Advertisement GIF
रसुवा भोटेकोशी बाढी :चीनमा फसेका २०३ नेपाली साउन ७ मा नेपाल ल्याइँदै

गत असार २४ गते नेपाल चीन सीमाको ल्हेन्दे र केरुङ खोलामा आएको बाढीमा चीनतर्फ फसेका नेपालीलाई स्वदेश ल्याइँदैछ ।

चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित नेपाली दूतावासले त्यहाँ फसेका नेपालीको उद्धार गर्दै नेपाल ल्याउन लागेको हो । बाढीले चीन र नेपाल जोड्ने मितेरी पुल बगाएपछि चीनतर्फ केरुङमा अलपत्र परेका २ सय ३ जना नेपालीलाई चीन सरकारका तर्फबाट सुरक्षित रुपमा बसोबास र खानपान मिलाइरहेको ल्हासास्थित महावाण्ज्यिदूत लक्ष्मीप्रसाद निरौलाले जानकारी दिनु भयो ।

यसरी चीनमा फसेका नेपाली यही साउन ७ गते ततोपानी नाकाहुँदै नेपाल आउँदैछन् । ‘बाढीका कारण चीनतर्फ फसेका नेपालीमध्ये अधिकांससित नेपाल आउने भाडा र खाना खर्चसमेत थिएन ।’– महावाणिज्यदूत निरौलाले भन्नु भयो । उहाँका अनुसार बाढीका कारण चीनतर्फ रोकिएका नेपालीलाई चीनको सिजाङ स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयसँगको निरन्तर समन्वय र चीन सरकारका विविध निकायसमेतको संलग्नतामा उनीहरुलाई चीन सरकारका तर्फबाट तातोपानी सीमा नाकासम्म पु¥याइने र त्यहाँबाट नेपालीपक्षले नेपाली नागरिकलाई सुरक्षित तबरले नेपाल लगिने भएको छ ।

तिब्बतस्थित महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला

महावाणिज्यदूत निरौलाले बाढी पीडित नेपाली नागरिकहलाई तत्काल उद्धार गरी सुरक्षित बसोबासको व्यवस्थामिलाउनुका साथै सीमा नाकासम्म लैजाने व्यवस्था मिलाएकोमा चीन सरकारलाई तथा निरन्तरको पहल र प्रयासका लागि नेपाली महावाणिज्यदूतावासलाई निर्देशन र सहजीकरण गर्ने नेपाली अधिकारीहरुलाई धन्यवादसमेत दिनु भएको छ ।