सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित सीमा क्षेत्रको स्थलगत अनुगमन गर्दै सीमा नाकामा हुनसक्ने जुनसुकै अवैध गतिविधि, चोरी- निकासी तथा राजस्व चुहावट नियन्त्रणमा कडा रूपमा प्रस्तुत हुन मातहतका निकायलाई कडा निर्देशन दिनुभएको छ।
यही साउन १० गते पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीका सीमा क्षेत्रको अनुगमनका क्रममा महानिरीक्षक पौडेलले सो क्षेत्रमा खटिएका बाहिनी, गण, गुल्म, बोर्डर आउट पोस्ट तथा सुरक्षा पोस्टका सुरक्षाकर्मीहरूलाई सम्बोधन गर्दै उक्त निर्देशन दिनुभएको हो।
अनुगमनका क्रममा महानिरीक्षक पौडेलले सीमा क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलाप रोक्न समयमै ठोस योजना बनाएर प्रभावकारी रूपमा परिचालन हुन जोड दिनुभयो। कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरूले परम्परागत सोचभन्दा माथि उठेर नतिजामुखी काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो,– ‘असल मनसायका साथ गरिएको कामकारबाहीमा हुन गएको कमीकमजोरीको जिम्मा संगठनले लिनेछ।’
महानिरीक्षक पौडेलले सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीय नागरिकहरूसँग सुमधुर सम्बन्ध कायम राख्न, सर्वसाधारणको आवतजावतमा सहजता ल्याउन र ‘सीमा क्षेत्रमा सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ लाई प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिनुभयो।
यसैगरी, सीमा नाकाबाट हुने लागूऔषध ओसारपसार, चोरीपैठारी तथा अवाञ्छित गतिविधि नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्न आग्रह गर्दै उहाँले कुनै पनि किसिमको आर्थिक प्रलोभनमा नपरी निर्मम ढङ्गले दायित्व पूरा गर्न निर्देशन दिनुभयो।
मनसुनको जोखिमलाई ध्यानमा राख्दै बाढी, पहिरो र डुबान जस्ता सम्भावित विपद्का घटनामा तत्काल परिचालन हुनसक्ने गरी विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्तिलाई आवश्यक उद्धार सामग्रीसहित चौबीसै घण्टा तयारी अवस्थामा राख्नसमेत महानिरीक्षक पौडेलले निर्देशन दिनुभएको छ।
प्रतिक्रिया दिनुहोस्