Advertisement GIF
सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपाललाई विभिन्न उद्धार सामग्री हस्तान्तरण गरेको छ।

सशस्त्रको प्रधान कार्यालयमा असार १२ गते (आज) आयोजित कार्यक्रममा कम्पनीका कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) कबिर फुयालले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

कम्पनीले प्रदान गरेको सामग्रीमा ७ रोल डाइनामिक रोप, ७ रोल स्टाटिक रोप, ७० वटा लकिङ काराबिनर, १४ वटा थ्रो ब्याग तथा ६० वटा प्याडल रहेका छन्। यी सामग्री विशेषगरी बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्का बेला खोज, उद्धार र राहत कार्यमा परिचालित हुने सशस्त्र प्रहरीका विपद् उद्धार टोलीले प्रयोग गर्नेछन्।

कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले निजी क्षेत्रबाट प्राप्त यस्ता सहयोगले विपद् उद्धार टोलीको कार्यक्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे। उनले आधुनिक उद्धार सामग्रीको उपलब्धताले कठिन परिस्थितिमा समेत छिटो, सुरक्षित र प्रभावकारी रूपमा उद्धार कार्य सञ्चालन गर्न सहज हुने तथा थप नागरिकको ज्यान जोगाउन महत्वपूर्ण योगदान पुग्ने बताए।

त्यसैगरी, सन नेपाल लाइफ इन्स्योरेन्सका कायममुकायम प्रमुख कार्यकारी अधिकृत कबिर फुयालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का समयमा अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीलाई आवश्यक सहयोग गर्नु कम्पनीको दायित्व भएको उल्लेख गरे। उनले ‘सुरक्षाको तयारी, जीवनको जिम्मेवारी’ भन्ने भावनासहित कम्पनीले विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले उद्धार सामग्री उपलब्ध गराएको बताए।

कम्पनीका अनुसार आगामी दिनमा पनि विपद् जोखिम न्यूनीकरण, उद्धार क्षमता अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रममार्फत राज्यका सुरक्षा निकाय र समुदायसँग सहकार्यलाई निरन्तरता दिइनेछ।