हिन्दुहरुका आराध्य देव पशुपतिनाथ मन्दिर परिसरमै रहेको पशुपति आर्यघाटमा जल्दै गरेको शवको मासु र हड्डी बिक्री प्रकरणले धार्मिक आस्था राख्ने मानिसहरुमा एक किसिमको कौतुहल मच्चिएको छ । ‘लास पोल्ने घाटे ब्राम्हणले नै जल्दै गरेको लाशबाट मासु र हाड बिक्री गर्ने कुन धर्म र संस्कारमा उल्लेख छ ?’ अहिले यो प्रश्न धेरैको दिमागमा उठिरहेको छ ।
गत शुक्रबार काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा ९ का राम शाहीको शव जलाउँदा जलाउँदैको शवबाट मासुको टुक्रा र खरानी बिक्री भएको थियो । लाश जलाउँदै गरेका घाटे ब्राम्हण गणेश ढकाल र उनका सहयोगी उदयपुरका विनायक मैनालीले त्यो शवको मासु र हाड झिकेर बिक्री गरेका थिए । लाशबाट मासु र हाड निकालेको थाहा पाएपछि मलामीले यो विषय उठाएर प्रहरीलाई फोन गरे । प्रहरीले घाटे ब्राम्हणलाई नियन्त्रणमा लियो । झिकिएको मासु लिएर जाने मैनाली पनि पक्राउ परे । अहिले उनीहरु प्रहरी हिरासत गौशाला वृत्तमा छन् । अदालतबाट म्याद थप भएर अनुसन्धान भइरहेको छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले आफू नै गौशाला पुगेर ढकाल र मैनालीको वयान लिइसकेका छन् । ढकाल र मैनालीले कसैले पूजा गर्न भन्दै मासु र हाड मागेपछि चार सय रुपैयाँ हातमा थमाएर गएको वयान दिएको प्रहरीको भनाइ छ ।
यो घटनालाई सुक्ष्म रुपमा अध्ययन गरिरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्