साहित्यकार सीमा आभासको पहिलो उपन्यास ‘महायुग’ सार्वजनिकभएको छ । स्त्रीको सीमातीत शारीरिक शक्ति र आत्मालाई चिनेपछिमात्र सारा मानव संसार र सृष्टि उज्यालो हुने सन्देश बोकेको उपन्यासमा एक नारीको आत्मजागृतिको कथालाई एक पिँढीदेखि अर्को पिँढीसम्मका चार पुस्तामा चित्राङ्कन गरिएको छ ।

विगतका भूकम्प, भारतीयनाकाबन्दी र कोरोनाकालमा नेपाली साहित्य क्षेत्रलाई चलायमान बनाउन आफूले खेलेको भूमिका स्मरण गर्दै देशको आजको विषम परिस्थितिमा पनि पुस्तक सार्वजनिक गरेको प्रेस विज्ञप्तिमार्फत बुकहिलले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘एक जिम्मेवार प्रकाशन संस्था भएकाले अहिलेको जेन–जी पुस्ताले समेत नेपाली साहित्य पढून् भन्ने उद्देश्यले समेत यो उपन्यास सार्वजनिक गरिएको हो । पुस्तक अवश्य पनि पाठक प्रिय बन्नेछ ।’
पुस्तक बारे लेखक सीमा आभास भन्नु हुन्छ, ‘हाम्रो समाजले आफू अनुकूलको बन्धनभित्र स्त्रीलाई राख्ने गरेको छ तर स्त्रीभित्र जुन दबिएको स्त्री–शक्ति छ, त्यसलाई जागृत गराई बाँच्न चाहेको परिकल्पनामा मैले उपन्यास लेखेकी हुँ । स्त्रीको चेतनाअनुरुप नै यस उपन्यासमा एक महायुगको निर्माण गरेकी छु ।’
कथा र कवितामा कलम चलाइ रहनु भएकी विद्रोही चेतलाई आफ्नो लेखनमा मुखरित गर्ने सीमा आभासको यस उपन्यासमा युगीन नारी हुँकारलाई प्रस्तुत गरिएको छ । ३६० पृष्ठको पुस्तकको बजार मूल्य ६९९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्