काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक युवाले आत्मदाहको प्रयास गरेको घटनाप्रति वैदिक सनातन युवा मोर्चाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
दैनिक सडकमा पसिना बगाएर, पठाओजस्ता राइड सेयरिङ व्यवसायमार्फत आफ्नो परिवारको गुजारा गरिरहेका मुगुका २५ वर्षीय युवा गणेश नेपालीले काठमाडौँ महानगरपालिकाको नगर प्रहरीको अमानवीय व्यवहार, जरिवानाको मानसिक तनाव र गरिखाने भाँडोको रूपमा रहेको मोटरसाइकल नियन्त्रणमा लिएपछिको विवशताका कारण आफ्नै शरीरमा आगो लगाउनुपर्ने स्थिति सिर्जना भएको मोर्चाले उल्लेख गरेको छ।
यो घटना केवल एक व्यक्तिको आवेग मात्र नभई राज्य र स्थानीय निकायले सडकका साना श्रमजीवी एवं युवाहरूमाथि गरिरहेको चरम आर्थिक शोषण, प्रशासनिक आतङ्क र रोजगारविहीनताको तीतो पराकाष्ठा भएको मोर्चाको ठहर छ।
गरिखाने वातावरण बनाउनुको साटो उल्टै गरिब र श्रमजीवी युवाहरूलाई आत्महत्याको बाटो रोज्न बाध्य पार्ने महानगरको अव्यावहारिक र निर्मम नीतिको घोर भर्त्सना गर्दै मोर्चाले घाइते युवा गणेश नेपालीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, घाइते युवाको सम्पूर्ण उपचार खर्च राज्य र महानगरपालिकाले बेहोर्नुपर्ने, उनको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र श्रमजीवी युवाहरूमाथि हुने नगर प्रहरीको धरपकड र आतङ्क तत्काल बन्द गर्नुपर्ने माग जोडदार रूपमा उठाइएको छ।
यस सामूहिक अन्याय र राज्यको उदासीनताका विरुद्ध आवाज बुलन्द गर्न तथा पीडित युवालाई न्याय दिलाउनका लागि काठमाडौँको माइतीघर मण्डलामा मोर्चाको नेतृत्वमा विरोध प्रदर्शन आयोजना गरिएको मोर्चाले विज्ञप्ति जारी गर्दै जनाएको छ। विरोध प्रदर्शनमा न्यायप्रेमी युवा, श्रमजीवी वर्ग, सञ्चारकर्मी तथा आम नागरिकलाई आफ्नो अधिकार र न्यायका लागि उपस्थित हुन आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्