अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्षमा ३७ हजार २६ उजुरी परेका थिए । तीमध्ये २९ हजार ७ सय ३ वटा फस्र्यौट भएका र अब ७ हजार ३ सय २३ फस्र्यौट हुन बाँकी छन् । यी उजुरीको कूल संख्यामा आर्थिक वर्ष २०८०/ ०८१ बाट सरेर आएका ८ हजार ४ सय २९ रहेका थिए ।
आयोगले प्रमुख आयुक्त प्रेमकुमार राईको अध्यक्षतामा बैठक बस्दै प्राप्त उजरी र फस्यौट भएका मुद्धाका विषयमा छलफल गर्दै समीक्षा गरेको छ । समीक्षामा समग्र अख्तियारमा परेका उजुरी र फस्र्यौटका विषयमा छलफल भएको थियो । आयोगका अनुसार उजुरीहरुमध्ये संघीय सरकारसँग सम्बन्धित १२ हजार ४ सय ७५, प्रदेश सरकारसँग सम्बन्धित ४ हजार ६ सय १८ र स्थानीय तहसँग सम्बन्धित १९ हजार ९ सय ३३ वटा रहेका थिए ।
वेबसाइटबाट १० हजार २ सय ४५, लिखित निवेदनबाट १० हजार १ सय ८०, इमेलबाट ८ हजार ४ सय ८८, हुलाकबाट ५ हजार ५ सय ५५ तथा अन्य माध्यम टेलिफोन, भाइबर, फेसबुक, मोबाइल एप, समाचार पत्र, राष्ट्रिय सतर्कता केन्द्र र हेलो सरकारसमेतबाट २ हजार ५ सय ५८ उजुरी परेको आयोगले जनाएको छ ।
आयोगले विशेष अदालतमा १ सय ३७ वटा मुद्धा दायर गरेको थियो । जसमा ७ सय ५३ जना प्रतिवादी थिए । उनीहरुबाट ५ अर्ब ९७ करोड ७३ लाख ८ हजार ८ सय ३८ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्