Advertisement GIF
कल्पवृक्ष
असार २५ बुधबार, ११:२३ पूर्वाह्न
चीनको तिब्बतबाट २८० जनाको उद्धार : महावाणिज्यदूत निरौला

मंगलवार बिहान रसुवाको लेन्दे खोलामा आएको बाढीले रसुवागढी नाकास्थित मितेरीपुल बगाएपछि चीनतर्फ अड्किएका ८० नेपालीलाई उद्धार गरी केरुङ लगिएको छ। चीनको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको पहलमा उनीहरूलाई केरूङ लगेर सुरक्षित स्थानमा राखिएको हो। रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्न लागेका तर चिनियाँ सीमा नकट्दै गढी भन्ने ठाउँमा अलपत्र परेकाहरूलाई उद्धार गरी केरुङ लगिएको ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले जानकारी दिनु भयो।

महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला

महावाणिज्यदूत निरौलाका अनुसार केरुङ पुगेर नेपाल प्रवेश गर्न नसकेका २ सय जनालाई तातोपानीबाट नेपाल प्रवेश गर्न सहजीकरण गरिएको छ । ‘उनीहरु न्यालम पुगेका छन्, चीनको रसुवा सीमा गढी भन्ने ठाउॅमा अलपत्र ८० जनालाई केरुङ पुर्‍याई सुरक्षित राखिएको छ ।’ महावाणिज्यदूत निरौलाले भन्नु भयो, ‘केरुङ पुगेर नेपाल प्रवेश गर्न नसकेका २ सय जना तातोपानीबाट नेपाल जानका लागि न्यालमतिर पुगिसक्नु भएको छ।’

लेन्दे खोलामा आएको बाढीले नेपाल– चीन जोड्ने मितेरी पुल बगाएको छ भने रसुवागढी भन्सार कार्यालयमा राखिएका ६५ सवारी साधनलाई बगाएको छ। यस्तै बाढीमा परी ९ जनाको मृत्यु भएको र १९ जना हालसम्म पनि सम्पर्कविहीन भएको रसुवा प्रहरीले जानकारी दिएको छ। यस्तै बाढीका कारण विभिन्न स्थानमा अड्किएका ५७ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। सम्पर्कविहीनहरुको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ।