Advertisement GIF
सीमा सुरक्षा, आर्थिक पारदर्शिता, विपद् व्यवस्थापनसमेतमा सशस्त्र प्रहरीको मुख्य प्राथमिकता रहन्छ : सशस्त्र आइजीपी पौडेल

सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक (आइजीपी) नारायणदत्त पौडेलले संगठनले विपद् व्यवस्थापन, सीमा सुरक्षा र राजश्व चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ। पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा महानिरीक्षक पौडेलले संगठनभित्रका कानुनी र नीतिगत अस्पष्टताहरूलाई चिर्दै अघि बढ्ने योजना रहेको स्पष्ट पार्नुभयो।

हालै महानिरीक्षक बन्नु भएका पौडेलले मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल पूर्ण तयारीका साथ मैदानमा उत्रिएको जानकारी दिनुभयो। देशको राष्ट्रिय सुरक्षा र अखण्डतासँग जोडिएको सीमा सुरक्षाको सवालमा विगतको भन्दा अझ परिष्कृत र प्रभावकारी ढंगले कसरी कार्यसम्पादन गर्न सकिन्छ भन्ने विषयमा विशेष गृहकार्य भइरहेको उहाँको भनाइ थियो।

यसैगरी, मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन राजश्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी थप प्रयत्नशील बनेको उहाँले उल्लेख गर्नुभयो। ‘संगठनलाई थप सुदृढ बनाउन कानुनी र नीतिगत अस्पष्टताहरू हटाउँदै अघि बढ्ने हाम्रो योजना छ, जसमा सञ्चार क्षेत्रको रचनात्मक साथ र सहयोग अपरिहार्य रहन्छ ।’– महानिरीक्षक पौडेलले भन्नुभयो।

आर्थिक पारदर्शिताको सवालमा संगठनले कठोर नीति लिएको स्पष्ट पार्दै उहाँले आर्थिक अनियमितता र पारदर्शीताका सवालमा सशस्त्र प्रहरीले ‘शून्य सहनशीलता’ को नीति अवलम्बन गरेर काम गरिरहेको बताउनुभयो। स्थापनाको दुई दशक पार गरिसकेको संगठनलाई समयानुकूल, व्यावसायिक र अझ उत्कृष्ट बनाउनका लागि संगठनभित्र छुट्टै ‘नीति निर्देशनालय’ समेत स्थापना गरेर कार्य अघि बढाइएको उहाँले जानकारी दिनुभयो।

नेपाल भारत सीमा नाकामा हुने अवैध गतिविधि रोक्न र सर्वसाधारणको आवागमनलाई थप सरल र सहज बनाउन विशेष योजनासहित काम सुरु भइसकेको उहाँले बताउनुभयो। नाकामा नागरिकले सास्ती पाउन नहुने र कुनै पनि किसिमका गलत कार्यहरू हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाइएको उहाँको दाबी थियो। आधुनिक प्रविधिको उच्चतम् प्रयोगतर्फ संकेत गर्दै महानिरीक्षक पौडेलले सूचना प्रविधि (आईटी) को क्षेत्रमा पनि संगठनले दीर्घकालीन सोच र ठोस योजनाका साथ पाइला अगाडि बढाइरहेको उल्लेख गर्नुभयो।