Advertisement GIF
कल्पवृक्ष
असार २६ बिहीबार, १२:३५ अपराह्न
सेनाले गर्यो बडीमालिका मन्दिर पुनर्निर्माण

नेपाली सेनाले देशको चर्चित बडीमालिका मन्दिरको पुनर्निर्माण गरेको छ । सुदूरपश्चिम क्षेत्रमा पर्ने मल्लागिरी पर्वतअन्तर्गतको समुद्री सतहबाट करिब ४२२० मिटर उचाइमा यो मन्दिर रहेको छ । नेपालकै आस्थाको केन्द्रको रूपमा रहेको बाजुरा जिल्लाको ऐतिहासिक, पुरातात्त्विक एवं धार्मिक महत्वको बडीमालिका मन्दिरको संरक्षण, संवद्र्धन तथा प्रवर्धन गर्ने उद्देश्यले नेपाली सेनाले पुर्ननिर्माण गरेको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभयो । २०८१ चैत्र २८ गतेबाट सुरु गरिएको पुनर्निर्माण भरखरै सम्पन्न भएको हो । पुनर्निर्माणको समयमा श्रद्धालु भक्तजनका लागि मन्दिर निरन्तर खुल्ला रहेको थियो ।

प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (पाँचौँ संशोधन सहित) को परिधिभित्र रही पुरातत्त्व विभागको स्वीकृत ड्रइङ डिजाइन तथा प्राविधिक सहयोग एवम् बाजुरा स्थित त्रिवेणी नगरपालिकाको समन्वयमा परम्परागत निर्माण सामग्रीहरूको प्रयोग गरी पुरानो मौलिक स्वरूप अनुसार पुनर्निर्माण कार्य सम्पन्न गरिएको सैनिक मुख्यालयले जनाएको छ । रक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभाग, त्रिवेणी नगरपालिका, बडी मालिका नगरपालिका, मन्दिरका पुजारी नेत्रप्रसाद उपाध्याय, भक्तपुर तथा ललितपुरका दक्ष कालिगड र स्थानीयको निरन्तर प्रयासमा विकट भौगोलिक अवस्था, प्रतिकुल मौसम र निर्माण सामग्री व्यवस्थापनका चुनौती माझ करिब २ महिनामा पुनर्निर्माण कार्य सम्पन्न भएको सेनाको भनाइ छ ।