Advertisement GIF
चुलोचौकोबाट सडकसम्म: जब महिलाहरूले सम्हाले इनड्राइभको स्टेयरिङ

केही महिना अघिसम्म उनीहरूको दैनिकी चुलोचौको र घरधन्दाकै परिपरि घुमिरहेको थियो। गाडी वा स्कुटरको स्टेयरिङ समातेर सडकमा निस्कने आँट त परको कुरा, आत्मनिर्भर बन्ने सपना पनि धमिलो जस्तै लाग्थ्यो। तर, इच्छाशक्ति र सही अवसर जुर्‍यो भने जीवनको मोड कसरी फेरिन्छ भन्ने उदाहरण बनेका छन् काठमाडौंका १० जना महिलाहरू।

प्रसङ्ग हो— राइड–हेलिङ प्लेटफर्म इनड्राइभले सञ्चालन गरेको ‘ड्राइभिङ नारी’ परियोजनाको।

तीन महिनाअघि जब यो तालिम सुरु भयो, सहभागीहरूका मनमा अनेकन धुकचुकी र त्रास थिए। तर, दिन बित्दै जाँदा उनीहरूले केवल सवारी चलाउन मात्र सिकेनन्, आफ्नो आत्मविश्वासलाई पनि सडकजस्तै फराकिलो बनाए। सोमबार आयोजित एक समारोहका बिच तिनै १० जना महिलाहरूले तालिम सफलताका साथ पूरा गरेको प्रमाणपत्र हात पार्दा उनीहरूका आँखामा खुसी र मुहारमा आत्मनिर्भरताको बेग्लै चमक देखिन्थ्यो।

समारोहमा सहभागीहरूलाई प्रमाणपत्रसँगै टोकन अफ लभ र सरप्राइज उपहार प्रदान गरिएको थियो। खुसीको सीमा त्यतिमै रोकिएन, कार्यक्रमको लक्की ड्रमार्फत प्रशिक्षार्थी सरिता लुइटेलले एउटा ब्राण्ड न्यू इलेक्ट्रिक स्कुटर उपहार पाइन भने अन्य सहभागीहरूले पनि स्मार्टफोन र स्मार्टवाच प्राप्त गरे।

तीन महिने अवधिमा उनीहरूलाई गाडी वा स्कुटर हाँक्न मात्र सिकाइएको थिएन। सडकमा आइपर्ने हरेक चुनौतीसँग जुध्न सक्ने बनाउन वित्तीय साक्षरता, डिजिटल वालेटको प्रयोग, मोबाइल एप सञ्चालन, र अनलाइन फिसिङ स्क्यामबाट जोगिने उपायहरूबारे व्यावहारिक ज्ञान दिइएको थियो। यति मात्र होइन, सडक सुरक्षा, मानसिक स्वास्थ्य र आत्मरक्षा (सेल्फ डिफेन्स) का महत्त्वपूर्ण सीपले उनीहरूलाई पूर्ण रूपमा सशक्त बनाएको छ।

तालिमकी सहभागी सरस्वती महर्जन आफ्ना विगतका दिन सम्झिँदै भन्छिन्, “हामी पहिले पूर्ण रूपमा गृहिणी थियौँ, गाडी चलाउन आउँदैनथ्यो। तर आज तीन महिनाको यो यात्रापछि हामीभित्र अचम्मको हिम्मत पलाएको छ। अब हामी आफ्नै गोडामा उभिन सक्छौँ भन्ने पूर्ण विश्वास छ।”

नेपालको यातायात क्षेत्रमा महिलाको उपस्थिति हाल करिब ३.५ प्रतिशत मात्रै सीमित छ। यही तथ्याङ्कलाई बदलेर सडकमा महिलाको उपस्थिति बाक्लो बनाउने उद्देश्यले यो अभियान सुरु गरिएको इनड्राइभकी प्रतिनिधि मञ्जिता गुरुङले बताइन्।

त्यस्तै, इनड्राइभकी अर्की प्रतिनिधि सुनिता जिमी राईले यो त केवल सुरुआत मात्र भएको र यसै वर्षभित्र १०० भन्दा बढी महिलालाई तालिम दिएर स्वरोजगार र आत्मनिर्भर बनाउने महत्त्वाकांक्षी लक्ष्य रहेको जानकारी दिइन्।

कार्यक्रमकी मुख्य आकर्षण एवं ब्रान्ड एम्बेसेडर, अभिनेत्री स्वस्तिमा खड्काले महिलाका लागि ‘स्वतन्त्र आवतजावत’ (मोबिलिटी इन्डिपेन्डेन्स) जीवनको ठूलो शक्ति भएको बताइन्। ड्राइभिङ सीपले महिलाहरूलाई राइड–सेयरिङमार्फत आम्दानीका नयाँ बाटोहरू खोल्ने र परिवारको आर्थिक आधार स्तम्भ बन्न मद्दत पुर्‍याउने उनको भनाइ थियो।

सो अवसरमा ट्राफिक प्रहरी प्रधान कार्यालयका डीएसपी सुनिलजंग शाहले सडक सुरक्षाका नियम र अनुशासन पालना गर्दै जिम्मेवार चालक बन्न सहभागीहरूलाई शुभकामना दिए।

चुलोचौकोको चौघेरा नाघेर सडकमा आफ्नो यात्रा तय गर्न तयार भएका यी ‘ड्राइभिङ नारी’हरू अहिले नेपाली समाजका लागि प्रेरणाका नयाँ किरण बनेका छन्।