–सचिन तिमल्सिना
आम मानिसले कांग्रेसलाई गाली गर्न जति धेरै यो वाक्य प्रयोग गर्छन्, त्यत्तिकै मात्रामा कांग्रेसका नेता तथा कार्यकर्ताहरूले पनि यो वाक्य प्रयोग गर्छन्। भाषणमा उच्चारण गर्न यो वाक्य निकै सहज छ। तर यो लघुताभासले भरिएको वाक्य हो। त्यो वाक्य बोल्दा ताली पनि पाइन्छ, र आत्मालोचना जस्तो पनि सुनिन्छ।
बीपीको बाटो छोड्ने विषय आर्थिक उदारीकरणबाटै सुरु हुन्छ। विशेषगरी महेश आचार्य र रामशरण महत अर्थमन्त्री भएका बेला आर्थिक उदारीकरणको नीति अवलम्बन गरे। धेरैले यसलाई बीपीको एन्टीथेसिसजसरी प्रचार गरे। आर्थिक उदारीकरणलाई एन्टिथेसिस प्रयोग गर्नेमध्ये एक जना स्वर्गीय प्रदीप गिरी पनि हुनुहुन्थ्यो। उहाँले संसदबाटै भन्नु भयो कि- ‘धान र गहुँ छुट्याउन नसक्नेले आर्थिक नीति बनाएका छन्।’ त्यो प्रहार कांग्रेसको आर्थिक उदारीकरणको नीति र त्यो नीति अवलम्बन गर्ने/गराउने पछाडिका पात्रमाथि थियो।
तर सोचौँ त, बीपी अहिलेको युगमा हुनुहुन्थ्यो भने कस्तो नीति लिनुहुन्थ्यो होला! प्रविधिले यसरी फड्को मारेको देख्नु भएको भए, धनको स्रोत जमिन मात्र नभई स्टकदेखि क्रिप्टोसम्म फैलिएको देख्नु भएको भए, पुँजीवादले संसारमा (केही समस्यासहित) अभूतपूर्व समृद्धि ल्याएको देख्नु भएको भए उहाँले कस्तो नीति अवलम्बन गर्नुपर्ला भन्नुहुन्थ्यो होला? उहाँ अझै पनि उहाँले उतिबेला भनेको समाजवादकै पक्षमा हुनुहुन्थ्यो त? गरीबी बाँडेर समाजवाद आउँदैन भन्ने बीपी पक्कै यो असफल व्यवस्थाको वकालत गर्ने हुने थिएन हो।
कांग्रेसमाथि अर्को आरोप छ- बीपीको लाइन छोडेर प्रचण्डीकरण भयो। कांग्रेसले संसदीय व्यवस्था, बहुदलीय व्यवस्था, बहुलवाद, धार्मिक स्वतन्त्रतामा सम्झौता गरेको भए यो आरोप पुष्टि हुन पनि सक्थ्यो। तर उल्टै, माओवादीजस्तो मध्ययुगीन सोच राख्ने, जंगलमा बम पड्काउँदै हिँड्ने जत्था अहिले चुनाव लड्ने राजनीतिक दल बनेको छ। समावेशिता सधैँ कांग्रेसको मुद्दा थियो नै ०१५ सालको मन्त्रीमण्डल। भनेपछि कहाँ छोड्यो बीपीको लाइन?
बीपी नास्तिक थिए। भगवान भए मभन्दा जरुरतमन्दलाई पहिले हेरुन भन्थे। राज्यको एकल धर्म हुनुहुन्न भन्थे। राजसंस्थाको विषयमा त्यति धेरै पटक धोका खाएको भए बीपीजस्तो नेताले सजिलै बुझ्नुहुन्थ्यो कि नेपालमा राजा र प्रजातन्त्रसँगै जान सक्दैनन्।
कांग्रेसले बिर्सेको बीपीको राजनीतिक बाटो होइन, बीपीको शासन क्षमता बिर्सेका छन्। बीपीको इमानदारी, पारदर्शिता र हुटहुटी बिर्सेका छन्। सपना लिएर राजनीति होइन, टिक्नको लागि राजनीतिमा छन्।
समय फेरिएसँगै मानिसको बुझाइ पनि परिवर्तन हुन्छ। मानव इतिहासले यति धेरै परिवर्तन यति छोटो समयमा कहिले देखेको थिएन। कांग्रेसीहरूले बीपीको बाटो छोड्यौं भनेर हीनताबोध गर्नु पर्ने कारण छैन। सम्झिनु पर्ने उनको जनउत्तरदायित्व हो, जनताप्रतिको समर्पण हो।
महामानवलाई स्मृति दिवसको दिन मिठो सम्झना।