Advertisement GIF
नेपाली महावाणिज्यदूत निरौला र चीनको अध्यागमनका महानिर्देशक सिहोङबीच भेटवार्ता

चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले सोमबार (आज) चीनको सिजाङ स्वायत्त क्षेत्रको अध्यागमन कार्यालयका महानिर्देशक तथा चिनिया कम्युनिष्ट पार्टीका सचिव वाङ सिहोङसँग महावाणिज्यदूतावास कार्यालयमा शिष्टाचार भेट गर्नु भएको छ ।

यो भेटका अवसरमा नेपाल र चीनबीच कायम ऐतिहासिक संबन्ध, दुई देशबीचका सीमा नाकालाई थप व्यवस्थित बनाउने र एक आपसको सम्बन्धलाई थप सुदृढ बनाउन दुबै पक्षबाट आगामी दिनमा थप पहल गर्ने विषयमा कुराकानी केन्द्रित भएको महावाणिज्यदू्त निरौलाले बताउनु भयो ।

भेटमा महावाणिज्यदूत निरौलाले नेपाल र चीनबीचमा भौगोलिक सीमामात्र जोडिएको नभएर शताब्दीऔंदेखि सामाजिक र सांस्कृतिक सम्बन्धसमेत स्थापित रहेको उल्लेख गर्दै महावाणिज्यदूतावास र अध्यागमन कार्यालयले त्यही मर्ममा आधारित रहेर काम गरिरहेको बताउनु भयो

उहाँले सो अवसरमा रसुवागढी क्षेत्रमा गत असार २४ गते गएको बाढीका कारण नेपाल चीन जोड्ने मितेरी पुल भत्काएको, दर्जनौंको ज्यान गएको, दर्जनौंलाई बाढीले बगाएर बेपत्ता पारेको बताउनु भएको छ । साथै उहाँले करोडौंको क्षति भएको दुखःद घटना संझंदै त्यसबाट पीडित भएर चीनतर्फ अलपत्र परेका नेपालीहरुको तत्काल उद्धार गरी सुरक्षित बसोबासको ब्यवस्था मिलाएको, कैलाश मानसरोवर दर्शनमा गएर अलपत्र परेका नेपाली र विदेशी नागरिकलाई तातोपानी झाङ्मु नाकाबाट नेपाल फिर्ता पठाएको जानकारी पनि दिनु भयो ।

उक्त अवसरमा महानिर्देशक सिहोङले सिजाङको अध्यागमन कार्यालय र महावाणिज्यदूतावास बीचको समन्वयमा वर्षौदेखि विभिन्न कार्यहरु भइरहेको स्मरण गर्नु भयो । उहाँले आगामी दिनमा यसलाई थप बलियो बनाउने जानकारी पनि दिनु भएको छ । हालसम्म महावाणिज्यदूतावासका तर्फबाट भएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै मितेरी पुलको निर्माण कार्य जतिसक्दो चाँडो सम्पन्न गर्न चीन सरकारको तर्फबाट हरसम्भव प्रयास गरिने प्रतिवद्धता जनाएको छ ।

नेपालका महावाणिज्यदूत निरौला र महानिर्देशक सिहोङले आगामी दिनमा यस प्रकारका भेटहरु निरन्तर जारी राख्ने बताउँदै सीमा नाका व्यवस्थापन, एक आपसका सुरक्षा चासो, भन्सार र अध्यागमनका साझा चुनौतिहरुको दुई पक्षको संयुक्त र समन्वयात्मक प्रयासमा सामना गर्ने प्रतिबद्धतासमेत ब्यक्त गर्नु भएको छ ।