Advertisement GIF
नेपाली बालसाहित्यका ‘प्रकाशपुञ्ज’ रामबाबु सुवेदीको साहित्यिक यात्रा

नेपाली बालसाहित्य र छन्दोबद्ध कविता लेखनको क्षेत्रमा स्रष्टा रामबाबु सुवेदी (राजीव) एक निष्ठावान, अथक र आदरणीय नामका रूपमा स्थापित हुनुहुन्छ। २००४ साल जेठ १४ गते कास्की जिल्लाको रूपा गाउँपालिका अन्तर्गत पर्ने हंसपुर गाउँको सुन्दर परिवेशमा माता पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका सुपुत्रका रूपमा उहाँको जन्म भएको थियो।

हंसपुरको प्राकृतिक वातावरणमा हुर्किएका उहाँको प्रारम्भिक अक्षर आरम्भ गाउँकै पिँडी शिक्षाबाट भएको थियो भने उहाँले पोखरा र काठमाडौंबाट आफ्नो उच्च शिक्षा अगाडि बढाउँदै त्रिचन्द्र कलेजबाट बीए (अनर्स) सम्मको अध्ययन पूरा गर्नुभयो। उहाँको व्यक्तिगत जीवनमा गोमादेवी सुवेदी जीवनसङ्गिनीका रूपमा रहनुभएको थियो । श्रीमति गोमादेविको २० महिनाअघि निधन भयो । यो दम्पतीको साथ ७ दशकपछि टुट्यो ।

लामो समयसम्म शिक्षण पेसामा आबद्ध रहनुभएका सुवेदी बेलायतको प्रसिद्ध इटन कलेजमा समेत अध्यापन गरेको अनुभव बटुलेर हाल शिक्षण सेवाबाट निवृत्त भई पूर्ण रूपमा साहित्यिक सेवा र बालसाहित्यको श्रीवृद्धिमा समर्पित हुनुहुन्छ। २०२२ सालमा भारतको बनारसबाट ‘भानु उदय’ मा प्रभात शीर्षकको पहिलो कविता प्रकाशित भएपछि सुरु भएको उहाँको साहित्यिक यात्राले नेपाली साहित्यलाई समृद्ध बनाउन विशेष योगदान दिएको छ।

सुवेदीका प्रौढ र बालसाहित्य दुवै विधामा गरी करिब ४० भन्दा बढी अमूल्य कृति प्रकाशित भइसकेका छन्। उहाँका प्रौढ कविता विधा अन्तर्गत ‘कामिनी आमा’, ‘गङ्गा’, ‘झस्किएको सिन्दूर’ जस्ता कवितासङ्ग्रहहरू र ‘लु सुन’ जस्तो लोकप्रिय खण्डकाव्य प्रकाशित छन् भने उहाँले २०२४ मा संयुक्त रूपमा ‘दुई धारा’ कवितासङ्ग्रह सार्वजनिक गर्नुभएको थियो।

स्वर्गीय पूर्व युवराज दिपेन्द्रसित रामबाबु ।

विशेष गरी बालमनोविज्ञान, बालअधिकार, राष्ट्रप्रेम र ग्रामीण परिवेशलाई मियो बनाएर लेखिएका उहाँका बालकृतिहरू नेपाली बालसाहित्यका अनुपम उपहार हुन्। उहाँका बालकविता सङ्ग्रहहरूमा ‘भँगेरी’, ‘बालबोध’, ‘नेपाल आमा’, ‘आमाजस्ती गुरुमा’, ‘सहिदकी छोरी’, र ‘बगैंचाकी चरी’ जस्ता कीर्तिमानी कृतिहरू समावेश छन्। यसैगरी, ‘जमुनीको छोरो’, ‘बाँ बाँ बाच्छी’, ‘घान्द्रुक झलल’, ‘हाम्रा गीत’ र ‘आमा’ जस्ता बालगीत सङ्ग्रहहरूका साथै ‘पानी पानी’, ‘आगो पानी’ जस्ता बालकाव्य र ‘छाउरा–छाउरी’, ‘गाई र घोडा’, ‘छतरी’, ‘म हुँ फलाम’ एवं ‘चमेलीको माया’ जस्ता बालगीतिकाव्यहरूले नेपाली बालबालिकाहरूको मन जितेका छन्।

उहाँको बहुआयामिक व्यक्तित्व सिर्जनामा मात्र सीमित नरहेर विद्यालयस्तरका विभिन्न पाठ्यपुस्तक निर्माण र सम्पादनमा समेत उत्तिकै अब्बल रूपमा देखा परेको छ। उहाँले कक्षा १, ३, ५ र ९ का लागि नेपाली विषयको ‘शिक्षक निर्देशिका’ तथा कक्षा ३ को ‘नेपाली भाषा’ पुस्तक तयार पार्नुभएको थियो। यसका साथै उहाँले राष्ट्रकवि माधव घिमिरेको ‘सुनपङ्खी चरी’, युगकवि सिद्धिचरण श्रेष्ठको ‘मङ्गलमान’, कविशिरोमणि लेखनाथ पौडेलको ‘पिंजडाको सुगा’ र कवि दुर्गालाल श्रेष्ठको ‘सन्तको छाता’ एवं ‘कागजको डुङ्गा’ जस्ता कालजयी कृतिहरूको कुशलतापूर्वक सम्पादन गरेर नेपाली साहित्यको जगेर्ना गर्नुभएको छ।

उहाँले चिनियाँ तथा कोरियाली कविका कविता सङ्ग्रहहरूको समेत सम्पादन गरी नेपाली पाठकमाझ ल्याउनुभएको छ। नेपाली बालबालिकालाई सिर्जनात्मक रूपमा मनोरञ्जन र शिक्षा प्रदान गर्न उहाँले ‘रामबाबु सुवेदी अफिसियल’ युट्युब च्यानलमार्फत १०० भन्दा बढी बालगीतका भिडियोहरू डिजिटल माध्यममा ल्याउनुभएको छ। उहाँका ‘आइतबार बिहानै’, ‘जमुनीको छोरो’, ‘जुत्ता सिउने साइँला दाइ’, ‘हुक्काभित्र ट्वार्र ट्वार्र’, ‘गहभरी आँसु’ र हालै विश्वकप २०२६ लाई लक्षित गरी त्रियोग र स्वस्तिश्री गुरुकुल स्कुलको सहकार्यमा निर्माण गरिएको ‘भकुण्डो’ जस्ता गीतहरू डिजिटल मञ्च र बालपाठक माझ अत्यधिक लोकप्रिय एवं चर्चित छन्।

 

-सुरेन्द्र सुवेदी/काठमाडौं