Advertisement GIF
कल्पवृक्ष
श्रावण ९ शुक्रबार, ९:०५ अपराह्न
मधेशमा ५ सय डिप बोरिङ जडान गर्ने प्रधानमन्त्री ओलीको घोषणा

मधेशका विभिन्न जिल्लामा फैलिएको सुख्खा र पानी अभावलाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका छन्। शुक्रबार महोत्तरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कृषि उत्पादनमा सुधार ल्याउन र सिंचाइ सुविधा विस्तार गर्न सरकारले विशेष योजना अघि सारेको बताएका हुन्।

‘अहिले तत्काल केही डिप बोरिङहरू जडान हुन्छ। तत्कालका लागि ५ सय जति डिपबोरिङ गर्नेछौँ। एउटाले लगभग ६० बिघा जमिन सिंचाइ गर्न सकिन्छ,’ उनले भने। प्रधानमन्त्रीका अनुसार यो योजनाअन्तर्गत सुख्खाग्रस्त घोषणा भएका ८ वटै जिल्लालाई ध्यानमा राखेर गरिने छ।

‘मधेश सुख्खाग्रस्त छ। पानीको अभावको कारणले सुख्खाग्रस्त भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरेका छौँ। संकटग्रस्त क्षेत्र घोषणा गर्ने मात्रै होइन, यस क्षेत्रमा दीर्घकालीन र तत्कालीन दुई उपायहरूबाट काम गर्नेछौं,’ उनले भने। त्यसैगरी, चुरेमा पानीका तालतलैया बनाउने, पानी जम्मा गर्ने कार्यमा समेत सरकार लागेको प्रधानमन्त्री ओलीले बताए।

‘चुरेमा पानीका तालतलैया बनाउने, पानी जम्मा गर्ने, जसबाट जमिनको सतहको पानी तल जान नदिने गरी अनुकूल वातावरणतर्फ फर्काउने काम गर्दछौँ। तत्कालका लागि अरु विभिन्न काम अघि बढाउनेछौं। अहिलेको सरकारको तर्फबाट यस काममा मद्दत गर्न सरकारका सबै निकायहरूलाई आग्रह गर्दछु। गैरसरकारी संघसंस्था सबैलाई साथ सहयोग गर्न आग्रह गर्दछु,’ उनले भने।

ओलीको यस घोषणाले कृषि क्षेत्रमा नयाँ आशा जगाएको छ। असार २६ गते मधेश प्रदेश सरकारले मधेशका आठ जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो भने श्रावण ७ गते बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले पनि मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा पानीको अभावका कारण समयमै रोपाइँ हुन सकेका छैनन् भने रोपाइँ गरी सकेका खेतहरू पनि धाँजा फाट्ने, धानका बीउ सुक्ने जस्ता समस्या किसानहरूले झेली रहेका छन्।