वास्थ्यसम्बन्धी परामर्श र आवश्यक औषधिहरू समेत निःशुल्क वितरण गरिएको थियो, जसले आर्थिक अभाव र भौगोलिक कठिनाइका कारण अस्पतालसम्म पुग्न नसकेका विपन्न नागरिकहरूलाई आफ्नै घरआँगनमा ठूलो राहत पुर्‍याएको छ।

स्वास्थ्य उपचारका अतिरिक्त शिविरको आकर्षणका रूपमा नेपाली सेना भर्ना प्रक्रिया, एनसीसी क्याडेट भर्ना, ज्वाइन नेपाली आर्मी तथा विपद् व्यवस्थापन सम्बन्धी अत्यन्तै उपयोगी र जानकारीमूलक कार्यक्रमहरू समेत सञ्चालन गरिएको थियो। यस बृहत् शिविरको औपचारिक समापन पूर्वी पृतना हेडक्वार्टरका पृतनापति उपरथी गौरवकुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। समापन समारोहमा जिल्लास्थित विभिन्न स्थानीय तहका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूका साथै स्थानीय बुद्धिजीवी र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।