नेपालका वरिष्ठ पत्रकार तथा विश्व प्रेस काउन्सिल्सका उपाध्यक्ष किशोर श्रेष्ठमाथि दबाब, निगरानी र उत्पीडन भएको भन्दै भारतको प्रतिष्ठित पत्रकार संगठन प्रेस एसोसिएसनले गम्भीर चासो व्यक्त गरेको छ। सार्वजनिक सरोकारका विषयमा खोजमूलक समाचार प्रकाशन गरेकै कारण श्रेष्ठलाई उनका गोप्य स्रोतहरू खुलाउन बाध्य पार्ने उद्देश्यले विभिन्न प्रकारका निगरानी र दबाब सिर्जना गरिएको भन्ने विवरणप्रति संगठनले आपत्ति जनाएको हो।
प्रेस एसोसिएसनका अध्यक्ष सीके नायकद्वारा जारी वक्तव्यमा पत्रकारको स्रोतको गोपनीयता प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त भएको उल्लेख गर्दै कुनै पनि पत्रकारलाई स्रोत खुलाउन बाध्य पार्ने प्रयास लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने बताइएको छ। वक्तव्यमा भनिएको छ, ‘आफ्नो गोप्य स्रोत सुरक्षित राख्न पाउनु प्रत्येक पत्रकारको नैसर्गिक तथा लोकतान्त्रिक अधिकार हो। पत्रकारलाई स्रोत खुलाउन दबाब दिनु प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेप हो।’
संगठनले पत्रकार श्रेष्ठविरुद्ध भइरहेका भनिएका प्रतिशोधात्मक गतिविधि, निगरानी तथा दबाबका कार्य तत्काल रोक्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै, उनको व्यक्तिगत सुरक्षा र स्वतन्त्र रूपमा पत्रकारिता गर्न पाउने अधिकारको सुनिश्चितता गर्न पनि आग्रह गरिएको छ।
मिडिया क्षेत्रका जानकारहरूले यस घटनालाई केवल एक पत्रकारसँग जोडिएको विषय मात्र नभई प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षासँग सम्बन्धित गम्भीर मुद्दाका रूपमा हेरेका छन्। उनीहरूका अनुसार सीमापारका शक्ति केन्द्रसँग सम्बन्धित संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा पत्रकारहरूले सामना गर्नुपर्ने सम्भावित चुनौती र दबाबको उदाहरणका रूपमा पनि यो घटनालाई लिन सकिन्छ।
हाल विश्व प्रेस काउन्सिल्सका उपाध्यक्ष रहेका श्रेष्ठ अन्तर्राष्ट्रिय पत्रकारिता क्षेत्रमै परिचित व्यक्तित्व हुन्। यस्ता हैसियतका पत्रकारमाथि समेत दबाब सिर्जना भएको आरोप सार्वजनिक भएपछि पत्रकार सुरक्षाको विषय फेरि बहसमा आएको छ। प्रेस एसोसिएसनले स्वतन्त्र र निर्भीक प्रेस लोकतन्त्रको अपरिहार्य आधारस्तम्भ भएको उल्लेख गर्दै पत्रकार श्रेष्ठको समर्थनमा उभिन विश्वभरका सञ्चार संस्था, प्रेस स्वतन्त्रताका पक्षधर तथा मानवअधिकारकर्मीहरूलाई आह्वान गरेको छ।
संगठनले पत्रकारमाथि हुने कुनै पनि प्रकारको दबाब, धम्की वा उत्पीडनविरुद्ध अन्तर्राष्ट्रिय समुदाय एकजुट हुनुपर्ने धारणा व्यक्त गरेको छ। यस घटनाले प्रेस स्वतन्त्रता कुनै एक देशको सीमाभित्र मात्र सीमित विषय नभई विश्वव्यापी सरोकारको मुद्दा भएको सन्देश दिएको छ। पत्रकारको स्रोतको गोपनीयता, स्वतन्त्र रूपमा सूचना संकलन र सम्प्रेषण गर्न पाउने अधिकार तथा पत्रकार सुरक्षाको प्रश्नलाई यस घटनाले पुनः चर्चामा ल्याएको छ।
पत्रकारितामाथि हुने दबाबविरुद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखिएको ऐक्यबद्धताले स्वतन्त्र प्रेसको पक्षमा विश्व समुदाय अझै दृढ रहेको संकेत गरेको विश्लेषकहरूको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्