-सुरेन्द्र सुवेदी
नेपालका रक्षा र सुरक्षा क्षेत्रमा लामो सय सेवा गरिसकेका सेना, प्रहरी, राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरी अर्थात चारवटै सुरक्षा निकायका वरिष्ठ अधिकृतहरु अवकासपछि समाजमा फरक÷फरक छवि र व्यवहारसमेतमा भेटिने गरेको पाइन्छ ।
सेनादेखि प्रहरीसम्मका वरिष्ठ अधिकारीले सेवाको समयमा राजनीतिक द्वन्द्व, आपतकालीन अवस्था र सार्वजनिक सुरक्षा सम्हालेका राम्रा र नराम्रा धेरै अनुभव संगालिसकेका हुन्छन् । नेपालका केही पूर्व प्रधानसेनापति, रथी, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका आइजीपी, एआइजी, डिआइजीजस्ता अधिकारी समाजमा सार्वजनिक कार्यक्रम, छलफल र सामाजिक काममा सहभागी भइरहेका पनि देखिन्छन् । उदाहरणका लागि केही व्यक्ति अवकासपछि पनि जनस्वास्थ्य, शिक्षा र समाजिक क्षेत्रका विविध पाटाका कार्यक्रमहरुमा सहभागी रहँदै आएका छन् । केही भने राजनीतिमा पनि संलग्न भएको देखिन्छ । तर, अधिकांश भने सिर्जनात्मक काममा सकृय रहनुको बदलामा निस्कृय भएर बाँकी आयुको लेखाजोखा गरिरहेका छन् ।

लेखक- सुरेन्द्र सुवेदी
यसरी केही निवृत्त जिवन सकृय नै बनाइरहेका छन् भने केहीको दैनिकी जुवा, तास, रक्सीजस्ता लतमा फसेको पनि देखिन्छ । समाजमा केही अवकासप्राप्त अधिकारीहरु पावर र प्रतिष्ठा गुमेपछि आर्थिक र सामाजिक दबाब झेल्ने, काम गर्ने अवसर खोज्न संघर्ष गरिरहेका भेटिन्छन् । केही भने पहिलेको साखका कारण नाममात्र बिकाएर पनि सेक्युरिटी कम्पनी, सुरक्षा सल्लाहकारजस्ता पदमा बसेको देखिन्छ । धेरैभन्दा धेरै भने मनोरञ्जनका नाममा जुवा, रक्सी र अव्यवस्थित जीवनशैलीमा लाग्ने गरेको पाइन्छ । यो हाम्रो समाजमा देखिएका र भोगिएका वास्ताविकता नै हुन् । र, यस्तै विषयलाई चिया पसलदेखि भट्टिपसलसम्म धारणा बनाएर चर्चा पनि गरिन्छ ।
यी धारणा सामाजिक सञ्जाल र स्थानीय बोलचालमा पनि सुनिन्छन् । तर यस्ता व्यक्तिगत व्यवहारको व्यापक तथ्याङ्क वा आधिकारिक अध्ययन गरिएको छैन । र, यस्ता विषयमा अध्ययन गर्ने चलन पनि छैन । सबै अवकासप्राप्त उच्च अधिकृत समाजले नराम्रो मानेको काम र पेशामा संलग्न हुँदैनन् । केही जोडिएका हुन्छन् र तिनीहरु नै आलोचनाका पात्र बनिरहेका छन् । यी र यस्ता धारणाहरु व्यक्तिगत अनुभव र बजारका चर्चासित जोडिएको पाइन्छ । यी विषयहरु व्यक्तिगत उन्नति, असफलता र सामाजिक समायोजनका कथाहरुसित मिसिएका हुन्छन् ।
नेपालमा सेना, प्रहरी र सशस्त्र प्रहरीले राष्ट्रसेवककै रुपमा सेवानिवृत्ति पाउने व्यवस्था छ । जुन उच्च तहमा बसेर लिएको सेवा तथा सुविधासित तालमेलजन्य हुन्न । अर्थात गाडीघोडा, आवास, आसपासमा दर्जनको संख्यामा सहयोगी, ईच्छाएको स्थानको भ्रमण, खानपिन पेन्सनको पैसाले पुग्दैन नै । अवकासपछि आर्थिक सुरक्षा र रोजगारीको सुनिश्चितता केही चुनौतीपूर्ण हुन्छ नै । जसबाट आर्थिक जोहो गर्नु पर्ने वाध्यता त हुन्छ, अर्कोतर्फ हिजोको सान र मान खस्किएको अवस्थामा एक्लोपनको महसुस गर्दै भौंतारिने अवस्था पनि आएको देख्न सकिन्छ ।
अनि, केही उच्च पूर्व अधिकारीहरु भने आत्मग्लानीले पिसिएका हुन्छन् । कसैले कुनै सहयोगका लागि वा सुखदुःख साटासाट गर्नलाई सम्पर्क गर्दा रेस्पोन्स नदिने, बैठकमा रहेको भन्दै पन्सिने, पावरको आडमा भूँई न भाँडाको हुने अहम् पन पनि देखाएकै हुन्छन् ।
पूर्व उच्च अधिकारीहरु जो जो व्यक्ति सित निकट भए, ती अधिकारीहरु अवकासपछि आफूले सहयोग गरेको व्यक्ति टाढाटाढा हुने मानिसको स्वभाव नै हो । अनि, आफूले रेस्पोन्स नगरेकाहरु त नजिक आउने कुरै भएन । अनि उनीहरुको विगतको अहमले एक्लो हुनु सामान्य नै हो । यसरी काँधमा लगाएको फुलीको भरमा देखाएको घमण्ड सेवा निवृत्त भएको दोस्रो दिनदेखि नै सतहमा आउने गर्छ ।
घरमा बस्दा श्रीमति वा श्रीमानसित २÷४ दिन त रमाइलो नै होला । तर, त्यसपछि भने समय बिताउने उपाय खोज्दै हिड्नु र विगतमा आफ्नाहरुलाई गरेको तिरस्कार स्मरण गर्दै भौतारिने समय सुरु हुने एक पूर्व प्रहरी अधिकारीको अनुभव छ । ‘हिलो फुलीको आडमा कसैलाई गनिएन, अहिले अवकासपछि साथीभाइहरु कोही पनि नजिक नआउँदा ठूलो छटपटी भएको देख्न पाइएको र आफ्नै व्यवहारबाट आत्मग्लानी भएको देखिँएको छ ।’– सेवानिवृत्त एक उच्च अधिकारीले भने, ‘केही त डिप्रेसनतर्फ गएको पनि देखियो ।’
अरु केही नपाए वा गर्न नसकेमा बरु क्यासिनोमा सुरक्षा गाडर्कको जागिर खाएर भए पनि निवृत्त जिवन बिताउनु ठीक हो । तर, जुवा, तास, रक्सी अनि तरुनीका लागि घरबाट १० बजे निस्किएर ५ बजेपछि पुनः घर आउने ड्युटी भने नबनाउनु हुन सुझाव छ । अनि अहिले बहालमा रहेकाहरुलाई एक दिन अवकासमा जाने र त्यसपछिको जीवनको लागि पनि अहिले नै सोच्नलाई आग्रह गर्न भने सकिन्छ । बाँकी फुलीवालाकै मर्जी ।