स्वदेशीय सनातन प्रज्ञाबाट नै सबै समुदायको मुक्ति संभव छ, भन्ने दृष्टिकोणसहित सबै विचार र समूहमा आवद्ध नागरिकलाई एकै धारमा जोड्ने उदेश्यले स्वदेशवादी अभियानको अवधारणा सार्वजनिक गरिएको छ । नेपाल राष्ट्रिय राजनीतिक गुरुकुलको आयोजनामा राजधानीमा हालै ‘स्वदेशवादी अभियान’ घोषणा गरिएको हो । तीन कन्याले तीन वटा दीप प्रज्वलवन गरेर बौद्ध समाज, वैदिक समाज र रैथाने मुन्धुमी समाजका गुरुहरुद्वारा मन्त्रोचारण गर्दै आर्कषण तरिकाले राजधानीको बालुवाटारबाट स्वदेशवादी अभियान कार्यक्रमको समुदघाटन भएको हो ।

बालुवाटारमा हजारौं जनाको उपस्थितिमा घोषणा गरिएको यो अभियान घोषणासभाको सभापतित्व नेपाल राष्ट्रिय राजनीतिक गुरुकुलका प्रमुख आचार्य डा वाशुदेवकृष्ण शास्त्रीले गर्नु भयो भने नेपाल राष्ट्रिय राजनीतिक गुरुकुलका राष्ट्रिय संयोजक सौरभ र स्वेशवादी अभियानका संयोजक सूर्य माखिमले अभियानबारे प्रष्ट पार्नु भयो ।
उहाँहरुले अभियानको आवश्यकता र यसले देशमा रहेका सबै नागरिकलाई जोडेर स्वदेशीय सनातन वैदिक समाज, बौद समाज र रैथाने मुन्धुमी समाजलाई योग गरेर पहिचानलाई जोगाउँदै अघिबढ्ने उद्घोष गर्नु भयो । कार्यक्रमको स्वागत नवयुवा पुस्ता तथा महिलाको तर्फबाट अस्मिता राईले गर्नु भएको थियो भने कार्यक्रमको औचित्यमाथि कार्यक्रमका सभापति प्रमुख आचार्य डा वाशुदेवकृष्ण शास्त्रीले प्रष्ट पार्नु भयो ।
अभियानको अवधारणापत्र संयोजक सूर्य माखिमले प्रस्तुत गर्नु भएको थियो । अवधारणाको औचित्यमाथि विश्लेषक तथा नेपाल राष्ट्रिय राजनीतिक गुरुकुलका राष्ट्रिय संयोजक सौरभले विचार राख्दै स्वदेशवादी अभियानले मात्र नेपाल र नेपालीको मुक्तीको लागि स्वदेशीय प्रज्ञाको जगमा नेपाललाई ल्याउन सक्ने बताउनु भयो ।
सहभागीबाट आएका प्रश्नहरुको डा वाशुदेवकृष्ण शास्त्री र सूर्य माखिमले उत्तर दिनु भयो । ‘रातो र चन्द्र सूर्य’ बोलको गीतबाट सुरु भएको कार्यक्रम करिव ३ घण्टा चलेको थियो ।
यो अभियानको अवधारणालाई देशभर पुर्याउने उदेश्य लिएर देशभर भेला, गोष्ठी तथा अन्तरकृयाहरु सञ्चालन गर्ने तयारी रहेको छ । यसका लागि बिदेशी आयातित ज्ञान सत्ताले देशमा भित्र्याएको बिखण्डन तथा नेपाली नेपालीबीचको वैरभावलाई न्यूनिकरण गर्न आफ्नै रैथाने संस्कार, चलन र धर्महरुको संरक्षणमा अभियान सकृय रहने आचार्य डा शास्त्रीको भनाइ छ ।
अभियानले माघबाटै देशका विभिन्न जिल्लाहरुमा स्वदेशीय संवादमार्फत सबैसँग भेटघाट गर्दै संगठन निर्माण र परिचालन तीव्र पार्ने स्वदेशवादी अभियानका अभियान्ता वीर बिक्रमले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्